एमाले आज

कम्युनिष्ट पार्टीहरुले अब आफूलाई रुपान्तरण गर्नुपर्छः महासचिव पोखरेल

सेयर गर्नुहोस्

१९ साउन (२०८३), काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टीहरूले समयको माग अनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । 
सोमबार ‘वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, सहिदहरूको बलिदान र नेपालका वामपन्थी दलहरूको दायित्व’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महासचिव पोखरेलले इतिहासको गुणगान गाएर मात्रै कम्युनिस्ट आन्दोलन नजोगिने बताउनुभएको छ । 
उहाँले इतिहासबाट पाठ सिक्दै वर्तमानका चुनौतीहरूको सामना गर्न सक्नुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले विगतमा करिब ६० प्रतिशत जनमत ओगटेको वामपन्थी आन्दोलन आज राष्ट्रिय राजनीतिमा रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्नुभयो । 
विगतमा नेकपाभित्र भएको आन्तरिक सङ्घर्ष र नेताहरू बीचको कटुतापूर्ण व्यवहारले गर्दा वामपन्थी मतदाताहरू निराश भई कम्युनिष्ट पार्टीहरुसँग टाढिएको उहाँले बताउनुभयो ।
कम्युनिष्टहरु राष्ट्रिय राजनीतिमा रक्षात्मक अवस्थामा पुगेको वर्तमान चुनौतीपूर्ण परिस्थितिको सामना गरी अगाडि बढ्न कम्युनिष्ट पार्टीहरुको एकताको विषय उठिरहेको सन्दर्भमा महासचिव पोखरेलले केवल नेताहरूका टाउका जोडेर गरिने एकता टिकाउ नहुने विगतको अनुभव सुनाउनुभयो । 
उहाँले नीति, विचार र कार्यकर्ताको भावना जोडेर मात्र वामपन्थी आन्दोलनको पुनर्जागरण सम्भव हुने तर्क गर्नुभयो ।
महासचिव पोखरेलले देशमा पछिल्लो समय बढेको लोकप्रियतावाद र अराजकतावादी प्रवृत्तिले लोकतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि नै सङ्कट पैदा गरेको बताउनुभयो । 
उहाँले देशभित्र र वैदेशिक रोजगारीमा रहेका श्रमजीवी वर्गलाई पुनः वामपन्थी आन्दोलनसँग जोड्नका लागि पार्टीको वैचारिक, राजनीतिक र संगठनात्मक पुनर्गठन आवश्यक रहेकोमा जोड दिनुभयो । 
सूचना प्रविधि र सामाजिक सञ्जालको युगमा हुर्किएको नयाँ पुस्तालाई परम्परागत भाषण र आन्दोलनले आकर्षित गर्न नसकेको उहाँको भनाइ थियो । नयाँ पुस्ताले बुझ्ने भाषा र एजेन्डा प्रस्तुत गर्न नसके कम्युनिस्ट आन्दोलन थप सङ्कटमा पर्ने उहाँको विश्लेषण छ । 

 

हामीसँग जोडिनुहोस्