१२ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)ले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावग्रस्त परिस्थिति र त्यस क्रममा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगको भर्त्सना गर्दै राज्यलाई आफ्नो दमनकारी रवैया तत्काल रोकेर संयमताका साथ समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ ।
महासचिव शंकर पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी नागरिकको जिउधनको सुरक्षा गर्ने र मुलुकमा शान्ति–सुरक्षा कायम गर्ने प्राथमिक जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन यति संवेदनशील विषयमा चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिनु अत्यन्तै भर्त्सनायोग्य विषय भएको जनाउनुभएको छ ।
विवाद समाधानका लागि समयमै सार्थक संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग गर्ने, तुजुक देखाउने र त्रासको वातावरण सिर्जना गर्ने कार्यले परिस्थितिलाई थप उत्तेजित बनाएको एमालेको ठहर छ ।
नेकपा (एमाले)ले यस दुःखद एवं अकल्पनीय घटनामा परी अकालमै ज्यान गुमाउनुहुने देवानगञ्जका स्थानीय युवा ओमप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गम्भीर समवेदना व्यक्त गरेको छ ।
घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको अविलम्ब, प्रभावकारी र पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन, पीडित परिवारलाई उचित राहत एवं क्षतिपूर्ति प्रदान गर्न तथा घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न नेकपा (एमाले) सरकारसँग जोडदार माग गरेको छ ।
सुनसरीको देवानगञ्ज घटनाः दमन रोकेर शान्तिपूर्ण समाधान खोज्न एमालेको आग्रह
सेयर गर्नुहोस्
