बिचार

समाजवादको सान्दर्भिकता अझ बढी अपरिहार्य 

2026-08-10 12:02:48

सेयर गर्नुहोस्

प्रदीप ज्ञवाली
विदेश विभाग प्रमुख, नेकपा (एमाले)


हवाना (क्युवा)को यस ऐतिहासिक भूमिमा तपाईंहरूका सामु उभिन पाउनु मेरो लागि गहिरो सम्मानको विषय हो । क्युबाको कम्युनिस्ट पार्टीप्रति यसको आत्मीय आतिथ्य र व्यवस्थापनका लागि म हार्दिक कृतज्ञता व्यक्त गर्दछु । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली जनताका तर्फबाट क्युबाको कम्युनिस्ट पार्टी, यहाँ उपस्थित सबै कम्युनिस्ट तथा मजदुर पार्टीहरू र यस ऐतिहासिक बैठकमा सहभागी सम्पूर्ण कमरेडहरूलाई क्रान्तिकारी अभिवादन व्यक्त गर्दछु ।
हामी यहाँ केवल विचार आदानप्रदान गर्न भेला भएका होइनौं । हामी साझा उद्देश्यलाई पुनः नवीकरण गर्न भेला भएका छौं । हामी यहाँ आएका छौं, किनकि इतिहासले फेरि एकपटक हाम्रो काँधमा गम्भीर जिम्मेवारी दिएको छ ।
जब आक्रमण बढ्छ, एकता कर्तव्य बन्छ । जब धम्की फैलिन्छ, ऐक्यबद्धता आवश्यकता बन्छ । जब सार्वभौमसत्ता मिचिन्छ, मौनता आत्मसमर्पण बन्छ ।
विश्व व्यवस्थाको परिवर्तनबारे आफ्ना विचार राख्नुअघि म क्युबाका जनता, क्युबाको सरकार र क्युबाको कम्युनिस्ट पार्टीप्रति हाम्रो अटुट ऐक्यबद्धता व्यक्त गर्न चाहन्छु ।
क्युबाले कठिनाइलाई साहसका साथ सामना गरेको छ । नाकाबन्दीलाई मर्यादाका साथ झेलेको छ । एक्लोपनलाई दृढतामा रूपान्तरण गरेको छ । उसले संसारलाई देखाएको छ– एउटा राष्ट्र घाइते हुन सक्छ तर पराजित हुँदैन, परीक्षित हुन सक्छ, तर झुक्दैन ।
हामी क्युबाली जनताको शक्तिमा विश्वास गर्छौं । हामी विश्वास गर्छौं, क्युबाले यी चुनौतीहरू पार गर्नेछ र मानवताको विवेकलाई अझै लामो समयसम्म उज्यालो बनाइरहने छ ।
कमरेडहरू,
विश्व अशान्त युगमा प्रवेश गरिरहेको छ । प्रभुत्ववादी शक्तिहरूले फेरि एकपटक राष्ट्रहरूलाई आफ्नै ढाँचामा ढाल्न खोजिरहेका छन्, शान्ति सङ्कटमा छ । अन्तर्राष्ट्रिय कानून कमजोर बनाइएको छ । साना राष्ट्रहरूको आवाज उपेक्षित छ । त्यसैले हाम्रो आजको छलफल केवल सामयिक मात्र होइन, ऐतिहासिक पनि हो ।
हिजोका निश्चितताहरू बिस्तारै विलीन भइरहेका छन् । दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्था कमजोर हुँदै छ । बहुपक्षीयताको वाचा हराउँदै छ । सिद्धान्तहरू हिसाब–कितावमा बदलिँदैछन् । न्याय शक्तिको छायाँमा धकेलिँदै छ ।
संयुक्त राष्ट्रसंघको भूमिका कमजोर पारिएको छ । अन्तर्राष्ट्रिय सहकार्यका आधारहरू हल्लिएका छन् ।
आक्रमण सामान्य बन्दै गएको छ । धम्की नियमित बन्दै गएको छ । सार्वभौम राष्ट्रहरूको आन्तरिक मामिलामा हस्तक्षेप चिन्ताजनक रूपमा बढेको छ । हामी एउटा प्राचीन र खतरनाक सिद्धान्त पुनर्जागृत भइरहेको देखिरहेका छौं— शक्तिले नै सत्य सिर्जना गर्दछ । अर्थात जसको शक्ति, उसकै भक्ति । 
यो सभ्यताको बाटो होइन ।
