एमाले आज

प्रभुत्वशाली शक्तिहरूका कारण विश्व गम्भीर सङ्कटतर्फः नेता ज्ञवाली

सेयर गर्नुहोस्

–अन्तर्राष्ट्रिय सम्बन्धमा ‘जसको शक्ति, उसकै भक्ति’ (Might is right) भन्ने खतरनाक सिद्धान्त फेरि ब्युँताउन खोजिएको छ
–कानून शक्तिभन्दा माथि हुनुपर्छ, सार्वभौमसत्ता प्रभुत्वभन्दा माथि हुनुपर्छ र विश्व अराजकताले होइन, नियमले चल्नुपर्छ  
–एउटा राष्ट्र घाइते हुन सक्छ तर पराजित हुँदैन, परीक्षित हुन सक्छ तर झुक्दैन


२४ साउन (२०८३), हवाना (क्युबा) । नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शान्ति, न्याय र मानवीय गरिमामा आधारित विश्व निर्माणका लागि विश्वभरका कम्युनिस्ट तथा मजदुर पार्टीहरूलाई नयाँ आत्मविश्वासका साथ एकताबद्ध हुन आह्वान गर्नुभएका छ । 
क्युबाको राजधानी हवानामा आयोजित कम्युनिष्ट तथा मजदुर पार्टीहरूको २४औँ अन्तर्राष्ट्रिय बैठक (EIPCO) लाई सम्बोधन गर्दै नेता ज्ञवालीले साम्राज्यवादी र प्रभुत्वशाली शक्तिहरूका कारण विश्व गम्भीर सङ्कटतर्फ धकेलिएको बताउनुभयो ।
बैठकमा उहाँले वर्तमान विश्व व्यवस्था, असमानता, क्युबाप्रतिको ऐक्यबद्धता र नेपालको राजनीतिक परिस्थितिबारे पार्टीको स्पष्ट दृष्टिकोण राख्नुभएको थियो ।  
बदलिँदो विश्व व्यवस्था र शक्तिहरूको ‘दम्भ’का कारण  विश्व अशान्त युगमा प्रवेश गरेको औँल्याउँदै नेता ज्ञवालीले दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्था, बहुपक्षीयता र संयुक्त राष्ट्रसंघको भूमिका कमजोर पारिएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो । 
अन्तर्राष्ट्रिय सम्बन्धमा ‘जसको शक्ति, उसकै भक्ति’ (Might is right)  भन्ने खतरनाक सिद्धान्त फेरि ब्युँताउन खोजिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
नेता ज्ञवालीले भन्नुभयो– कानून शक्तिभन्दा माथि हुनुपर्छ, सार्वभौमसत्ता प्रभुत्वभन्दा माथि हुनुपर्छ र विश्व अराजकताले होइन, नियमले चल्नुपर्छ । साथै, पश्चिमा प्रभुत्व क्रमशः क्षीण हुँदै गएको र ब्रिक्स (BRICS)  जस्ता उदाउँदा आर्थिक केन्द्रहरूको उदयले बहुध्रूवीय विश्वको सङ्केत गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । 
कृत्रिम बुद्धिमत्ता (AI)  र प्रविधिले श्रम र बजारको स्वरूप बदलिदिएको वर्तमान सन्दर्भमा परम्परागत शक्तिहरूले वर्चस्व जोगाउन खोजेको उहाँको भनाइ थियो । 
नैतिक सङ्कट र समाजवादको अपरिहार्यता 
विश्वमा थुप्रै सम्पत्ति र प्रविधि विकास भए पनि करिब एक अर्ब मानिस अझै पनि चरम गरिबीमा बाँचिरहेको वास्तविकता औँल्याउँदै नेता ज्ञवालीले यो केवल आर्थिक सङ्कट मात्र नभई ठूलो नैतिक सङ्कट भएको बताउनुभयो ।
