१५ चैत(२०८२), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई गैरकानुनी रूपमा गरिएको पक्राउको विरोध र तत्काल रिहाइको माग गर्दै नेकपा (एमाले)ले आज देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
काठमाडौंमा माइतीघरबाट नेताकार्यकर्ताहरूको जुलुस जिल्ला प्रशासन कार्यालय, बबरमहल गएर प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई ज्ञापन पत्र बुझाएको छ । नेकपा (एमाले) काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौलाले ज्ञापनपत्र बुझाउनुभएको हो ।
झापा
यसैगरी झापामा चन्द्रगढीबाट जुलुससहित नेता कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका छन् ।
पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई विरोध पत्र बुझाउँदै वर्तमान सरकारले पार्टी अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गरेको पक्राउलाई गैरकानुनी, पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताउनुभयो ।
मोरङमा पनि र्यालीसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।
नेकपा (एमाले) मोरङका अध्यक्ष सागर थापाले हस्ताक्षर गरेको ज्ञापन पत्रमा सरकारले पहिलो पाइलामा नै लोकतान्त्रिक शक्तिहरूप्रति प्रहार सुरु गरेको उल्लेख छ । ज्ञापन पत्रमा अध्यक्ष ओली लगायत पक्राउ परेका सबैलाई रिहाइ गर्न माग गरिएको छ ।
पाल्पा
यसैगरी पाल्पामा पनि जुलुससहित जिल्ला प्रशासन कार्यालय गएको टोलीले ज्ञापन पत्र बुझाएको छ । नेकपा (एमाले) जिल्ला अध्यक्ष ओमबहादुर घर्ती मगरले बुझाउनुभएको ज्ञापनपत्रमा अध्यक्ष ओलीको गिरफ्तारी कानुनी रूपबाट पुष्टि हुन नसक्ने भएकाले विनाशर्त रिहाइ हुनुपर्ने माग गरिएको छ । ज्ञापन पत्रमा गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर्न पनि माग गरिएको छ ।
मधेस प्रदेशको बारामा पार्टीका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेको नेतृत्वमा पार्टी कार्यालयबाट निस्किएको जुलुस जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएको ।
ज्ञापनपत्रमा अध्यक्ष ओलीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै उक्त कदम राजनीतिक प्रतिशोध भएको उल्लेख गरिएको छ ।
यस्तै सुर्खेतमा पनि विभिन्न प्ले कार्डसहितको विरोध र्याली निकालिएको छ । जुलुसले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै अध्यक्ष ओलीलाई रिहाइ गर्न माग गरेको छ ।
नेकपा (एमाले)ले सुर्खेतले पार्टी कार्यालय वीरेन्द्रनगर नगरपालिका–६ हटियालाइनबाट विरोध प्रदर्शन सुरु गरेर जिल्ला प्रशासनमा पुगेको थियो ।
पार्टीका जिल्ला, प्रदेश तथा केन्द्रीय तहका नेतासहितको उपस्थितिमा विरोध पत्र बुझाइएको एमाले सुर्खेत जिल्ला अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिनुभयो ।
यस्तै, एमाले जिल्ला अध्यक्ष देवकोटा र नेपाली कांग्रेस सुर्खेतका जिल्ला सभापति खड्गबहादुर पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष ओली र नेता लेखकको पक्राउप्रति आपत्ति जनाउनुभएको छ ।
बर्दियामा पार्टीका जिल्ला अध्यक्ष शालिकराम अधिकारीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा अध्यक्ष ओलीलाई विना कानुनी आधार पक्राउ गर्नु सिङ्गो कम्युनिष्ट आन्दोलनप्रति प्रहार भएको उल्लेख गरिएको छ ।
चितवनमा पनि विरोध र्यालीसहित गएको पार्टीका नेता कार्यकर्ताहरूको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष कमलराज पाठक सहितका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा सरकारले कार्की आयोगको प्रतिवेदन अध्ययन नै नगरी धरपकडतिर लाग्नु आपत्तिजनक रहेको उल्लेख गरिएको छ । अध्यक्ष ओलीको गैरकानुनी र प्रतिशोधपूर्ण रूपमा भएको पक्राउको विरोधमा शनिबारबाटै पार्टीका जनसंगठनहरूले राजधानी लगायत विभिन्न जिल्लामा प्रदर्शन शुरु गरेका थिए ।
रुपन्देही
यसैगरी, नेकपा (एमाले) रुपन्देहीले अध्यक्ष ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
पार्टीका नेता तथा कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउने क्रममा कार्यकर्ताहरूले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै गिरफ्तारीको कडा विरोध जनाएका थिए ।
पार्टीले उक्त गिरफ्तारीलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानूनी कदम भन्दै लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि आघात पुगेको ठहर गरेको छ । साथै, यस्तो कार्यले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने चेतावनीसमेत दिएको छ ।
कार्यक्रमका क्रममा बोल्ने नेताहरूले २०८२ भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । साथै, गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई पूर्वाग्रहपूर्ण भन्दै खारेज गर्नुपर्ने बताएका छन् ।
पार्टीका अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई तत्काल रिहा गर्न माग गर्दै माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ ।
भक्तपुर
दाङ
सर्लाही
धनुषा
मकवानपुर
सिन्धुपाल्चोक
सप्तरी
कास्की
मुगु