detail-img

‘सुकुम्वासीलाई जग्गा दिन एमालेको सरकार आउनुपर्छ’

कपिलवस्तु । पूर्व मन्त्री तथा  प्रतिनिधि सभा सदस्यका लागि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर– २ का नेकपा एमाले उम्मेदवार वृजेशकुमार गुप्ताले भूमिहीन सुकुम्वासीलाई जग्गा दिन एमालेको सरकार आउनुपर्ने बताउनुभएको छ । 
उहाँले आफ्नो क्षेत्रका मतदातासँग भेटघाट गर्दै गठबन्धनको सरकारले भूमि सम्वन्धी समस्या समाधान गर्न नसक्ने बताउनु भयो ।
उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भूमिहीन सुकुम्वासीको लगत लिई जग्गा दिनका लागि काम सुरु भएको बताउनुभयो । गठबन्धनको सरकारले सो आयोग विघटन गरी अर्को आयोग बनाएपछि दुई वर्षसम्म आयोग कागजीमात्र भएको केही काम नगरेको वताउनुभयो । दुई वर्षसम्म लालपुर्जा वितरण गर्ने स्थितिमा आउनुपर्ने भए पनि हालसम्म ठोस काम नभएको उहाँको भनाई थियो । 
इन्जिनियर समेत रहनुभएका गुप्ता जनतासँग आफुले गरेको काम र भावी योजना लिएर घरदैलो पुग्ने गर्दै आउनुभएको छ । उहाँले आफ्नो पाँच वर्षे कार्यकालमा सडक, पुलपुलेसा, अस्पताल, कृषि र शिक्षाको क्षेत्रमा धेरै काम भएको बताउनुभएको छ । 
कपिलवस्तु क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तवले बाणगङ्गा नदी कटान रोक्नको लागि आफु सधै प्रतिवद्ध रहेको बताउनुभयो । अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला योजनाको सुरुवात गरी डिपिआर सम्पन्न गरी हाल टेन्डरको प्रक्रियामा रहेको उहाँले बताउनुभयो । उहाँले आफ्ना क्षेत्रका जनताको सडक, पुलपुलेसा, कृषि, रोजगारीको समस्या समाधान गर्न एमाले नेतृत्वको सरकार आउनुपर्नेमा जोड दिनु भयो ।