एमाले आज

समावेशी प्रतिनिधित्व, न्याय र समानतामा आधारित संविधानको रक्षा र सुदृढीकरण गर्नु सबैको दायित्वः अध्यक्ष ओली 

सेयर गर्नुहोस्

२४ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतालाई राष्ट्रिय सौन्दर्यका रूपमा आत्मसात गर्दै यसलाई राष्ट्रिय एकता र शक्तिका रूपमा सुदृढ गर्नुपर्ने बताउनुभएको छ । 
३२औँ विश्व आदिवासी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उहाँले शताब्दीयौँदेखि कायम रहेको आपसी मेलमिलाप, भाइचारा र सहअस्तित्वको परम्परालाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायका दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 
आदिवासी समुदायको हक, अधिकार, संस्कृति र विशिष्ट पहिचानलाई संयुक्त राष्ट्रसंघले समेत ऐतिहासिक रूपमा लिपिबद्ध गरेको शुभकामना सन्देशमा उल्लेख छ । 
आदिवासी समुदायको जल, जंगल, जमिन तथा प्रकृति संरक्षणमा महत्वपूर्ण परम्परागत योगदान रहेको उल्लेख गर्दै सन्देशमा उहाँले मौलिक भाषा, भेषभूषा, रीतिरिवाज र लोकसंस्कृति नेपालको अमूल्य साझा सम्पत्ति भएको बताउनुभएको छ । 
अध्यक्ष ओलीले संविधानले सबै समुदायको समान अधिकार सुनिश्चित गर्दै राज्यका हरेक अङ्गमा समावेशी तथा सहभागितामूलक प्रतिनिधित्वको व्यवस्था गरेको उल्लेख गर्दै दशकौँ लामो सङ्घर्ष र बलिदानबाट निर्माण भएको समावेशी प्रतिनिधित्व, न्याय र समानतामा आधारित संविधानको रक्षा र सुदृढीकरण गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । 
राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक संविधान र संविधानले सुनिश्चित गरेका अधिकारको रक्षा गर्न सम्पूर्ण समुदायको एकता आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको छ । 
अध्यक्ष ओलीले सन्देशमा विविधतालाई शक्तिका रूपमा आत्मसात गर्दै एकताबद्ध हुन सबैलाई आह्वान गर्नुभएको छ । 

 

हामीसँग जोडिनुहोस्