कानून शक्तिभन्दा माथि हुनुपर्छ । सार्वभौमसत्ता प्रभुत्वभन्दा माथि हुनुपर्छ । संवाद दमनभन्दा माथि हुनुपर्छ । विश्व अराजकताले होइन, नियमले चल्नुपर्छ ।
हामी महान् ऐतिहासिक सङ्क्रमणको युगमा बाँचिरहेका छौं ।
दुई शताब्दीदेखिको पश्चिमी प्रभुत्व क्रमशः क्षीण हुँदै छ । सैन्य श्रेष्ठताका सीमाहरू उजागर भएका छन् । अफगानिस्तान, इराक, लिबिया, सिरिया र हाल इरानसहितका द्वन्द्वहरूले देखाएका छन् कि बमले शहरहरू ध्वस्त पार्न सक्छ तर वैधता निर्माण गर्न सक्दैन ।
आर्थिक र प्राविधिक शक्तिमा अब धेरैको पहुँच र सहभागिता बढ्दै गएको छ । चीन लगायत उदाउँदा आर्थिक केन्द्रहरूले विश्वको स्वरूप परिवर्तन गरिरहेका छन् । आज  BRICS को विश्व अर्थतन्त्रमा हिस्सा G7 भन्दा ठूलो भइसकेको छ । स्थानीय मुद्रामा व्यापार, डि–डलराइजेसन र नयाँ वित्तीय संस्थाहरूको उदयले नयाँ आर्थिक क्षितिजको सङ्केत गरिरहेको छ ।
विज्ञानले इतिहासको गति तीब्र बनाइरहेको छ ।
कृत्रिम बुद्धिमत्ताले श्रमलाई बदल्दै छ । रोबोटिक्सले उत्पादनलाई बदल्दै छ । डिजिटल प्रविधिले शक्तिको स्वरूपलाई नै बदल्दै छ । मानवता यस्तो युगमा प्रवेश गरिरहेको छ, जहाँ अल्गोरिदमले बजारलाई र मानव मस्तिष्कलाई,  मेसिनले श्रमलाई र डाटाले  पूँजीलाई पुनः परिभाषित गरिरहेका छन् ।
पुरानो युग अस्ताउँदै छ । नयाँ युग अझै निर्माणको चरणमा छ ।
तर परम्परागत शक्तिहरू यी नयाँ यथार्थ स्वीकार्न तयार छैनन् । उनीहरू जिम्मेवारी बाँड्नुको सट्टा वर्चस्व जोगाउन चाहन्छन् । विश्व “हामी” र “उनीहरू” का रूपमा विभाजित छ । यस्तो विभाजनले शङ्का जन्माउँछ, सहकार्य होइन, टकराव जन्माउँछ, शान्ति होइन, युद्ध जन्माउँछ ।
तर मानवजाति अर्कै बाटोको पर्खाइमा छ ।
विश्वका जनताले शान्ति चाहन्छन् । सहअस्तित्व चाहन्छन् । विकास चाहन्छन् । गरिमा चाहन्छन् । अनेक सभ्यताहरू सँगै फुल्न सक्ने विश्व चाहन्छन् ।
एशिया आर्थिक वृद्धि, नवप्रवर्तन र जनसाङ्ख्यिकीय ऊर्जाको केन्द्र बन्दै छ । चीनको उदय हाम्रो शताब्दीको निर्णायक घटनामध्ये एक हो । उसले करोडौं मानिसलाई गरिबीबाट मुक्त गरेको छ । भारतले पनि विश्वमञ्चमा अझ ठूलो भूमिका खेल्दै छ । यद्यपि, सुल्झिन बाँकी क्षेत्रीय मुद्दाहरूले दक्षिण एसियाली राजनीतिलाई अझै पनि प्रभावित पारिरहेका छन् । 
यस्तो जटिल परिस्थितिमा, हाम्रो आन्दोलन दृढ र अविचलित रहनुपर्छ । हामीले शान्तिको रक्षा गर्नुपर्छ । हामीले सहअस्तित्वको रक्षा गर्नुपर्छ । र, कुनै पनि राष्ट्रलाई अर्को देशको सार्वभौम मामिलामा हस्तक्षेप गर्ने अधिकार छैन भन्ने सिद्धान्तको प्रतिरक्षा गर्नुपर्छ ।
प्रिय कमरेडहरू,
विश्वको सम्पत्ति बढेको बढ्यै छ । तर न्याय बढेको छैन ।
आज पनि करिब एक अर्ब मानिस चरम गरिबीमा बाँचिरहेका छन् । राष्ट्रभित्र र राष्ट्रहरूबीचको असमानता गहिरिँदै गएको छ । पुँजीका लागि सिमानाहरू सहज बनेका छन्, तर श्रमिकहरूले भने असुरक्षा, विस्थापन, र बहिष्करण भोग्नुपर्छ । प्रविधिले फड्को मारेको छ, तैपनि लाखौं मानिसहरू अवसरविहीन छन् । बजारको दायरा त बढेको छ तर मानवीय गरिमा भने उपेक्षित छ ।
