२० साउन (२०८३), दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राज्यले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाउन नहुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, दाङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले विगतका घटनामा राजनीतिक जिम्मेवारीका आधारमा पक्राउ गर्ने मापदण्ड अपनाइएको हो भने वर्तमान घटनामा पनि सोही मापदण्ड लागू हुनुपर्ने तर्क राख्नुभयो ।
वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक रूपमा माफी माग्न वा राजीनामा दिएर कानुनी प्रक्रिया सामना गर्न बाटो खोल्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– गतबर्ष भदौ २३–२४ को घटनामा सुरक्षा निकायले गरेको बल प्रयोगको राजनीतिक जिम्मेवारी भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न मिल्ने हो भने पछिल्लो समय कोशी र मधेश प्रदेशका केही जिल्लामा प्रहरीमार्फत भएका हत्या तथा हिंसात्मक घटनाको नैतिक र राजनीतिक जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले पनि लिनुपर्छ ।
एउटै प्रकृतिका घटनामा फरक–फरक मापदण्ड अपनाइनु विधिको शासनविपरीत हुने उल्लेख गर्दै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
महासचिव पोखरेलले सरकारसँग दुई विकल्प मात्र रहेको उल्लेख गर्दै विगतमा अपनाइएको कदम गलत थियो भने त्यसबारे सार्वजनिक रूपमा माफी माग्नुपर्ने अन्यथा वर्तमान घटनाको जिम्मेवारी स्वीकार गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिएर कानुनी प्रक्रिया सामना गर्न मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले राजनीतिक आग्रहका आधारमा कानुनको प्रयोग गरिए लोकतान्त्रिक प्रणाली र न्यायप्रणालीप्रतिको जनविश्वास कमजोर हुने चेतावनी दिँदै शासन सञ्चालनमा निष्पक्षता, जवाफदेहिता र समान मापदण्ड अनिवार्य हुनुपर्ने धारणा राख्नुभयो ।