समाजवाद नै यस अन्यायको सबैभन्दा मानवीय र विवेकपूर्ण उत्तर हो । माक्र्सवाद कुनै पुराना सूत्रहरूको सङ्ग्रहालय नभई समाज बुझ्ने र रूपान्तरण गर्ने एक जीवित पद्धति भएको उहाँले प्रष्ट पार्नुभयो । 
क्युबाप्रति अटुट ऐक्यबद्धता 
नेता ज्ञवालीले क्युबाका जनता, सरकार र क्युबाको कम्युनिस्ट पार्टीप्रति गहिरो ऐक्यबद्धता प्रकट गर्नुभयो । 
दशकौँदेखिको अन्यायपूर्ण नाकाबन्दी र कठिनाइहरूलाई क्युबाली जनताले साहस, मर्यादा र दृढताका साथ झेलेको उल्लेख गर्दै उहाँले भन्नुभयो– एउटा राष्ट्र घाइते हुन सक्छ तर पराजित हुँदैन, परीक्षित हुन सक्छ तर झुक्दैन । 
नेपालको सन्दर्भ
जनताको बहुदलीय जनवाद र राष्ट्रिय आकाङ्क्षा नेकपा (एमाले)को वैचारिक मार्गदर्शनबारे बोल्दै नेता ज्ञवालीले नेपाली सन्दर्भमा माक्र्सवादको सिर्जनात्मक प्रयोग नै ‘जनताको बहुदलीय जनवाद’ (जबज) भएकोबारे प्रकाश पार्नुभयो । 
लोकतन्त्र र सामाजिक न्याय एकअर्काका पूरक हुन् भन्ने कुरा जबजले प्रमाणित गरेको उहाँको भनाइ थियो ।
एमालेको मूल राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको उल्लेख गर्दै उहाँले नेपालले सार्वभौम समानता, आन्तरिक मामिलामा अहस्तक्षेप र पारस्परिक लाभका आधारमा परराष्ट्र नीति सञ्चालन गरिरहेको बताउनुभयो ।
नेपालमा गतबर्ष जेनजी (Gen Z) को आन्दोलनका नाममा भएका हिंसात्मक गतिविधिप्रति लक्षित गर्दै नेता ज्ञवालीले लोकतन्त्रमा शान्तिपूर्ण विरोधको अधिकार भए पनि लोकतान्त्रिक संस्था र सार्वजनिक सम्पत्तिमाथिको तोडफोडलाई क्रान्ति भन्न नसकिने स्पष्ट पार्नुभयो । 
बाह्य शक्तिहरूले आन्तरिक असन्तोषलाई उपयोग गरी अस्थिरता निम्त्याउन खोजेकोप्रति सचेत गराउँदै उहाँले तमाम कठिनाइहरूका बाबजुद नेपाली जनताले सधैँ लोकतन्त्रको रक्षा गर्दै आएको र आगामी दिनमा पनि गर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।
सम्बोधनको अन्त्यमा नेता ज्ञवालीले भय, प्रभुत्व र असमानताले शासित संसारको सट्टा शान्ति, न्याय र मानवीय गरिमामा आधारित विश्व निर्माणका लागि विश्वभरका कम्युनिस्ट तथा मजदुर पार्टीहरूलाई नयाँ आत्मविश्वासका साथ एकताबद्ध हुन आह्वान गर्नुभयो । 

नेकपा (एमाले) विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले क्युबाको राजधानी हवानामा आयोजित कम्युनिष्ट तथा मजदुर पार्टीहरूको २४औँ अन्तर्राष्ट्रिय बैठक  (EIPCO)  मा गर्नुभएको सम्बोधनको पूर्ण पाठः
प्रिय कमरेडहरू,
आज हवानाको यस ऐतिहासिक भूमिमा तपाईंहरूका सामु उभिन पाउनु मेरो लागि गहिरो सम्मानको विषय हो । क्युबाको कम्युनिस्ट पार्टीप्रति यसको आत्मीय आतिथ्य र व्यवस्थापनका लागि म हार्दिक कृतज्ञता व्यक्त गर्दछु । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली जनताका तर्फबाट क्युबाको कम्युनिस्ट पार्टी, यहाँ उपस्थित सबै कम्युनिस्ट तथा मजदुर पार्टीहरू र यस ऐतिहासिक बैठकमा सहभागी सम्पूर्ण कमरेडहरूलाई क्रान्तिकारी अभिवादन व्यक्त गर्दछु ।
