एमाले आज

यो देश बनाउने पार्टी एमाले होः महासचिव पोखरेल 

सेयर गर्नुहोस्

रामेछापमा पार्टी कार्यालय भवन उद्घाटन  
२२ साउन (२०८३) रामेछाप । नेकपा (एमाले) रामेछापको आफ्नै पार्टी कार्यालय भवन बनेको छ । 
साढेदुई करोड रुपियाँभन्दा बढी लागतमा बनेको चार तले भवनको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आज उद्घाटन गर्नुभयो । 
भवनमा जिल्ला अध्यक्ष, सचिवको सचिवालय, लेखा कमिटी, निर्वाचन कमिटी, जनसंगठनहरु, मन्थली नगरपालिका कमिटीको कार्यकक्षका साथै पुस्तकालय र ३५० जनाभन्दा बढी अट्ने हल समेत रहेको पार्टी उपाध्यक्ष एवं वित्त विभागका प्रमुख होतराज ढकालले जानकारी दिनुभयो । 
कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेको पार्टी कार्यालय भवन रामेछापका जनताहरूको आस्थाको केन्द्रका रूपमा विकसित हुनुपर्नेमा जोड दिनुभयो । 
उहाँले एमाले देशभक्ति र जनताको समस्या समाधानको सन्दर्भमा सबैभन्दा सशक्त पार्टी भएको बताउनुभयो । तर गएको निर्वाचनमा एमालेले जनताको विश्वास जित्न नसकेको महासचिव पोखरेलको धारणा छ । ‘जनता हामीबाट टाढिएका छन्, जो वर्गको राजनीति हामीले गरिरहेका छौँ, त्यो वर्ग नै हामीसँग टाढिएको छ, यसको कारण खोज्नु पर्दछ’, उहाँले भन्नुभयो । 
उहाँले अहिलेको अवस्थालाई चिरेर अघि बढ्ने सामथ्र्य नेकपा (एमाले)ले राख्नुपर्ने बताउनुभयो । यसका लागि एमालेले आफूलाई रिभ्यु गरेर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । ‘पार्टी नयाँ ढङ्गले अगाडि बढ्छ भन्ने कुरामा कार्यकर्ता विश्वस्त हुनु पर्दछ, जनतालाई विश्वस्त बनाउनु पर्दछ’, उहाँले भन्नुभयो । 
एमालेले आफ्ना कमजोरीहरू स्वीकार गरेर अघि नबढ्दा जनताले राम्रा काम समेत नसुनिरहेको उहाँले बताउनुभयो । अध्यक्षको पक्षमा सबैभन्दा बढी डिफेन्स गर्ने व्यक्ति आफू भएको स्वीकार्दै तर त्यति गरेर मात्र जनताले नस्वीकारेकाले अब कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 
बहस र छलफलले नै समस्या समाधान गर्ने बताउँदै अहिले पार्टी त्यही अभियानमा लागेको उहाँले जानकारी दिनुभयो । ‘विगतका घटनाको वस्तुनिष्ठ समीक्षा गरेर भविष्यको व्यवस्थित कार्ययोजना बनाएर अगाडि बढ्न हाम्रो पार्टी सक्षम छ’, महासचिव पोखरेलले भन्नुभयो । 
एमालेले मानिसको जीवनस्तर वृद्धिको लागि धेरै काम गरेको बताउँदै सोही अनुसारको नागरिकको आम्दानीको स्रोत भने बढाउन नसकेको उहाँले बताउनुभयो । ‘त्यो असन्तुष्टि आजको समाजको विद्रोहको रूपमा देखियो’, महासचिव पोखरेलले भन्नुभयो । 
नयाँ पुस्तालाई पार्टीमा जोड्न उनीहरूको मनोविज्ञान बुझ्न आवश्यक रहेको उहाँको भनाइ छ । ‘कमजोरीबाट सिकेर अघि बढ्नु पर्छ, कमजोरीलाई सुधार गर्ने नै शिखरमा पुग्न सक्छन्, कमजोरीलाई स्वीकार्न कुनै अप्ठेरो मान्नु पर्दैन’, उहाँले भन्नुभयो । 
गतबर्ष भदौ २३ र २४ को घटनामा टिओबी, बार्बरा फाउण्डेसन लगायतले भूमिका खेलेको कुरा बाहिर आइसकेको हुँदा यो बाह्य हस्तक्षेप अब नलुकेको उहाँले स्पष्ट पार्नुभयो । दलहरूका बिचमा रहेको विभाजन र जनतामा रहेको असन्तुष्टिका कारण भदौ २३ र २४ को घटना सामना गर्न नसकिएको महासचिव पोखरेलले सुनाउनुभयो । 
जबसम्म युवालाई उत्पादनको काममा जोड्न सकिँदैन तबसम्म देश नबन्ने उहाँले बताउनुभयो । ‘बाहिर गएर गरेको कमाइले कुनै पनि देश बनेको छैन’, उहाँले भन्नुभयो । 
एमालेको आन्दोलन यथास्थितिवादी आन्दोलन नभई आन्दोलन प्रगतिशील र परिवर्तनको आन्दोलन भएको महासचिव पोखरेलको भनाइ छ । यो कुरालाई बुझ्न नसक्ने हो भने पार्टी अगाडि नबढ्ने उहाँको धारणा छ । 
सूचना प्रविधिको उपयोग गरेर अब पार्टीको अभियान अघि बढ्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो । खराब मानिसको हातमा सूचना प्रविधिका उपकरण पुगेका कारण देश आजको अवस्थामा आएको उहाँले बताउनुभयो । ‘डिजिटल वार जित्यौँ भने मात्र हामीले लडाइँ जित्दछौँ, यसको लागि हामी युवाका बिचमा जानै पर्छ, यही हो पार्टीको पुनर्गठन भनेको कुरा’, महासचिव पोखरेलले भन्नुभयो । 
