केन्द्रीय सचिवालयको सातौं बैठक सम्पन्न
२० चैत (२०८२), काठमाडौं । नेकपा (एमाले)ले पार्टीको संसदीय दल नेताको निर्वाचन दलको विधानबमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको र उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै पनि प्रकारको निर्देशन, नियन्त्रण वा हस्तक्षेप नभएको प्रष्ट पारेको छ ।
नेकपा (एमाले) केन्द्रीय सचिवालयको आज बसेको सातौं बैठकले लोकतान्त्रिक विधिबाट तय भएको यस निर्णयलाई सम्मान गर्न र सार्वजनिक रूपमा अन्यथा टिप्पणी वा गतिविधि नगर्न समस्त पार्टीपङ्क्तिलाई आह्वान गरेको छ ।
संसदीय दल चयनका लागि निर्वाचन समितिले निर्धारित प्रक्रिया पूरा गरेर पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।
आजको बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्यूरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ ।
बैठकले गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सङ्क्षिप्त समीक्षा गरेको छ र निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजयी हुनुभएका सम्पूर्ण माननीयहरूलाई बधाई ज्ञापन गरेको छ । भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा प्रधानमन्त्री वालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ ।
बैठकले नेकपा (एमाले) नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू, विशेषगरी महिला दिदीबहिनीहरू विरुद्ध भइरहेको लगातारको साइबर आक्रमणको घोर निन्दा एवम् भर्त्सना गरेको छ ।
बैठकपछि महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस विज्ञप्ति यस प्रकार छः
प्रेस विज्ञप्ति
आज नेकपा (एमाले) केन्द्रीय सचिवालयको सातौं बैठक कार्यबाहक अध्यक्ष कमरेड रामबहादुर थापाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा सम्पन्न भयो । बैठकले निम्न प्रस्ताव पारित गरिएको छ ः
१. यही २०८२ चैत १८ गते सम्पन्न नेकपा (एमाले), संसदीय दल नेताको निर्वाचनका सम्बन्धमा सार्वजनिक सञ्चारमाध्यममा आएका प्रतिक्रियाहरु प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । दल नेताको निर्वाचन दलको विधानबमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको हो । निर्वाचन समितिले निर्धारित प्रक्रिया पुरा गरेर पार्टीका उपाध्यक्ष तथा माननीय रामबहादुर थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । यो बैठक उक्त निर्वाचनमा पार्टीका तर्फबाट कुनै पनि प्रकारको निर्देशन, नियन्त्रण वा हस्तक्षेप भएको थिएन भन्ने कुरा सबैलाई स्पष्ट पार्न चाहन्छ । र, लोकतान्त्रिक विधिबाट तय भएको यस निर्णयलाई सम्मान गर्न र सार्वजनिक रुपमा अन्यथा टिप्पणी वा गतिविधि नगर्न समस्त पार्टीपङ्क्तिलाई आह्वान गर्दछ । यस निर्वाचनका सम्बन्धमा पार्टीपङ्क्ति, खासगरी युवापङ्क्तिबाट प्राप्त भएका सकारात्मक सुझावहरुलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ ।
बैठकले दल नेतामा सर्वसम्मतिका साथ निर्वाचित हुनुभएकोमा कमरेड रामबहादुर थापालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरेको छ ।
२. बैठकमा यही २०८२ चैत १९ गते सम्पन्न प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेताले गर्नुभएको सम्वोधनका सम्बन्धमा गम्भीरतापूर्वक छलफल भयो ।
बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन (व्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति हाम्रो पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ बनाइने कुरा स्पष्ट पारेको छ ।
त्यसैगरी, बैठकले गत २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सङ्क्षिप्त समीक्षा गरेको छ र निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्दै विजयी हुनुभएका सम्पूर्ण माननीयज्यूहरुलाई बधाई ज्ञापन गरेको छ । भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ । निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, निर्वाचन प्रहरी, पर्यवेक्षक, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
३. बैठकले नेकपा (एमाले) नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु, विशेषगरी महिला दिदीबहिनीहरु विरुद्ध भइरहेको लगातारको साइबर आक्रमणको घोर निन्दा एवम् भर्त्सना गरेको छ । साथै नियोजित आक्रमणको विरुद्ध कडारुपमा प्रतिवादमा उत्रिन र कानुनी उपचारमा सक्रिय हुन समस्त पार्टीपङ्क्तिलाई आह्वान गरेको छ । त्यसैगरी, साईबर आक्रमणमा संलग्नहरुलाई कानुनबमोजिम कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
४. बैठकले वर्तमान सरकारको विधार्थी संगठनहरु खारेज गर्ने र उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णयको कडा शब्दमा विरोध गरेको छ र सरकारलाई अविलम्ब यस निर्णयबाट पछि हट्न ध्यानाकर्षण गराएको छ ।
५. सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरुलाई मात्र दिने सरकारको निर्णयप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको छ र यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
६. पश्चिम एशियमा जारी हिंसाका कारण बीसौं लाख नेपालीहरु असुरक्षित बनेका छन् । हिंसाकै कारण एक नेपालीको मृत्यु भइसकेको छ भने ठूलो संख्यामा नेपाल फर्कन चाहनेहरु चिन्तित अवस्थामा छन् । बैठकले उनीहरुको सुरक्षाको सुनिश्चितता गर्न र स्वदेश फर्किन चाहनेहरुलाई सुरक्षित तबरले फर्कने व्यवस्था मिलाउन सरकारसमक्ष जोडदार माग गरेको छ ।