detail-img

सभामुखमा एमाले स्थायी कमिटी सदस्य घिमिरे निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । 
उहाँले १६७ मत प्राप्त गर्नुभएको छ भने विपक्षमा १०० मत परेको छ ।  सभामुख निर्वाचनमा प्रतिनिधि सभाका २७५ मध्ये २६८ जना सांसद सहभागी हुनुभएको थियो । 
उहाँलाई नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका साथै तीनजना स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले मतदान गर्नुभएको थियो । 
नवनिर्वाचित सभामुख घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ २०५६ सालमा राष्ट्रिय सभा सदस्य हुनुभएको थियो । उहाँ नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा प्रदेश–१ का इन्चार्ज हुनुहुन्छ ।  २०१३ साल जेठ १३ गते ताप्लेजुङको साविक सिकैँचा गाविस–९ हाल सिरिजङ्घा गाउँपालिका वडा नं ३ मा जन्मनुभएका घिमिरे हाल झापाको अर्जुनधारा नगरपालिका–६ का स्थायी बासिन्दा हुनुहुन्छ । 
सभामुख पदका अर्का उम्मेदवार नेपाली काँग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाउनुभएको छ । उहाँलाई नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरूले मतदान गर्नुभएको थियो ।  एक जना सांसद तटस्थ बस्नुभयो ।