यो केवल आर्थिक सङ्कट होइन । यो नैतिक सङ्कट हो ।
समाजवाद नै यस अन्यायको सबैभन्दा मानवीय उत्तर हो । यही असमानताको सबैभन्दा विवेकपूर्ण उत्तर हो । यही वर्तमान सङ्कटको सबैभन्दा आशावादी उत्तर हो ।
आज समाजवाद केही ठाउँमा कमजोर वा रक्षात्मक स्थितिमा हुन सक्छ । तर पराजित भइसकेको छैन । यो विभिन्न राष्ट्रिय अनुभवमार्फत निरन्तर विकसित हुँदैछ । कम्युनिस्ट तथा मजदुर पार्टीहरूले संगठन, शिक्षा र सङ्घर्ष जारी राखेका छन् । 
मार्क्सवाद हाम्रो मार्गदर्शक सिद्धान्त हो ।
यो पुराना सूत्रहरूको सङ्ग्रहालय होइन । यो कठोर सिद्धान्तहरूको कारागार होइन । यो जीवित पद्धति हो । समाजलाई बुझ्ने, शोषणलाई उजागर गर्ने र इतिहासलाई रूपान्तरण गर्ने विधि हो ।
हरेक राष्ट्रको आफ्नै इतिहास हुन्छ । प्रत्येक जनताको आफ्नै संस्कृति हुन्छ । हरेक समाजका आफ्नै अन्तर्विरोध हुन्छन् । त्यसैले समाजवादतर्फको बाटो पनि प्रत्येक राष्ट्रले आफ्नै सन्दर्भमा निर्माण गर्नुपर्छ ।
कम्युनिस्ट घोषणापत्र प्रकाशित भएको समयदेखि विश्व धेरै बदलिएको छ । श्रम बदलिएको छ । पूँजी बदलिएको छ । प्रविधि बदलिएको छ । शक्ति बदलिएको छ । पूँजीवाद डिजिटल, वित्तीय र अल्गोरिदमिक स्वरूपमा विकसित भएको छ । तर शोषण समाप्त भएको छैन । त्यसले केवल नयाँ रूप धारण गरेको छ ।
ठ्याक्कै यही कारणले गर्दा, समाजवादको सान्दर्भिकता घटेको छैन । यो त झन् पहिलेभन्दा अझ बढी अपरिहार्य बनेको छ ।
प्रिय कमरेडहरू,
नेपालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) मार्क्सवाद र जनताको बहुदलीय जनवादद्वारा निर्देशित छ । जनताको बहुदलीय जनवाद नेपाली सन्दर्भमा मार्क्सवादको सिर्जनात्मक प्रयोग हो ।
हाम्रो पार्टी २००७ सालको लोकतान्त्रिक आन्दोलनमा सहभागी भयो । निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध दशकौँसम्म सङ्घर्ष गर्यो । २०६२–६३ को ऐतिहासिक जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्यो । यही सङ्घर्षले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल र समाजवादोन्मुख संविधानको निर्माण गरायो ।
आज एमाले नेपालको कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनको प्रमुख आधारस्तम्भमध्ये एक हो ।
जनताको बहुदलीय जनवादले लोकतन्त्र र सामाजिक न्याय एकापसका विरोधी होइनन्, बरु सहयात्री हुन् भन्ने कुरा प्रमाणित गरिदिएको छ । यसले नवउदारवादी अतिवाद र उग्रवामपन्थी जडसूत्रीय सोच दुबैलाई अस्वीकार गरेको छ । यसले द्वन्द्वलाई लोकतान्त्रिक प्रतिस्पर्धामा र सङ्घर्षलाई संवैधानिक राजनीतिमा रूपान्तरण गरेको छ ।
हाम्रो राष्ट्रिय आकाङ्क्षा सरल छ, तर गहिरो छ—समृद्ध नेपाल, सुखी नेपाली ।
