काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण पछि उठेका कूटनीतिक, रणनीतिक र मुलुकको आन्तरिक विषयहरूप्रति बहस हुनु जरूरी छ । प्रधानमन्त्री शाहको भ्रमणलाई कूटनीतिक गहिराइ, राष्ट्रिय एजेन्डा र आन्तरिक राजनीतिक सहमति के हुन सक्छन् भन्ने कोणबाट सही विश्लेषणको जरूरी छ । भ्रमणका क्रममा देखिने गरी भएका सहमति र अदृष्य रूपमा प्रकट हुने कूटनीतिक शैलीले राष्ट्र र राष्ट्रियताको दुरगामी प्रभाव पार्छ ।
‘ग्रेटर नेपाल’को नक्सा काठमाडौं महानगरपालिकाको कार्यालयमा टाँसेर बस्ने तत्कालीन मेयर तथा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको असली कूटनीतिक सम्बन्धको भावी असर के होला ? ‘कूटनीतिक ल्याव’बाटै परिक्षण हुन जरूरी छ । प्रधानमन्त्री बालेन्द्रका ‘अन्धभक्त समर्थक’का लागि कथित क्रमभङ्गका नाममा कूटनीतिक मूल्य मान्यता उल्लङ्घन गर्दा सामान्य र वाही–वाही हुन सक्ला । तर देश, राष्ट्रियताका हिमायतीहरूलाई प्रधानमन्त्री बालेन्द्रले भारत भ्रमणका क्रममा देखाएका क्रियाकलाप अस्वीकार्य छन् ।
जनताले प्रकट गरेको जनमत संविधान भन्दामाथि, कूटनीतिक परम्परा भन्दा अलग, फरक विचारलाई निषेध, लोकतान्त्रिक विधि र पद्धतिका विरुद्ध जानु होइन । राजकीय भ्रमण आफैमा ऐतिहासिक हुन्छन् र बनाउनुपर्छ । कुनै एक व्यक्ति पारिवारिक भ्रमणमा निस्किए जस्तो राजकीय भ्रमण हुनुहुँदैन । राजकीय भ्रमणमा जाने प्रमुख व्यक्ति मात्रै होइन । उसले राष्ट्रको प्रतिनिधित्व गर्छ र सोही बमोजिम सम्झौता, सहमति राष्ट्रको हितमा गरिनुपर्छ ।
राजकीय भ्रमणका एजेन्डा कुनै एक दलको बहुमतबाट निर्मित सरकारको एकलौटी पेवा हुन सक्दैन । अघिल्ला सरकारबाट भारतको राजकीय भ्रमण गर्दा कैयन सहमति, सम्झौता भएका छन् । अनुभवहरू छन् । उनीहरूबाट लिइने सुझाव, सल्लाह, कूटनीतिक प्रबुद्ध व्यक्तिहरूसँग कुनै परामर्श समेत लिइएन । लोकतन्त्रको सुन्दर पक्ष भनेकै फरक विचारहरूबिचको सह–अस्तित्व, आवधिक निर्वाचनमा प्रतिस्पर्धा नै हो । भलै कसैको अनुहार मन नपर्न सक्छ । तर अनुहार मन परेन भन्दैमा उनीहरूले छोएको, गरेका सबै कामलाई माटोमुनी पुर्नुपर्छ भन्ने दिमागले राष्ट्रियता बलियो बन्न सक्दैन ।
कथित पुरानाहरूको कामै छैन भन्ने भाष्यबाट ग्रसित बौद्धिक व्यक्तित्वहरूबाट प्रधानमन्त्री बालेन्द्रको राजकीय भ्रमण ‘सफल’ र ‘क्रमभङ्ग’ भन्नु स्वभाविक होला । तर त्यसको दुरगामी महत्व के भन्ने विषयमा उनीहरूको कुनै तर्क देखिन्न । उनीहरूको विश्लेषण ‘पुरानाले नेपाली सेनाबाट गार्डअफ अनर लिन्थे, नयाँले लिएनन् । पुरानाले तीन–चार दिन लामो भ्रमण गर्थे, अहिलेकाले २५ घन्टा’ मात्रै जस्ता सस्तो लोकप्रियताको तारिफ गरेर कूटनीतिक विषयलाई ओझेलमा पारिएको छ ।
भ्रमणलाई केवल औपचारिकता, घोषणा, रेल–हवाई रुट वा सहयोगका प्याकेजहरूमा सीमित गरिएको छ । लामो समयदेखि अल्झिएका रणनीतिक तथा राजनीतिक विवादलाई पूरै पाखा लगाइएको भ्रमण केवल एक ‘भजन मण्डली’मा मात्रै सीमित भएको छ । परराष्ट्र नीति र छिमेकी मुलुकसँगको उच्चस्तरीय भ्रमणमा आन्तरिक राजनीतिक दल तथा सरोकारवालाबिचको सम्वाद र साझा धारणाको आवश्यकता हुन्छ ।
दुई देशबिच सीमा विवाद देखिएरै प्रबुद्ध व्यक्ति समूह (ईपीजी) बनाएर प्रतिवेदन तयार पारिएको थियो । तर भारतले बुझ्न अस्वीकार गर्यो । भारतले ईपीजीको प्रतिवेदन बुझ्न नमानेपछिको यो राजकीय भ्रमण पहिलो हो । ईपीजीको प्रतिवेदनबारे भारतसँग सिधा छलफल गर्न सक्ने यो राजकीय भ्रमणमा ऐतिहासिक अवसर थियो । तर ईपीजीको प्रतिवेदनबारे कुनै कुरा उठेन ।
भ्रमणको क्रममा ईपीजीको प्रतिवेदन सम्बन्धी कुनै कुरा नउठ्नु लिपुलेक–कालापानी लगायतका सीमा मुद्दा र पुराना सन्धि–सम्झौताको पुनरावलोकन जस्ता विषयमा ठोस र स्पष्ट अडान नहुनु हो । यसले के पुष्टी गर्छ भने, मेयर हुँदा प्रधानमन्त्री बालेन्द्रले कार्यालयमा र रास्वपा सभापति रवि लामिछानेले टेलिभिजन कार्यक्रम स्टुडियोमा ग्रेटर नेपालको नक्सा टाँस्नु नक्कली खोक्रो राष्ट्रवाद थियो ।
ठूला कूटनीतिक भ्रमणमा सत्तापक्ष–प्रतिपक्ष वा प्रमुख दलहरूबिच न्यूनतम समझदारी नहुँदा भ्रमणको सन्देश र स्थायित्वमाथि गम्भीर प्रश्न उठ्ने गर्छ । यही प्रश्नबिच भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहको साथमा ‘देश र देशको ओपनियन’ थिएन । तसर्थ भ्रमण केवल औपचारिकतामै सीमित बनेको छ ।
