detail-img

एमालेका नेताकार्यकर्ता समाजकाआदर्श हुनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको आर्थिक अवस्था रूपान्तरणबाट मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने वताउनुभएको छ । 
नेकपा (एमाले) केन्द्रीय स्कूल विभागद्वारा आज भक्तपुरको नगरकोटमा आयोजित राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले आजको हाम्रो आन्दोलनको उद्देश्य मानव जीवन र यिनका सन्ततिको सुख हो र हाम्रो आन्दोलन यसमै केन्द्रित छ भन्नुभयोे । 
अध्यक्ष ओलीले आन्दोलनको सफलता र असफलतामा करोडौंको जिन्दगीको सरोकार रहने हुँदा आन्दोलनलाई बेठीक बाटोमा लैजाने गरी कोही पनि नेतृत्वमा बस्न नहुने वताउनुभयो । 
उहाँले पार्टीभित्र सामाजिक तथा सांस्कृतिक विकृति र विश्रृङ्खलता देखिएको र त्यसको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको वताउनुभयो । 
उहाँले नेतृत्वमा रहनेहरूमा विचार, व्यवहार, आचरण र इमानमा कमी हुनुहुँदैन भन्दै कम्युनिष्टमा हुनुपर्ने आचरणका सन्दर्भमा आफू पनि अग्निपरीक्षामा होमिन तयार रहेको वताउनुभयो । 
अध्यक्ष ओलीले आफूलाई नजिकबाट हेर्न र दागधब्बा खोज्न कार्यकर्तालाई चुनौती दिँदै पार्टीका हरेक तहका नेताले पाइलैपिच्छे हुने जाँचमा डिस्टिङ्शन अङ्कका साथ पास हुनुपर्छ भन्नुुभयो । उहाँले समाजका सज्जन र असल मान्छे भन्दा पनि नेकपा (एमाले) का नेताकार्यकर्ताको व्यवहार आदर्श हुनुपर्ने वताउनुभयो ।  
अध्यक्ष ओलीले नेकपा (एमाले) का नेताकार्यकर्ताहरूले विचार र क्षमतामा श्रेष्ठता हासिल गर्नुपर्ने वताउँदै पार्टीले सञ्चालन गर्ने प्रशिक्षणका विषय पनि वैचारिक, सांगठानिक र आचरणसँग सम्बन्धित हुनुपर्छ भन्नुभयो । 
करिव दुईतिहाई बहुमत भएको पार्टीलाई विभिन्न शक्ति लागेर तोडफोड गरिएको अबस्थामा पार्टी बचाउने कार्यकर्ता पङ्तीको प्रशंसा गर्दै अध्यक्ष ओलीले हिजो पार्टी बचाउन लागियो अब पार्टी निर्माणको चरणमा आइपुगेका छौं भन्नुभयो । 
नेपालको कम्युनिष्ट आन्दोलन एकता, एकीकरण गरेर एउटा उचाईंमा पुगेको अवस्थामा घेराबन्दी भएको वताउँदै अध्यक्ष ओलीले हामी सानो शक्ति भए पनि मानव जातिको सुखद भविष्यको सिद्धान्त अँगालेर अगाडि बढेका कारण विश्वव्यापी घेराबन्दी भएको हो भन्नुभयो । 
आफू सबै कुरामा सम्पन्न हुने र अरूलाई रोक्ने विश्वव्यापी शक्तिसङ्घर्ष चलिरहेको वताउँदै उहाँले भन्नुभयो– त्यही शक्ति सङ्घर्ष अन्तर्गत हामीलाई विकासमा रोक्ने, बाटो, रेलमार्ग, सुरूङ मार्ग बनाउन नदिने, फलाम खानी सञ्चालन गर्न, पेट्रोल उत्पादन गर्न नदिने, साधन स्रोत, विज्ञान प्रविधिमा सम्पन्न हुनबाट रोक्ने काम भए । 
उहाँले निर्वाचनमा अपेक्षित सफलता प्राप्त नभए पनि अहिले पार्टीले राजनीतिक र रणनीतिक कौशल देखाएको उहाँको भनाई छ । 
