detail-img

सुशासन विषयमा छलफल गर्ने प्रतिष्ठानको निर्णय

काठमाडौं । नेकपा (एमाले) नीति तथा अनुसन्धान प्रतिष्ठानले सरकारको न्यूनतम साझा कार्यक्रममा आधारित रहेर आम नागरिकलाई सुशासनको अनुभूति गराउने सन्दर्भमा के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल चलाउने भएको छ । 
पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले यही माघ मसान्तभित्र त्यस विषयमा छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । 
स्वदेश र विदेशमा रहेका नेपालीले सरकारी निकायबाट पाउनुपर्ने सेवा सुविधामा के कस्ता कठिनाई, झन्झट छन् तीनको पहिचान गरी समाधानका लागि सुझाव तयार गरिने छ । 
त्यसैगरी प्रतिष्ठानले सामाजिक सुरक्षाका सन्दर्भमा पार्टीले गरेका काम, समाजवाद उन्मुख राज्यप्रणालीका सन्दर्भमा पार्टीले गरेका कामका सम्बन्धमा अध्ययन अनुसन्धान गरी निष्कर्ष निकाल्ने निर्णय गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक डा.भीष्म अधिकारीले वताउनुभयो । 
बैठकमा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य डा.राजन भट्टराई, डा.युवराज खतिवडा, डा.दिनेशचन्द्र देवकोटा, अजय शर्मा, डा.अञ्जान शाक्य र डा. बी. उप्रेती उपस्थित हुनुहुन्थ्यो ।