१० साउन (२०८२), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा वैचारिक पुनर्गठन आवश्यक रहेको बताउनुभएको छ ।
आइतबार नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा नेताकार्यकर्तालाई पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण अहिलेको अवस्था आएको बताउनुभयो ।
महासचिव पोखरेलल भन्नुभयो– आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आयो भन्न हिच्किचाउनु पर्दैन, काम नगरेर पार्टीलाई सुधार गर्न सकिन्न । पार्टी जीवनमा सवैभन्दा ठूलो पराजय हो यो । कार्यकर्तामा चरम निराशा पनि छ ।
पार्टी शुद्धिकरणसहितको रूपान्तरण तयार रहेको बताउँदै उहाँले भन्नुभयो– हामी जुन वर्गलाई लक्षित गरेर राजनीति गर्दै आयौ उनीहरु हामीसंग रहेनन्, हामीलाई विश्वास गरेनन्, भूमिहीनले विश्वास गरेनन्, विदेश गएका श्रमजीवी वर्ग पनि हाम्रो साथमा रहेनन् । पार्टी बलियो बनाउने आधार भत्कियो । उत्पीडित वर्गको नेतृत्व युट्युवरले गर । विद्यार्थीहरू हाम्रो साथमा रहेनन् । किसान आन्दोलनबाट हुर्केको पार्टीलाई किसानले विश्वास गरेनन् । हाम्रो पार्टी सत्तामा हुँदा न्याय हुन्छ भन्ने विश्वास भएन । शिक्षकहरू हिजो गाउँगाउँमा संगठन गर्थे, उनीहरूले पनि विश्वास गरेनन् । त्यसैले अब कसैको निर्देशनभन्दा पनि आफैले जानेर योजना बनाएर काम गर्नुपर्यो ।
महासचिव पोखरेलले कार्यकर्ताको भावना र पार्टीको वृहत्तर हितका लागि खुलारूपले निर्णय गर्न तयार रहेको बताउनुभयो । उहाँले समाजमा सामाजिक सन्जालबाट गलत भाष्य बनाइएका कारण आफूहरुले गरेका राम्रा कामहरु नकारात्मक मात्रै अघि बढाइएको बताउनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– एउटा समय आयो कि हाम्रा राम्रा कुरा पनि सुन्न नचाहने अवस्था बन्यो । सहरिया, नवयुवा, विदेश बसेका र सुकुम्वासीहरू हामीबाट टाढिए भनेर स्थानीय चुनावपछि नै थाहा भएकै हो, त्यही आधारमा मिशन ग्रासरूट चलायौं र सफल भयो । तर युवालाई जे गर्ने भनेका थियौ, त्यो भएन । हामी असफल भयौं ।
अरू पनि युवा केन्द्रित कार्यक्रम भए तर प्रभावकारी भएनन् । समस्या पहिचान पनि भएको हो । समग्रतामा हामीले समीक्षा नगरी भएन भन्ने हो । समस्या के हो ? जनताको मनोभावना किन वुझिएन ? र प्रतिष्पर्धा कोसँग कसरी गर्ने ? भन्ने विषयमा कमजोरी भयो ।
सरकारका माध्यमबाट हामी बलियो हुन खोज्यौं तर वर्ग सङ्घर्षलाई हामीले वुझ्न सकेनौं, सिडिओ र राम्रो हाकिम खोज्दै हिड्यौ । यसरी हामी जनताबीच जाने हैन, जनता हामीकहाँ आउने बनायौ । यो कार्यशैली उल्टो भयो । हामी सत्तामुखी भयौ ।
प्रदेश सरकारमा नयाँ गठबन्धनबारे कांग्रेस नै नचाहेर भएको प्रष्ट पार्दै महासचिव पोखरेलले भन्नुभयो– हामी कांग्रेससंग मिल्ने पक्षमा नै थियौ, उनीहरूवीच सहमति हुन सकेन । सबै मिलौ भनियो तर कांग्रेस तयार भएन । यस अर्थमा यो बाध्यताको परिणाम हो ।
वर्तमान सरकारबारे टिप्पणी गर्दै यसको जग लोकप्रियतावाद, अराजकतावाद भएकाले जनस्तरमा त्यो सन्देश पुराउनुपर्ने उहाँले बताउनुभयो ।
पार्टी सुधार्न महासचिव पोखरेलका यस्ता छन् टिप्सहरुः
–नेकपाकालदेखि कमिटी प्रणाली भत्क्यो । दुई अध्यक्षले हस्ताक्षर गरेपछि निर्णय कार्यान्वयन हुने भयो र यो तलैसम्म आयो । कार्यकर्ताको कुरै नसुनिने भयो ।
–अब हरेक कमिटीले आफै निर्णय गर्नुपर्छ । माथिबाट लाद्ने कुरा हुँदैन । स्थानीय चुनावमा उम्मेदवार आफै छनौट गर्नुस् ।
–अब तपाईहरूले माथि ताक्ने हैन, आफै सिर्जनात्मक भएर काम गर्नुस् । जनताको मन र विश्वास जितेरै काम गर्ने हो अरू विकल्प छैन ।
–सामाजिक सुरक्षाका विभिन्न भत्ता, विकास आदिले जनता हामीसंगै छन् भन्ने सोच्यौं तर असन्तुष्टि पत्ता लगाउन सकिएन ।
– शिक्षा, स्वास्थ्य र रोजÞगारको कुरा गर्दै आयौ तर सुलभ र सस्तो सेवा दिन सकेनौ ।
– सुशासन कायम भएन । अपराधीकरण बढ्यो, कालोबजारी र तस्करी रोक्न सकेनौ । युवा पलायन बढ्यो ।
– सूचना प्रविधि अबको राजनीतिको मुख्य आधार हो । यसको प्रभावकारी उपयोग पनि वर्गसङ्घर्षको आधार भयो । यो सामथ्र्य युवासंग छ । सामाजिक सन्जालमा ४० वर्ष कमका ७० वर्षका छन् तर पार्टीमा ७० प्रतिशत ४० वर्ष माथिका छन् ।
यी हुन् २१ जना मनोनितहरुः
बैठकले प्रदेश कमिटीमा २१ जना मनोनयन गरेको छ । मनोनित हुनेहरुमा रूपन्देहीबाट पम्फावती खनाल, चिनबहादुर गुरूङ, कपिलवस्तुबाट बाबुराम आचार्य, टेकराज पौडेल, हिरालाल पौडेल, नवलपरासीबाट गणेश पौडेल, मोहन बहादुर विक, दाङबाट लीला पुन, धर्मराज भारी, रोल्पाबाट घनश्याम आचार्य, गुल्मीबाट हिरा एसी र अर्घाखाँचीबाट जीवनारायण कोइराला, श्रीकृष्ण भुसाल, बाँकेबाट दीपक निरौला, प्युठानबाट धर्म गिरी, पाल्पाबाट देवी लामिछाने हुनुहुन्छ ।
प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी इन्चार्ज तथा केन्द्रीय सचिव छविलाल विश्वकर्मालगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
बैठकमा प्रस्तावका रुपमा आएका अन्तरपार्टी निर्देशन, जिल्लाको रिपोर्टिङ, मिशन पार्टी जागरण अभियानको शुभारम्भ, सदस्यता नवीकरण, सदस्य मनोनयन र सचिवालय विस्तार, जिÞम्मेवारी विभाजन, मातहत कमिटीका बैठकलगायतका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिनुभयो ।