हामी यहाँ केवल विचार आदानप्रदान गर्न भेला भएका होइनौं । हामी साझा उद्देश्यलाई पुनः नवीकरण गर्न भेला भएका छौं । हामी यहाँ आएका छौं, किनकि इतिहासले फेरि एकपटक हाम्रो काँधमा गम्भीर जिम्मेवारी दिएको छ ।
जब आक्रमण बढ्छ, एकता कर्तव्य बन्छ । जब धम्की फैलिन्छ, ऐक्यबद्धता आवश्यकता बन्छ । जब सार्वभौमसत्ता मिचिन्छ, मौनता आत्मसमर्पण बन्छ ।
विश्व व्यवस्थाको परिवर्तनबारे आफ्ना विचार राख्नुअघि म क्युबाका जनता, क्युबाको सरकार र क्युबाको कम्युनिस्ट पार्टीप्रति हाम्रो अटुट ऐक्यबद्धता व्यक्त गर्न चाहन्छु ।
क्युबाले कठिनाइलाई साहसका साथ सामना गरेको छ । नाकाबन्दीलाई मर्यादाका साथ झेलेको छ । एक्लोपनलाई दृढतामा रूपान्तरण गरेको छ । उसले संसारलाई देखाएको छ– एउटा राष्ट्र घाइते हुन सक्छ तर पराजित हुँदैन, परीक्षित हुन सक्छ, तर झुक्दैन ।
हामी क्युबाली जनताको शक्तिमा विश्वास गर्छौं । हामी विश्वास गर्छौं, क्युबाले यी चुनौतीहरू पार गर्नेछ र मानवताको विवेकलाई अझै लामो समयसम्म उज्यालो बनाइरहनेछ ।
कमरेडहरू,
विश्व अशान्त युगमा प्रवेश गरिरहेको छ । प्रभुत्ववादी शक्तिहरूले फेरि एकपटक राष्ट्रहरूलाई आफ्नै ढाँचामा ढाल्न खोजिरहेका छन्, शान्ति सङ्कटमा छ । अन्तर्राष्ट्रिय कानून कमजोर बनाइएको छ । साना राष्ट्रहरूको आवाज उपेक्षित छ । त्यसैले हाम्रो आजको छलफल केवल सामयिक मात्र होइन, ऐतिहासिक पनि हो ।
हिजोका निश्चितताहरू बिस्तारै विलीन भइरहेका छन् । दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्था कमजोर हुँदै छ । बहुपक्षीयताको वाचा हराउँदै छ । सिद्धान्तहरू हिसाब–कितावमा बदलिँदैछन् । न्याय शक्तिको छायाँमा धकेलिँदै छ ।
संयुक्त राष्ट्रसंघको भूमिका कमजोर पारिएको छ । अन्तर्राष्ट्रिय सहकार्यका आधारहरू हल्लिएका छन् ।
आक्रमण सामान्य बन्दै गएको छ । धम्की नियमित बन्दै गएको छ । सार्वभौम राष्ट्रहरूको आन्तरिक मामिलामा हस्तक्षेप चिन्ताजनक रूपमा बढेको छ । हामी एउटा प्राचीन र खतरनाक सिद्धान्त पुनर्जागृत भइरहेको देखिरहेका छौं— शक्तिले नै सत्य सिर्जना गर्दछ । अर्थात जसको शक्ति, उसकै भक्ति । 
यो सभ्यताको बाटो होइन ।
कानून शक्तिभन्दा माथि हुनुपर्छ । सार्वभौमसत्ता प्रभुत्वभन्दा माथि हुनुपर्छ । संवाद दमनभन्दा माथि हुनुपर्छ । विश्व अराजकताले होइन, नियमले चल्नुपर्छ ।
हामी महान् ऐतिहासिक सङ्क्रमणको युगमा बाँचिरहेका छौं ।
