detail-img

केन्द्रीय सचिवालयको छैटौं बैठकः विरोध कार्यक्रमलाई निरन्तरता दिने निर्णय

-पार्टी र जनसंगठनहरूले सञ्चालन गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारका तर्फबाट अत्यधिक बल प्रयोग गरिएको र गैरकानुनी तथा प्रतिशोधपूर्ण धरपकडले सरकार राज्य आतङ्कतर्फ उन्मुख भएको सङ्केत गरेको ठहर गर्दै त्यसको निन्दा र भर्त्सना
-सरकारको कदमबाट संविधान, विधिको शासन, लोकतन्त्र, मानवअधिकार,  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि नै गम्भीर खतरा उत्पन्न भएको ठहर गर्दै सरकारद्वारा थालिएको राज्य आतङ्क र दमनका विरुद्ध एकताबद्ध प्रतिवादका लागि सबै राजनीतिक दल, संघ/संगठन तथा नागरिक समाजसँग हार्दिक अनुरोध 

१७ चैत (२०८२), काठमाडौं । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको पूर्वाग्रह तथा प्रतिशोधपूर्ण र गैरकानुनी गिरफ्तारीका विरुद्ध शुरु गरिएको कानुनी र राजनीतिक प्रतिवादलाई देशव्यापी रूपले निरन्तरता दिने निर्णय गरेको छ । 
पार्टीका उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा आज केन्द्रीय कार्यालय, च्यासलमा बसेको केन्द्रीय सचिवालयको छैटौं बैठकले कानुनी र राजनीतिक प्रतिवादलाई सबै क्षेत्रबाट निरन्तरता दिने निर्णय गरेको हो । 
सो अनुसार, पार्टीले यही चैत २५ गतेदेखि २०८३ बैशाख १२ गतेसम्मको कार्यक्रम निर्धारण गरेको छ । सचिवालयको आजको निर्णय अनुसार वडा, पालिका, जिल्ला र केन्द्रीय स्तरमा चरणबद्ध रूपमा विरोध कार्यक्रम हुने छन् । त्यसका लागि विभिन्न कार्यक्रम गर्न/गराउन पार्टीपङ्क्ति तथा जनसंगठनहरूलाई निर्देशन गरिएको छ । 
पार्टी र जनसंगठनहरूले सञ्चालन गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारका तर्फबाट अत्यधिक बल प्रयोग गरिएको र गैरकानुनी तथा प्रतिशोधपूर्ण धरपकडले सरकार राज्य आतङ्कतर्फ उन्मुख भएको सङ्केत गरेको ठहर गर्दै सचिवालय बैठकले त्यसको निन्दा र भर्त्सना गरेको महासचिव शंकर पोखरेलले बैठकपछि पत्रकारहरूलाई जानकारी गराउनुभयो । 
सरकारको कदमबाट संविधान, विधिको शासन, लोकतन्त्र, मानवअधिकार,  प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि नै गम्भीर खतरा उत्पन्न भएको ठहर गर्दै बैठकले सरकारद्वारा थालिएको राज्य आतङ्क र दमनका विरुद्ध एकताबद्ध प्रतिवादका लागि सबै राजनीतिक दल, संघ÷संगठन तथा नागरिक समाजसँग हार्दिक अनुरोध गरेको छ ।

