२५ साउन (२०८३), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय विभागहरुको संयुक्त बैठक महासचिव शंकर पोखरेलको उपस्थितिमा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्यो ।
बैठकमा मुख्यतः विभागहरुलाई पूर्णता दिने र बार्षिक कार्ययोजना बनाउने विषयमा छलफल भयो ।
बैठकमा महासचिव पोखरेलले सबै विभाग प्रमुखहरुलाई विभागमा सदस्य मनोनयनका लागि आ–आफ्ना विभागका तर्फबाट नामावली उपलब्ध गराउन आग्रह गर्नुभयो ।
पार्टीका केन्द्रीय विभागहरु सम्बन्धित विषयमा नीति बनाउने निकाय भएकाले विभाग गठन गर्दा विषयविज्ञहरुका साथै आन्दोलनप्रति आस्था, प्रतिबद्धता र काम गर्ने उत्साह भएका व्यक्तिहरु छनोट गर्न महासचिव पोखरेलले विभाग प्रमुखहरुलाई सुझाउनुभयो ।
पार्टीले उपाध्यक्षहरुलाई विभागको संयोजनको जिम्मेवारी तोकेकाले विभागको योजना बनाउने सन्दर्भमा यस पक्षमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
विभागहरुले बार्षिक कार्ययोजना बनाएर त्यसको कार्यान्वयन गर्ने विगत स्मरण गराउँदै महासचिव पोखरेलले बार्षिक कार्ययोजना एकमहिनाभित्र पारित गरेर कार्यान्वयनमा जानुपर्ने बताउनुभयो ।
उहाँले संसदको कामलाई प्रभावकारी बनाउन राज्यसँग सरोकार राख्ने विभागहरुले संसदमा कानुन निर्माण, सरकारका काम र जनसरोकारका विषयहरु संसदमा उठाउने सन्दर्भमा पार्टीको संसदीय मामिला विभागमार्फत सांसदहरुलाई आवश्यक सहयोग गर्नुपर्ने अवस्थाका बारेमा पनि विभाग प्रमुखहरुलाई ध्यानाकर्षण गराउनुभयो । बैठकमा विभाग प्रमुखहरुको सहभागिता रहेको थियो ।
विभाग प्रमुखहरुको बैठकः विभागहरुलाई पूर्णता दिने र कार्ययोजना बनाउने विषयमा छलफल
सेयर गर्नुहोस्