दुई शताब्दीदेखिको पश्चिमी प्रभुत्व क्रमशः क्षीण हुँदै छ । सैन्य श्रेष्ठताका सीमाहरू उजागर भएका छन् । अफगानिस्तान, इराक, लिबिया, सिरिया र हाल इरानसहितका द्वन्द्वहरूले देखाएका छन् कि बमले शहरहरू ध्वस्त पार्न सक्छ तर वैधता निर्माण गर्न सक्दैन ।
आर्थिक र प्राविधिक शक्तिमा अब धेरैको पहुँच र सहभागिता बढ्दै गएको छ । चीन लगायत उदाउँदा आर्थिक केन्द्रहरूले विश्वको स्वरूप परिवर्तन गरिरहेका छन् । आज BRICS  को विश्व अर्थतन्त्रमा हिस्सा G7 भन्दा ठूलो भइसकेको छ । स्थानीय मुद्रामा व्यापार, डि–डलराइजेसन र नयाँ वित्तीय संस्थाहरूको उदयले नयाँ आर्थिक क्षितिजको सङ्केत गरिरहेको छ ।
विज्ञानले इतिहासको गति तीब्र बनाइरहेको छ ।
कृत्रिम बुद्धिमत्ताले श्रमलाई बदल्दै छ । रोबोटिक्सले उत्पादनलाई बदल्दै छ । डिजिटल प्रविधिले शक्तिको स्वरूपलाई नै बदल्दै छ । मानवता यस्तो युगमा प्रवेश गरिरहेको छ, जहाँ अल्गोरिदमले बजारलाई र मानव मस्तिष्कलाई,  मेसिनले श्रमलाई र डाटाले  पूँजीलाई पुनः परिभाषित गरिरहेका छन् ।
पुरानो युग अस्ताउँदै छ । नयाँ युग अझै निर्माणको चरणमा छ ।
तर परम्परागत शक्तिहरू यी नयाँ यथार्थ स्वीकार्न तयार छैनन् । उनीहरू जिम्मेवारी बाँड्नुको सट्टा वर्चस्व जोगाउन चाहन्छन् । विश्व “हामी” र “उनीहरू” का रूपमा विभाजित छ । यस्तो विभाजनले शङ्का जन्माउँछ, सहकार्य होइन, टकराव जन्माउँछ, शान्ति होइन, युद्ध जन्माउँछ ।
तर मानवजाति अर्कै बाटोको पर्खाइमा छ ।
विश्वका जनताले शान्ति चाहन्छन् । सहअस्तित्व चाहन्छन् । विकास चाहन्छन् । गरिमा चाहन्छन् । अनेक सभ्यताहरू सँगै फुल्न सक्ने विश्व चाहन्छन् ।
एशिया आर्थिक वृद्धि, नवप्रवर्तन र जनसाङ्ख्यिकीय ऊर्जाको केन्द्र बन्दै छ । चीनको उदय हाम्रो शताब्दीको निर्णायक घटनामध्ये एक हो । उसले करोडौं मानिसलाई गरिबीबाट मुक्त गरेको छ । भारतले पनि विश्वमञ्चमा अझ ठूलो भूमिका खेल्दै छ । यद्यपि, सुल्झिन बाँकी क्षेत्रीय मुद्दाहरूले दक्षिण एसियाली राजनीतिलाई अझै पनि प्रभावित पारिरहेका छन् । 
यस्तो जटिल परिस्थितिमा, हाम्रो आन्दोलन दृढ र अविचलित रहनुपर्छ । हामीले शान्तिको रक्षा गर्नुपर्छ । हामीले सहअस्तित्वको रक्षा गर्नुपर्छ । र, कुनै पनि राष्ट्रलाई अर्को देशको सार्वभौम मामिलामा हस्तक्षेप गर्ने अधिकार छैन भन्ने सिद्धान्तको प्रतिरक्षा गर्नुपर्छ ।
प्रिय कमरेडहरू,
विश्वको सम्पत्ति बढेको बढ्यै छ । तर न्याय बढेको छैन ।
आज पनि करिब एक अर्ब मानिस चरम गरिबीमा बाँचिरहेका छन् । राष्ट्रभित्र र राष्ट्रहरूबीचको असमानता गहिरिँदै गएको छ । पुँजीका लागि सिमानाहरू सहज बनेका छन्, तर श्रमिकहरूले भने असुरक्षा, विस्थापन, र बहिष्करण भोग्नुपर्छ । प्रविधिले फड्को मारेको छ, तैपनि लाखौं मानिसहरू अवसरविहीन छन् । बजारको दायरा त बढेको छ तर मानवीय गरिमा भने उपेक्षित छ ।