पार्टीका नेताहरू अहिलेको समस्या समाधानको लागि छलफलमा बसेकाले समस्याको समाधान गरेर निस्कने उहाँले बताउनुभयो । ‘यो देश बनाउने यही पार्टीले हो, बनाउँछ यसले, द्विविधामा नरहनुस्’, उहाँले भन्नुभयो । 
बालेन नेतृत्वको सरकार कुनै चुनौती नभएको बताउँदै महासचिव पोखरेलले रास्वपा जसरी उदायो त्यसै गरी अन्त्य हुने धारणा राख्नुभयो । 
पार्टीका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज माधव ढुङ्गेलले पार्टी भवन निर्माणमा योगदान गर्ने सबै समान हिस्सेदार भएको बताउनुभयो । पार्टीको भवन इँटाको थुप्रो मात्र नभएर आस्थाको केन्द्र भएको स्पष्ट पार्नुभयो । 
उहाँले यो देशको विकास निर्माणमा सबैभन्दा ठुलो हिस्सा नेकपा (एमाले)को भएको बताउनुभयो । जनताका हरेक दुःखको सारथि नेकपा (एमाले) नै भएको उहाँले दाबी गर्नुभयो । ‘चुनाव हार्दैमा हाम्रो अभियान रोकिँदैन, हामी निरन्तर जनताको सेवामा समर्पित रहने छौँ’, ढुङ्गेलले भन्नुभयो । 
उहाँले गत भदौ २३ र २४ को घटनामा नेपाली सेना लगायत सुरक्षा निकायको भूमिका संशयपूर्ण रहेको स्पष्ट पार्नुभयो । ‘मेरो सेना र मेरा सुरक्षा निकायमाथि मलाई प्रश्न उठाउन मन छैन तर दुनियाँले प्रश्न उठाएका छन्’, उहाँले भन्नुभयो । 
जनताले चार महिनामा अहिलेको सरकारलाई निहाली सकेका बताउँदै गएको निर्वाचनमा प्राप्त गरेको जनमत अहिलेको सरकारसँग नरहेको उहाँले दाबी गर्नुभयो । अहिले नै निर्वाचन भए पनि रास्वपाले गएको चुनावमा ल्याएको जति मत ल्याउन नसक्ने ढुङ्गेलले स्पष्ट पार्नुभयो । 
कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य  गीता कार्कीले नयाँ बनेको भवन रामेछापका नगारिकहरुको दुःख सुख साट्ने ठाउँ बन्नुपर्नेमा जोड दिनुभयो । यति बेला देशका लोकतान्त्रिक शक्तिमाथि आक्रमण भइरहेको बताउँदै उहाँले एमालेले सबै लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याएर आक्रमणको सामना गर्न नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।  
कार्यक्रममा बोल्दै पार्टीका बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलले राम्रो काम गर्दा परिणाम आउने बताउँदै आफूहरूले जग्गा जोडेको ठाउँमा आज भव्य भवन बनेको बताउनुभयो । 
उहाँले एमालेले पूर्वाधार तथा आर्थिक, सामाजिक विकासको क्षेत्रमा उल्लेख्य काम गरेको बताउँदै ३५ वर्षमा केही भएन भन्नेलाई बहसका लागि आउन चुनौती दिनुभयो । एमालेले जनताको पक्षमा हिजो पनि काम गरेको, आज पनि गर्ने र भोलि पनि गरिरहने स्पष्ट पार्नुभयो । 
नेकपा (एमाले)लाई कमजोर पार्न नेपालको प्रशासन, सुरक्षा तथा अन्तर्राष्ट्रिय शक्ति समेत लागेका उहाँले बताउनुभयो । उनीहरूले फैलाएको अलगोरिदमको कारण एमाले कमजोर भएको बताउँदै उहाँले त्यसलाई चिरेर निस्कनुपर्नेमा जोड दिनुभयो । 
पार्टी केन्द्रीय सल्लाहकार कमिटीका सदस्य कमलप्रकाश सुनुवारले पार्टी र पार्टीको भवनलाई अहिलेको अवस्थामा ल्याउन धेरै मानिसहरूको योगदान रहेको बताउनुभयो । उहाँले अहिले पार्टी र देश गम्भीर मोडमा रहेको बताउँदै यसबाट बाहिर निस्कन पार्टी संगठित ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 
भवन निर्माण समितिका संयोजक, पार्टीका बाग्मती प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले पार्टीको दीर्घकालीन योजना अन्तर्गत कार्यालय भवन बनेको बताउनुभयो । 
कार्यक्रममा सबैको सहयोग र सद्भावको कारण पार्टी कार्यालय बनेको पार्टीका जिल्ला अध्यक्ष पुरुषोत्तम कँडरियाले बताउनुभयो । उहाँले पार्टीको भवन सबैको हो भन्ने अपनत्वबोध हुने गरी बनेको बताउनुभयो । 
नेकपा (एमाले) दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले एमालेलाई कसरी कमजोर बनाउन सकिन्छ भनेर देशी विदेशी शक्ति लागेका बताउँदै त्यसबाट एमाले बच्नुपर्ने बताउनुभयो ।
मदन–आश्रित स्मृति भवनका अध्यक्ष एवं नेकपा (एमाले) बाग्मती प्रदेश सल्लाहकार अध्यक्ष तुलप्रसाद कँडेलले कार्यालय भवन निर्माणको लागि जग्गा र जग बसाउन धेरै मेहनत गरेको स्मरण गर्नुभयो ।

 

हामीसँग जोडिनुहोस्