बैठकपछि महासचिव पोखरेलले जारी गर्नुभएको प्रेस विज्ञप्ति यस प्रकार छः

 प्रेस विज्ञप्ति

नेकपा (एमाले) केन्द्रीय सचिवालयको छैटौं बैठक उपाध्यक्ष कमरेड रामबहादुर थापाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्यो । बैठकले,
१.    हाम्रो पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांगे्रसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई असंवैधानिक, गैरकानुनी तथा प्रतिशोध र पूर्वाग्रहपूर्ण ढङ्गले गरिएको गिरफ्तारीका विरुद्ध हाम्रो पार्टीले राजनीतिक तथा कानुनी प्रतिवाद गरिरहेको छ । यसैक्रममा पार्टी कमिटी तथा जनसंगठनहरूको नेतृत्वमा देशव्यापी विरोध प्रदर्शनका साथै सबै प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारलाई विरोध–पत्र बुझाउने कार्यक्रम सम्पन्न भएका छन् । विरोध प्रदर्शनमा सहभागी पार्टीका कमरेडहरू तथा जनसमुदायप्रति यो बैठक धन्यवाद ज्ञापन गर्दछ । 
२.    हाम्रो पार्टी र जनसंगठनहरूको आयोजनामा भएका शान्तिपूर्ण विरोध प्रदर्शनहरूमा सरकारका तर्फबाट अत्याधिक बल प्रयोग गरी परिस्थितिलाई उत्तेजित बनाउने कामप्रति यो बैठक गम्भीर आपत्ति प्रकट गर्दछ । यसक्रममा नेकपा (एमाले)को जिल्ला कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा कार्यालयभित्रै प्रवेश गरी नेकपा (एमाले)का नेता तथा कार्यकर्ताहरूमाथि प्रहरीद्वारा गरिएको निर्मम आक्रमण र काठमाडौंमा भएको लाठीचार्जको घटनाप्रति निन्दा तथा भत्र्सना गर्दछौं । सरकारी दमनबाट घाइते भएका सम्पूर्ण कमरेडहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 
३.    सरकार गठनलगत्तै थालिएका गैरकानुनी तथा प्रतिशोधपूर्ण धरपकडले सरकार राज्य आतङ्कतर्फ उन्मुख भएको सङ्केत गरेको छ । संविधान, विधिको शासन, लोकतन्त्र, मानवअधिकार, पे्रस तथा अभिव्यक्ति स्वतन्त्रता माथि नै गम्भीर खतरा उत्पन्न भएको देखिन्छ । यो बैठक सरकारद्वारा थालिएको राज्य आतङ्क र दमनका विरुद्ध एकताबद्ध प्रतिवादका लागि सबै राजनीतिक दल, संघ÷संगठन तथा नागरिक समाजसँग हार्दिक अनुरोध गर्दछ ।
४.    हाम्रो पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीमाथि गरिएको पूर्वाग्रह तथा प्रतिशोधपूर्ण र गैरकानुनी गिरफ्तारीका विरुद्ध पार्टी जनसंगठन, संसद तथा नागरिक क्षेत्रलगायत सम्भव सबै ठाउँबाट कानुनी र राजनीतिक प्रतिवादलाई देशव्यापी रूपले निरन्तरता दिने निर्णय बैठकले गरेको छ । यस सम्बन्धमा निम्नअनुसारको कार्यक्रम गर्न÷गराउन पार्टीपङ्क्ति तथा जनसंगठनहरूलाई निर्देशन गरिन्छ । 
(क)    यही चैत २५ गतेसम्म सबै जिल्ला कमिटीहरूको आयोजनामा जिल्लास्तरमा बृहत कार्यकर्ता भेला आयोजना गरी वर्तमान परिस्थिति र आन्दोलनको आवश्यकताबारे प्रशिक्षित गर्ने । 
(ख)    यही चैत २८ गते सम्पूर्ण पालिकास्तरमा विरोध प्रदर्शनको आयोजना गर्ने । 
(ग)    २०८३ वैशाख ३ गते सम्पूर्ण वडा तहमा वडाभेला र विरोध प्रदर्शन आयोजना गर्ने । 
(घ)    २०८३ वैशाख ७ गते प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा आयोजना गर्ने । 
(ङ)    २०८३ वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने । 
(च)    वर्तमान परिस्थितिका सम्बन्धमा नागरिक समाज तथा विभिन्न वर्ग र पेसासँग सम्बन्धित संघ÷संगठनहरूसँग जिल्ला तथा केन्द्रीयस्तरमा सम्वाद तथा अन्तर्क्रिया कार्यक्रम गर्ने । 
(छ)    सम्पूर्ण जनसंगठनहरूले आ–आफ्ना वर्ग, पेसा तथा समुदायका मागसहित पार्टीद्वारा घोषित कार्यक्रमहरूमा सशक्त ढङ्गले सहभागी हुने । 
५.    २०८३ वैशाख ९ (अप्रिल २२) नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई छलफल, अन्तक्र्रिया, संवाद, विचारगोष्ठी लगायतका विभिन्न रचनात्मक कार्यक्रमसहित भव्यरूपले मनाउन यो बैठक सम्पूर्ण पार्टी कमिटी तथा जनवर्गीय संगठनहरूलाई आह्वान गर्दछ । 
६.    प्रतिनिधिसभा निर्वाचन र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा समीक्षा गर्न तथा सिङ्गो पार्टी संगठनलाई पुनव्र्यवस्थित गर्न, केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट लगायतका विषयमा छलफल गर्न निकट भविष्यमै पार्टी केन्द्रीय कमिटीको बैठक आयोजना गरिनेछ ।