एमाले आज

अपहरित अवस्थाको लोकतन्त्र फर्काउनु दलहरुको पहिलो दायित्वः अध्यक्ष ओली

सेयर गर्नुहोस्

-संविधान मिचिएको छ, संविधान मिच्न नदिएर रक्षा गर्नुपर्ने अहिलेको प्राथमिकताको विषय हो
-संविधानका चार पिलर लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई नचलाउने गरी संविधान संशोधनका लागि यसका निर्माताहरुले सहमति गर्नुपर्छ 
-नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नेपाली समाजको सूक्ष्म विश्लेषण गर्ने अत्यन्त दूरदर्शी नेता


७ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र अपहरित अवस्थामा पुगेको हुँदा लोकतन्त्र फर्काउनु पहिलो दायित्व भएको बताउनुभएको छ । 
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवसका अवसरमा पार्टीको राजधानी प्रदेश कमिटीद्वारा आयोजित ‘संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणमा संविधान निर्माता प्रमुख दलहरूको भूमिका र दायित्व’ विषयक प्रवचन कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । 
उहाँले भन्नुभयो– वास्तवमा अहिले लोकतन्त्र अपहरित भएको छ । त्यसैले अहिले लोकतन्त्रको सुदृढीकरण भन्दा पनि लोकतन्त्र फर्काउनुपर्ने अवस्था छ । संविधान मिचिएको छ, संविधान मिच्न नदिएर रक्षा गर्नुपर्ने अहिलेको प्राथमिकताको विषय हो । 
अध्यक्ष ओलीले लोकतन्त्रको मापन केवल निर्वाचनबाट मात्र नहुने उल्लेख गर्दै चुनाव कुन अवस्था, उद्देश्य र वातावरणमा सम्पन्न भयो भन्ने पक्ष महत्वपूर्ण हुने बताउनुभयो ।
चुनाव हुनु लोकतन्त्रको अभ्यास भए पनि त्यसको स्वरूप र उद्देश्यले लोकतन्त्रको वास्तविक अवस्था निर्धारण गर्ने भन्दै   विश्वका धेरै देशमा निर्वाचन भए पनि लोकतन्त्र नहुने उदाहरण रहेको उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्न संविधान निर्माणमा भूमिका खेलेका प्रमुख दलहरूले थप जिम्मेवारीका साथ अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । 
राजनीतिक दललाई ‘नयाँ’ र ‘पुराना’ भनेर विभाजन गर्ने भाष्य गलत भएको र यस्तो प्रवृत्तिले समाजमा अनावश्यक विभाजन सिर्जना गर्ने उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले धर्मका नाममा, जातका नामका, भूगोलका नाममा समाजलाई विभाजित गर्ने प्रयास विफल भएपछि अहिले राजनीतिक दललाई नयाँ र पुराना भनेर छुट्याउने प्रयास भइरहेको बताउनुभयो । 
विश्वका विकसित लोकतान्त्रिक मुलुकहरूमा समेत लामो इतिहास भएका दलहरूले नै राजनीतिक नेतृत्व गरिरहेको उदाहरण प्रस्तुत गर्दै उहाँले भन्नुभयो– पार्टी पुराना वा नयाँ हुने होइनन्, परिवर्तनशील र जनताको आवश्यकताअनुसार काम गर्ने हुनुपर्छ । 
अध्यक्ष ओलीले नेपालका राजनीतिक दलहरूले देशको इतिहास, समाज र आवश्यकतालाई नजिकबाट बुझेको उल्लेख गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि दलहरूलाई बलियो र उत्तरदायी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
वर्तमान सरकारले पञ्चायतकालभन्दा पनि बढी दमनकारी शैली अपनाएको र लोकतान्त्रिक व्यवस्थामाथि नै आघात पुग्ने गरी राज्य संयन्त्र प्रयोग भइरहेको उहाँले बताउनुभयो । 
अध्यक्ष ओलीले सरकार समयमै सचेत र जिम्मेवार नभए जनताले नै दमनविरुद्ध आवाज उठाउनुपर्ने अवस्था नआओस् भनी चेतावनी दिनुभयो । लोकतन्त्रको रक्षा र नागरिक अधिकारको संरक्षणका लागि जनताको जागरण आवश्यक भएको उहाँको भनाइ छ ।
देशमा लोकतन्त्र स्थापनाका लागि सङ्घर्ष र बलिदान गर्ने दुई पार्टी काँग्रेस र कम्युनिष्ट भएको र राष्ट्र र जनताको हितको रक्षा गर्ने, सुशासन, विकास र समृद्ध नेपाल, सुखी नेपालीसम्मको परिकल्पना गर्ने पार्टी पनि यिनै भएको भन्दै अध्यक्ष ओलीले यि पार्टीविरुद्ध गलत भाष्य निर्माण गरिएकामा असन्तुष्टी व्यक्त गर्नुभयो । 
लोकतन्त्र फिर्ता ल्याउने, संविधानको रक्षा र संशोधन गर्ने जिम्मेवारी पनि यिनै पार्टीमा रहेको भन्दै उहाँले नेपाली काँग्रेसलाई एकताबद्ध भई काँग्रेसका रुपमा अस्तित्व कायम गरेर लोकतन्त्रका निम्ति लड्ने सामथ्र्य प्राप्त गरोस् भनी शुभकामन व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नेपाली समाजको सुक्ष्म विश्लेषण गर्ने अत्यन्त दूरदर्शी नेता भएको धारणा राख्नुभयो । पुष्पलालले राष्ट्रियता, लोकतन्त्र, सुशासन, विकास र सामाजिक न्यायका सन्दर्भमा व्यवस्थित विचार प्रस्तुत गर्नुभएको उहाँले स्मरण गर्नुभयो । 
देशलाई फाँसीवादको सङ्कटबाट बचाउन सक्नुपर्छः नेकपाका नेता श्रेष्ठ