अध्यक्ष ओलीले भन्नुभयो– अब पार्टीलाई वैचारिक र सांगठानिक रूपमा चुस्त दुरूस्त बनाउनुपर्छ । पार्टी निर्माणको यो काम ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो गन्तव्यमा पुग्नका लागि हो । 
मानव जीवनको सम्पूर्ण चेष्टा र मेहनत सुख प्राप्तिका लागि भएको र जैविक तथा प्राकृतिक रूपमा मानवीय आवश्यकता परिपूर्ति भएमात्र सुख प्राप्त हुने चर्चा गर्दै अध्यक्ष ओलीले समग्र मानव जातिको सुखका लागि साम्यवाद प्रतिपादन गरिएको वताउनुभयो । 
उहाँले भन्नुभयो– केहीबर्षदेखि क्षतविक्षत पारिएको पार्टीलाई २०७७ पुस ५ पछि फटाफट व्यवस्थित गर्दा, पार्टीको संगठनात्मक पुनर्संरचना गर्दा संगठन अलि अलि मोटाएको र अलि अलि सुनिएकाले त्यसलाई ठीक पार्नुपर्छ । 
अध्यक्ष ओलीले पार्टीमा प्रशिक्षण जरूरी रहेको समयमा स्कुल विभागले त्यो कामलाई अगाडि बढाइरहेको वताउँदै चाहेको नतिजासहित सफलताको कामना गर्नुभयो ।


वैचारिक रूपान्तरण एकदमै जरूरीः ज्ञवाली
सो अवसरमा पार्टीका उपमहासचिव तथा केन्द्रीय स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले राष्ट्रिय कार्यशालाका बारेमा प्रकाश पार्नुभएको थियो । 
उपमहासचिव ज्ञवालीले पार्टीको संगठन विस्तारसँगै गुणवत्ता कमजोर देखिएको यथार्थ प्रस्तुत गर्दै वैचारिक रूपान्तरण एकदमै जरूरी रहेको वताउनुभयो । 
पार्टीका हरेक नेताकार्यकर्ताले आफूलाई वैचारिकरूपमा निरन्तर अपडेट गर्दै जानुपर्नेमा वैचारिक काम पातलिँदै गएको अनुभव गरिएको वताउँदै उपमहासचिव ज्ञवालीले अब स्कूलको कामलाई जनसंगठन, पार्टीको प्रदेश र जिल्लास्तरमा कसरी व्यवस्थित गर्ने कार्यशालामा छलफल गरी कार्ययोजना बनाइने जानकारी गराउनुभयो । 
पार्टीमा तल्ला कमिटीमा स्कुलिङको अवस्था के छ ?, वैचारिक क्षेत्रका समस्या, संगठनका समस्या, कार्यशैलीमा देखापरेका समस्या र अन्तरविरोधमा समस्याबारे पनि छलफल गरिने उहाँले वताउनुभयो । 
उहाँले पार्टीको केन्द्रीय स्कूल विभागको पाठ्यक्रम र निर्देशिकाबारे र पार्टीको स्कूललाई कसरी नमूना बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिने वताउनुभयो । उद्घाटन सत्रको कार्यक्रम सञ्चालन पार्टीका केन्द्रीय सदस्य तथा स्कूल विभाग सचिव पेम्वा लामाले गर्नुभएको थियो । 
दुईदिने कार्यशालामा पार्टीका सबै जिल्ला कमिटी र प्रदेश कमिटीका स्कूल विभाग प्रमुख र पार्टीको केन्द्रीय स्कूल विभागका सदस्यहरूको सहभागिता रहेको छ । 
आज पार्टीको स्कूल विभाग प्रमुख ज्ञवालीले स्कूल विभागको पाठ्यक्रम र स्कूलको ढाँचा विषयमा अवधारणा प्रस्तुत गर्नुभई समूह विभाजन गरी छलफल गरिएको छ भने दोस्रो दिन सोमबार महासचिव शंकर पोखरेलले पार्टी स्कूल सञ्चालनका सन्दर्भमा प्रशिक्षण दिनुहुने कार्यतालिका रहेको छ ।