एमाले आज

‘किसान नेता अमात्य र पन्तको त्याग र क्रान्तिकारी विचार नेपाली समाजका लागि प्रेरणाको स्रोत’

सेयर गर्नुहोस्

-अध्यक्ष ओलीद्वारा अमात्य र पन्तको स्मृति दिवसमा श्रद्धाञ्जली सन्देश  
-अमात्य ‘जसको जोत, उसको पोत’ नारासहित किसानलाई आफ्नो हक अधिकारका लागि संगठित हुन प्रेरित गर्ने नेता
-पन्त ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने नाराका साथ हलिया र कमैया प्रथाविरुद्ध  आन्दोलनको नेतृत्व गर्ने नेता 
१७ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तले अघि बढाएको किसान आन्दोलनको विरासतलाई अघि बढाउन आग्रह गर्नुभएको छ । 
अग्रणी व्यक्तित्व अमात्य र पन्तको स्मृति दिवसका अवसरमा आज एक श्रद्धान्जली सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गर्नुभएको हो । 
अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यले नेपालमा किसान आन्दोलनलाई वैचारिक तथा संगठनात्मक रूपमा सुदृढ बनाउन पुर्याउनुभएको महत्वपूर्ण योगदानको स्मरण गर्नुभएको छ । 
सामन्तवादी भूस्वामित्वको समयमा अमात्यले जसको जोत, उसको पोत भन्ने नारासहित किसानहरूलाई आफ्नो हक र अधिकारका लागि संगठित हुन प्रेरित गरेको उल्लेख गर्दै नेता अमात्यले निरङ्कुशताविरुद्धको सङ्घर्ष तथा वामपन्थी आन्दोलनमा निर्वाह गरेको भूमिका नेपाली राजनीतिक इतिहासमा सधैं स्मरणीय रहने अध्यक्ष ओलीले बताउनुभएको छ । 
सन्देशमा अमर शहीद भीमदत्त पन्तलाई सामन्तवादी शोषणविरुद्धको सङ्घर्षका निडर तथा क्रान्तिकारी योद्धाका रूपमा स्मरण गर्नुभएको छ । 
‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने नाराका साथ पन्तले सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उत्पीडित किसानहरूको पक्षमा आन्दोलनको नेतृत्व गरेको सन्देशमा उल्लेख गरिएको छ ।
पन्तलाई २०१० साल साउन १७ गते गोली हानी हत्या गरिएको र किसान आन्दोलनलाई दबाउने उद्देश्यले उहाँको शिर छिनाएर प्रदर्शन गरिएको घटनालाई नेपाली किसान आन्दोलनको इतिहासको अत्यन्त दुःखद अध्यायका रूपमा स्मरण हुने गरेको अध्यक्ष ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ । 
दुबै नेताको त्याग, समर्पण र क्रान्तिकारी विचार नेपाली समाजका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीको रक्षा, सामाजिक न्याय, समानता र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नु नै उहाँहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने अध्यक्ष ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ । 
किसान आन्दोलनका अमर शहीद भीमदत्त पन्त र नेता तुलसीलाल अमात्यप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै अध्यक्ष ओलीले उहाँहरूको योगदान नेपाली राजनीतिक तथा किसान आन्दोलनको इतिहासमा सदैव सम्मानपूर्वक स्मरण भइरहने जनाउनुभएको छ । 

हामीसँग जोडिनुहोस्