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सरकारका क्रियाकलापले नेपाललाई फाँसीवाद र राष्ट्रघातको दिशातिर लैजान खोजिएको भन्दै फाँसीवादको सङ्कटबाट बचाउन सक्नुपर्ने धारणा राख्नुभयो ।  
नेपालमा दुई वटा गम्भीर सङ्कट र खतरा उत्पन्न भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितमाथि गम्भीर कुठाराघातको खतरा पैदा भएको छ । देशको प्रधानमन्त्रीले नै संसद्को रोस्ट्रममा उभिएर अर्को देशको भूमि मिचेको छ भनेर झुट कुरा गर्छन् तर आत्मालोचना गरिएको छैन ।
नेता श्रेष्ठले लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षाको प्रश्न गम्भीर चुनौतीका रूपमा लिनुपर्ने बताउनुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सरकारले अहिलेसम्म संविधान र लोकतन्त्रप्रति औपचारिक रूपमा निष्ठा समेत व्यक्त गर्न नसकेको आरोप लगाउनुभयो । 
उहाँले देशलाई बचाउने हो भने लोकतान्त्रिक शक्ति र एकीकृत कम्युनिस्ट आन्दोलन जरुरी भएको भन्दै नेताहरूले यसलाई गम्भीरतापूर्वक लिन ढिला गर्न नहुने धारणा राख्नुभयो । 
संविधान र लोकतन्त्रमाथिको आक्रमण रोक्न एकताबद्ध हुनुको विकल्प नभएकोमा जोड दिँदै नेता श्रेष्ठले भन्नुभयो– निराशा र पलायनवादबाट बचौँ । क्रान्तिकारी आशावादीसहित रूपान्तरण र पुनर्गठनको प्रक्रियामा अघि बढौँ । ताकी नेपाली कम्युनिस्ट शक्तिहरूले सच्चा लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्दै संविधान बचाउँदै समाजवादको लक्ष्यमा अघि बढौँ ।
नेपाली काँग्रेसका उपसभापति पुष्पा भुसालले संविधान निर्माण गरेका दलहरू यतिबेला एकठाउँ उभिनुपर्ने आवश्यकता रहेको औल्याउँदै संविधान संशोधनका सम्बन्धमा साझा धारणा बनाउनुपर्ने धारणा राख्नुभयो । 
संविधानविद् राधेश्याम अधिकारीले यो संविधान जनतालाई केन्द्रमा राखेर बनाइएको बताउँदै संविधानका चारवटा पिलर लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई नचलाउने गरी संविधान संशोधनका लागि यसका निर्माताहरुले सहमति गर्नुपर्ने सुझाव दिनुभयो । 
अर्का संविधानविद टीकाराम भट्टराईले संविधान संशोधनभन्दा यसको रक्षा गर्नु अहिले प्राथमिक विषय भएको धारणा राख्नुभयो । उहाँले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने गरी हुनुपर्ने बताउँदै यसका पक्षधरहरु अविलम्ब एकठाउँ बसेर साझा धारणा बनाउनुपर्नेमा जोड दिनुभयो । 
नेकपा (एमाले) राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव लेखराज भट्ट, सचिव तथा राजधानी प्रदेश इन्चार्ज डा. राजन भट्टराई, सचिव भानुभक्त ढकाल, विदेश विभाग प्रमुख प्रदीप ज्ञवाली, केन्द्रीय कमिटीका सदस्यहरुका साथै ठूलो सङ्ख्यामा कार्यकर्ता र शुभेच्छुकहरुको  उपस्थिति रहेको थियो । 

हामीसँग जोडिनुहोस्