एमाले आज

कप्तानगञ्ज घटनाः  हिंस्रक सरकार र दलहरूको जिम्मेवारीपूर्ण पहलकदमी

सेयर गर्नुहोस्


एकाएक फिल्मी शैलीमा गृहमन्त्री स्वयं उपस्थिति भएर तराई–मधेसमा ‘हिंसात्मक घटना रोकेँ’ भन्ने रोइलो सरकारको ‘बालसुलभ प्रवृत्ति’बाहेक अरू केही हुन सक्दैन ।

काठमाडौं । साउन दोस्रो साता सुनसरी कप्तानगञ्जमा दुई समुदायबिच उत्पन्न विवादको बहाना बनाई चार जना निर्दोष नागरिकको हत्या र दर्जनौं घाइते हुनेगरी गरिएको अत्यधिक बल प्रयोगले सरकारको व्यवहार तानाशाही उन्मुख देखिएको छ । 
कप्तानगञ्जको विवादलाई त्यहीँ स्थानीय तहमै साम्य बनाउनुको सट्टा सरकार उदासिन बन्दा तराई–मधेशका विभिन्न जिल्लामा हिंसा फैलियो । जसबाट चार जना निर्दोष नागरिकको हत्या र दर्जनौं अङ्गभङ्ग हुनेगरी घाइते भए, करोडौंको भौतिक सम्पत्ति क्षति हुन पुग्यो । 
कप्तानगञ्जको नयाँ हाटबजार क्षेत्रमा धार्मिक कार्यक्रमका क्रममा माइकिङ (लाउडस्पीकर) प्रयोग र धार्मिक झण्डा राख्ने विषयलाई लिएर दुई समुदायबिच मतभेद सुरू भई झडपमा परिणत भएको थियो । स्थानीय तहमा देखिएका विवादको संवेदनशिलताप्रति राज्य बेखबर बन्यो । दुई समुदायबिच सद्भाव कायमका लागि संवाद र मेलमिलापको वातावरण निर्माण गर्नुपर्ने प्राथमिक दायित्वसम्म सरकारले पूरा गर्न सकेन ।
सुरक्षा निकायले घातक हतियारबाट अत्यधिक बल प्रयोग गरेर नागरिकको हत्या गर्नतिर उद्यत देखिएपछि तराई–मधेसको पश्चिमतिर हिंसात्मक गतिविधि बढ्दै गयो । यो घटनाले के पुष्टि गर्दछ भने दुईतिहाई नजिकको बालेन्द्र शाह नेतृत्वको सरकारकै कारण राष्ट्रिय एकता र शान्ति सुरक्षाप्रति संशय पैदा गरेको छ । कप्तानगञ्जको पछिल्लो हिंसात्मक घटनाले व्यक्ति, समुदायका जीउधनको रक्षा राज्यले गर्छ भन्ने विश्वास नागरिकमा जागृत हुन सकेको छैन ।  
कप्तानगञ्जबाट फैलिएको हिंसात्मक गतिविधि र हत्याको पछिल्लो घटनाबाट सरकारले सामाजिक–सांस्कृतिक संवेदशिलता बुझेकै छैन भन्ने प्रमाणित गरेको छ । राज्य सञ्चालनको पहिलो पहरेदार स्थानीय प्रशासनलाई कुनै पनि पूर्वतयारीमा राखिएको देखिएन । व्यक्ति केन्द्रित ‘नायकत्व’ र लोकप्रियतावादको परिणाम अन्ततः सामाजिक सद्भाव, समुदायबिच आत्मियताका आधारमा समाज कसरी निर्माण भएको छ ? भन्ने सूचना व्यवस्थापनबाट सरकार सम्पर्कबिच्छेद भएको देखियो । घटना पश्चिम तराई–मधेश फैलिसक्दा समेत चार दिनसम्म प्रधानमन्त्री शाहको कुनै पहलकदमी देखिएन । जिम्मेवार दलहरूको आग्रहपछि बल्लतल्ल मध्येराति प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभयो ।
सरकारको ‘बालापन’का कारण तराई–मधेसमा एकाएक भड्किएको हिंसात्मक घटना साम्य पार्न अन्ततः जिम्मेवार राजनीतिक दलहरूको निरन्तर सद्भावको आह्वान, मधेस केन्द्रित दलहरू, धार्मिक समुदायको पहलमा अहिलेलाई रोकिएको छ । यद्यपि एकाएक फिल्मी शैलीमा गृहमन्त्री स्वयं उपस्थित भएर तराई–मधेसमा ‘हिंसात्मक घटना रोकेँ’ भन्ने रोइलो सरकारको ‘बालसुलभ प्रवृत्ति’बाहेक अरू केही हुन सक्दैन । 
हिंसात्मक घटना हुनै नदिनु सरकारको प्राथमिक दायित्व हो । तर निर्दोष नागरिकको हत्या गरिसकेपछि सरकार हिंसात्मक गतिविधि रोक्न ‘सफल’ भयो भन्नु गलत भाष्य हो । बरू गृहमन्त्रीले जनकपुरमा कथित हिन्दु मोर्चाहरूसँग गरेको सहमतिले अर्को हिंसाको भ्रूण हुर्काउँदै लगेको छ । 
राष्ट्रको अस्तित्व, शान्ति–सुरक्षा, सामाजिक सद्भाव, नेपाली–नेपालीबिचको भ्रातृत्व सम्बन्ध कायम नै मुलुकका साझा पहिचान हुन् । जो कोही लोकप्रियवादको चक्करमा एक–अर्काप्रति आरोप–प्रत्यारोपमा उत्रिन्छ भने त्यो कार्य गलत हुन जान्छ । यतिखेरको आवश्यकता हरेक द्वन्द्वको समाधान संवाद र सहमति गरेर जिम्मेवार सहकार्य गर्नु हो ।
जिम्मेवार सहकार्यको मुख्य हकदार सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरू नै हुन् । तसर्थ राष्ट्रिय हित, शान्ति स्थापना र आपसी सद्भावका निम्ति एकजुट हुनुको विकल्प छैन ।
कप्तानगञ्ज घटनामा मृत्यु हुनेहरूः