यो केवल आर्थिक सङ्कट होइन । यो नैतिक सङ्कट हो ।
समाजवाद नै यस अन्यायको सबैभन्दा मानवीय उत्तर हो । यही असमानताको सबैभन्दा विवेकपूर्ण उत्तर हो । यही वर्तमान सङ्कटको सबैभन्दा आशावादी उत्तर हो ।
आज समाजवाद केही ठाउँमा कमजोर वा रक्षात्मक स्थितिमा हुन सक्छ । तर पराजित भइसकेको छैन । यो विभिन्न राष्ट्रिय अनुभवमार्फत निरन्तर विकसित हुँदैछ । कम्युनिस्ट तथा मजदुर पार्टीहरूले संगठन, शिक्षा र सङ्घर्ष जारी राखेका छन् । 
माक्र्सवाद हाम्रो मार्गदर्शक सिद्धान्त हो ।
यो पुराना सूत्रहरूको सङ्ग्रहालय होइन । यो कठोर सिद्धान्तहरूको कारागार होइन । यो जीवित पद्धति हो । समाजलाई बुझ्ने, शोषणलाई उजागर गर्ने र इतिहासलाई रूपान्तरण गर्ने विधि हो ।
हरेक राष्ट्रको आफ्नै इतिहास हुन्छ । प्रत्येक जनताको आफ्नै संस्कृति हुन्छ । हरेक समाजका आफ्नै अन्तर्विरोध हुन्छन् । त्यसैले समाजवादतर्फको बाटो पनि प्रत्येक राष्ट्रले आफ्नै सन्दर्भमा निर्माण गर्नुपर्छ ।
कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको समयदेखि विश्व धेरै बदलिएको छ । श्रम बदलिएको छ । पूँजी बदलिएको छ । प्रविधि बदलिएको छ । शक्ति बदलिएको छ । पूँजीवाद डिजिटल, वित्तीय र अल्गोरिदमिक स्वरूपमा विकसित भएको छ । तर शोषण समाप्त भएको छैन । त्यसले केवल नयाँ रूप धारण गरेको छ ।
ठ्याक्कै यही कारणले गर्दा, समाजवादको सान्दर्भिकता घटेको छैन । यो त झन् पहिलेभन्दा अझ बढी अपरिहार्य बनेको छ ।
प्रिय कमरेडहरू,
नेपालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) मार्क्सवाद र जनताको बहुदलीय जनवादद्वारा निर्देशित छ । जनताको बहुदलीय जनवाद नेपाली सन्दर्भमा मार्क्सवादको सिर्जनात्मक प्रयोग हो ।
हाम्रो पार्टी २००७ सालको लोकतान्त्रिक आन्दोलनमा सहभागी भयो । निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध दशकौँसम्म सङ्घर्ष गर्यो । २०६२–६३ को ऐतिहासिक जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्यो । यही सङ्घर्षले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल र समाजवादोन्मुख संविधानको निर्माण गरायो ।
आज एमाले नेपालको कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनको प्रमुख आधारस्तम्भमध्ये एक हो ।
जनताको बहुदलीय जनवादले लोकतन्त्र र सामाजिक न्याय एकापसका विरोधी होइनन्, बरु सहयात्री हुन् भन्ने कुरा प्रमाणित गरिदिएको छ । यसले नवउदारवादी अतिवाद र उग्रवामपन्थी जडसूत्रीय सोच दुबैलाई अस्वीकार गरेको छ । यसले द्वन्द्वलाई लोकतान्त्रिक प्रतिस्पर्धामा र सङ्घर्षलाई संवैधानिक राजनीतिमा रूपान्तरण गरेको छ ।
हाम्रो राष्ट्रिय आकाङ्क्षा सरल छ, तर गहिरो छ—समृद्ध नेपाल, सुखी नेपाली ।
