नेता बस्नेतको निधनको नवौंदिन आज दाङमा श्रद्धाञ्जली सभा
१९ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले दङ्गाली कम्युनिष्ट आन्दोलनका नेता शोभाराम बस्नेतको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभएको छ ।
नेता बस्नेतको निधन भएको आज नवौँ दिन, नेकपा (एमाले) दाङ जिल्ला कमिटीले आयोजना गरेको श्रद्धान्जली सभामा बोल्दै महासचिव पोखरेलले स्व. बस्नेतको योगदानलाई भुल्न नसकिने बताउनुभयो ।
नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद्का पूर्व सदस्य बस्नेतको कम्युनिष्ट आन्दोलनदेखि पार्टीप्रतिको भूमिकाबारे चर्चा गर्दै पन्चायतकालददेखि लोकतन्त्रसम्मको राजनीतिक परिवर्तनमा बस्नेतको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।
नेता बस्नेतले ईमान र निष्ठाको राजनीतिबाटै जनताको मन जितेको स्मरण गर्दै महासचिव पोखरेलले समाजमा नेताका रुपमा स्थापित र सफल हुन जनताको मनोविज्ञान बुझन सक्नुपर्ने बताउनुभयो ।
जनताको मनोभावना र मनोविज्ञानलाई नबुझ्दा चुनावको परिणाम पुराना दलका लागि सोचेभन्दा ठीक उल्टो भएको उहाँको भनाइ छ ।
महासचिव पोखरेलले शोभाराम बस्नेत जस्ता नेताहरुबाट पाठ सिकेर नेताहरुले आफुलाई परिमार्जन गर्दै समय सापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला कमिटीका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरुलाल चौधरीले कम्युनिष्ट आन्दोलनका धरोहर शोभाराम बस्नेतको योगदान र इतिहासलाई जीवित राख्नका लागि पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका सदस्य छविलाल वली, नेपाली कांग्रेसका शिवहरि गौतम, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर दहित, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य र नेपाल कम्युनिष्ट पार्टीका विकास वली लगायतले स्वर्गीय बस्नेतले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको चर्चा गर्नुभएको थियो ।
जिल्ला कमिटीका उपाध्यक्ष मनोहर बुढाथोकीले बस्नेतको जीवनीबारे चर्चा गर्नुभएको थियो भने घरपरिवारको तर्फबाट माईला छोरा मनोज बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव श्याम डाँगीले गर्नुभएको थियो । विगत लामो समयदेखि मिर्गाैला रोगबाट पीडित बस्नेतको यही साउन ११ गते ८० वर्षको उमेरमा निधन भएको थियो ।