  • ओमप्रकाश मेहता (कप्तानगञ्ज झडपमा प्रहरीको गोली लागेर घटनास्थलमै निधन)  0
  • जयप्रकाश मेहता (विराटनगरमा उपचारको क्रममा निधन)
  • गणेश यादव (सिराह, गोलबजारमा प्रहरीको गोली लागेर निधन)
  • रवीन्द्र कुमार मेहता (उपचारको क्रममा काठमाडौंमा निधन)
    कप्तानगञ्ज घटनाको टाइमलाइनः
  •  २०८३ साउन ९ गते, शुक्रबार
    बोलबम ¥यालीका क्रममा माइकिङ गर्ने र हाटबजार क्षेत्रमा धार्मिक झण्डा गाड्ने विषयलाई लिएर दुई समुदायबिच भनाभन र सामान्य विवादपछि झडप ।
  •    २०८३ साउन १० गते, शनिबार
    अघिल्लो दिनको विवादले उग्र रूप लिँदै कप्तानगञ्ज नयाँ हाटबजार क्षेत्रमा दुबै पक्षबिच दोहोरो झडप । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाउँदा ओमप्रकाश मेहता (२४ वर्ष) गम्भीर घाइते भई अस्पताल लैजाने क्रममा मृत्यु । दर्जनौं स्थानीय र प्रहरी घाइते ।
  •   २०८३ साउन ११ गते, आइतबार
    हिंसात्मक परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिकाका विभिन्न वडा र कप्तानगञ्ज बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू जारी । 
  •    २०८३ साउन १४ गते, बुधबार
    साउन १० गतेको गोलीकाण्डमा टाउकोमा गोली लागी गम्भीर घाइते भएका जयप्रकाश मेहता (२१ वर्ष) को विराटनगरस्थित न्युरो अस्पतालको सघन उपचारकै क्रममा निधन । ती क्षेत्रमा शोक र तनाव एकै पटक सिर्जना । हिंसात्मक घटनाको ४ दिनपछि बल्ल प्रधानमन्त्री बालेन शाहको सम्बोधन ।
  •  २०८३ साउन १७ गते, शनिबार
    प्रशासन, स्थानीय जनप्रतिनिधि, दुवै समुदायका प्रतिनिधि र पीडित पक्षबिच गृह मन्त्रालयको समन्वयमा छलफल । 
  •    २०८३ साउन १९ गते (सोमबार)
    सोही झडपमा पेट र छातीमा गोली लागी उपचाररत अर्का घाइते रवीन्द्र कुमार मेहता (२१ वर्ष) को पनि उपचारकै क्रममा निधन । साम्प्रदायिक सद्भाव ¥याली, कफ्र्यू खुकुलो ।

 

हामीसँग जोडिनुहोस्