हामी यस्तो राज्य निर्माण गर्न चाहन्छौं, जहाँ विकास जनताका लागि होस्, सरकारले कमजोरको संरक्षण गरोस्, अवसरमा सबैको समान पहुँच होस् र गरिमा प्रत्येक नागरिकको अधिकार बनोस् ।
विदेश नीतिमा हामी सार्वभौम समानता, भौगोलिक अखण्डता, आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्त, पारस्परिक सम्मान र पारस्परिक लाभप्रति प्रतिबद्ध छौं ।
राष्ट्रहरू आकार, सम्पत्ति वा सैन्य शक्तिमा फरक हुन सक्छन् । तर गरिमामा सबै समान छन् । कुनै राष्ट्र सम्मानका लागि सानो हुँदैन । कुनै राष्ट्र न्यायका लागि कमजोर हुँदैन ।
कमरेडहरू,
नेपालले हालै गम्भीर राजनीतिक अस्थिरताको कठिन समय पार गरेको छ । जेन जी (Gen Z)  को आन्दोलनका रूपमा सुरु भएको प्रदर्शन, पछि हिंसा र विनाशतर्फ मोडियो । सार्वजनिक संस्थाहरू आक्रमणको निशाना बने । ऐतिहासिक सम्पदाहरू क्षतिग्रस्त भए । लोकतान्त्रिक संरचनाहरू कमजोर बनाइए । निर्वाचित सरकार ढल्यो । संसद विघटन भयो । निर्वाचन अपरिहार्य बन्यो ।
लोकतन्त्रले शान्तिपूर्ण विरोधको अधिकार दिन्छ । असहमत हुने अधिकार दिन्छ । संवैधानिक रूपमा सरकार परिवर्तन गर्ने अधिकार दिन्छ । तर लोकतान्त्रिक संस्थाहरूको विनाशलाई क्रान्ति भन्न सकिँदैन । हिंसा लोकतन्त्रको भाषा हुन सक्दैन ।
देशभित्रको असन्तोषलाई उपयोग गरेर बाह्य शक्तिहरूले राजनीतिक रूपमा अस्थिरता ल्याउन खोजेकोमा हामी धेरै चिन्तित छौँ ।
तर हामीले लोकतन्त्र छाडेनौं । हामी निर्वाचनमा सहभागी भयौं । जनताको निर्णयलाई सम्मान गर्यौं । नेपाली जनताप्रतिको हाम्रो विश्वास अटल छ । उनीहरूले पहिले पनि लोकतन्त्रको रक्षा गरेका थिए । फेरि पनि गर्नेछन् ।
प्रिय कमरेडहरू,
आज इतिहासले हामीलाई एउटा सरल प्रश्न सोधिरहेको छ ।
के हामी भय, प्रभुत्व, र असमानताले शासित संसारलाई स्वीकार गर्छौं ? वा शान्ति, न्याय र मानवीय गरिमामा आधारित विश्व निर्माण गर्नेछौं ?
हाम्रो जवाफ साझा र सामूहिक हुनुपर्छ ।
कम्युनिस्ट तथा मजदुर पार्टीहरूले नयाँ आत्मविश्वास र नयाँ कल्पनाशक्तिका साथ एकताबद्ध हुनुपर्छ । हामीले आफ्ना सफलताबाट सिक्नुपर्छ । आफ्ना कमजोरीबाट पनि सिक्नुपर्छ । हामी अतीतप्रति होइन, भविष्यप्रति इमानदार हुनुपर्छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) विश्वभरका कम्युनिस्ट तथा मजदुर पार्टीहरूसँगको ऐक्यबद्धतालाई गहिरो महत्व दिन्छ । हामी विश्वस्त छौं, हाम्रो कमरेडली सम्बन्ध अझ सुदृढ हुने छ । हामी सँगसँगै शान्ति, समानता, सामाजिक न्याय र मानव मुक्तिको यात्रालाई अगाडि बढाउन सक्छौं ।
भविष्य मुफ्तमा पाइने कुरा होइन । यसलाई आफैं बनाउनुपर्छ । आउनुहोस, हामी सबै मिलेर त्यो भविष्य निर्माण गरौँ ।
धन्यवाद ।

हामीसँग जोडिनुहोस्