हामी यस्तो राज्य निर्माण गर्न चाहन्छौं, जहाँ विकास जनताका लागि होस्, सरकारले कमजोरको संरक्षण गरोस्, अवसरमा सबैको समान पहुँच होस् र गरिमा प्रत्येक नागरिकको अधिकार बनोस् ।
विदेश नीतिमा हामी सार्वभौम समानता, भौगोलिक अखण्डता, आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्त, पारस्परिक सम्मान र पारस्परिक लाभप्रति प्रतिबद्ध छौं ।
राष्ट्रहरू आकार, सम्पत्ति वा सैन्य शक्तिमा फरक हुन सक्छन् । तर गरिमामा सबै समान छन् । कुनै राष्ट्र सम्मानका लागि सानो हुँदैन । कुनै राष्ट्र न्यायका लागि कमजोर हुँदैन ।
कमरेडहरू,
नेपालले हालै गम्भीर राजनीतिक अस्थिरताको कठिन समय पार गरेको छ । जेन जी (Gen Z) को आन्दोलनका रूपमा सुरु भएको प्रदर्शन, पछि हिंसा र विनाशतर्फ मोडियो । सार्वजनिक संस्थाहरू आक्रमणको निशाना बने । ऐतिहासिक सम्पदाहरू क्षतिग्रस्त भए । लोकतान्त्रिक संरचनाहरू कमजोर बनाइए । निर्वाचित सरकार ढल्यो । संसद विघटन भयो । निर्वाचन अपरिहार्य बन्यो ।
लोकतन्त्रले शान्तिपूर्ण विरोधको अधिकार दिन्छ । असहमत हुने अधिकार दिन्छ । संवैधानिक रूपमा सरकार परिवर्तन गर्ने अधिकार दिन्छ । तर लोकतान्त्रिक संस्थाहरूको विनाशलाई क्रान्ति भन्न सकिँदैन । हिंसा लोकतन्त्रको भाषा हुन सक्दैन ।
देशभित्रको असन्तोषलाई उपयोग गरेर बाह्य शक्तिहरूले राजनीतिक रूपमा अस्थिरता ल्याउन खोजेकोमा हामी धेरै चिन्तित छौँ ।
तर हामीले लोकतन्त्र छाडेनौं । हामी निर्वाचनमा सहभागी भयौं । जनताको निर्णयलाई सम्मान गर्यौं । नेपाली जनताप्रतिको हाम्रो विश्वास अटल छ । उनीहरूले पहिले पनि लोकतन्त्रको रक्षा गरेका थिए । फेरि पनि गर्नेछन् ।
प्रिय कमरेडहरू,
आज इतिहासले हामीलाई एउटा सरल प्रश्न सोधिरहेको छ ।
के हामी भय, प्रभुत्व, र असमानताले शासित संसारलाई स्वीकार गर्छौं ? वा शान्ति, न्याय र मानवीय गरिमामा आधारित विश्व निर्माण गर्नेछौं ?
हाम्रो जवाफ साझा र सामूहिक हुनुपर्छ ।
कम्युनिस्ट तथा मजदुर पार्टीहरूले नयाँ आत्मविश्वास र नयाँ कल्पनाशक्तिका साथ एकताबद्ध हुनुपर्छ । हामीले आफ्ना सफलताबाट सिक्नुपर्छ । आफ्ना कमजोरीबाट पनि सिक्नुपर्छ । हामी अतीतप्रति होइन, भविष्यप्रति इमानदार हुनुपर्छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) विश्वभरका कम्युनिस्ट तथा मजदुर पार्टीहरूसँगको ऐक्यबद्धतालाई गहिरो महत्व दिन्छ । हामी विश्वस्त छौं, हाम्रो कमरेडली सम्बन्ध अझ सुदृढ हुने छ । हामी सँगसँगै शान्ति, समानता, सामाजिक न्याय र मानव मुक्तिको यात्रालाई अगाडि बढाउन सक्छौं ।
भविष्य मुफ्तमा पाइने कुरा होइन । यसलाई आफैं बनाउनुपर्छ । आउनुहोस, हामी सबै मिलेर त्यो भविष्य निर्माण गरौँ । धन्यवाद ।
(नेकपा (एमाले) विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले क्युबाको राजधानी हवानामा आयोजित कम्युनिष्ट तथा मजदुर पार्टीहरूको २४औँ अन्तर्राष्ट्रिय बैठक (EIPCO) मा गर्नुभएको सम्बोधनको पूर्ण पाठः)

 

हामीसँग जोडिनुहोस्