detail-img

‘एमालेको काँधमा समृद्ध देश निर्माणको ऐतिहासिक अभिभारा’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध देश निर्माणको ऐतिहासिक अभिभारा र जिम्मेवारी एमालेको काँधमा रहेको वताउनुभएको छ । 
नेकपा (एमाले) केन्द्रीय स्कुल विभागद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजित विशेष अनुशिक्षण कार्यक्रममा उक्त अभिभारा पूरा गर्न पार्टी संगठन र नेताकार्यकर्ता निष्ठाका साथ समर्पित हुनुपर्ने वताउनुभयो । 
केही समययता आन्दोलनका विभिन्न धारबाट नेकपा (एमाले) मा समाहित हुनुभएका नेताकार्यकर्ताहरूका लागि आयोजित वैचारिक तथा सांगठानिक प्रशिक्षणका रूपमा आयोजना गरिएको अनुशिक्षणमा अध्यक्ष ओलीले एमाले कस्तो पार्टी हो र यसको उद्देश्य के हो ? कसरी अगाडि बढ्छ, वैचारिकरूपमा बुझ्नु जरूरी छ भन्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– हाम्रो उद्देश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा सफल पार्ने रहेको छ । हामी त्यसका लागि काम गर्छौं । त्यस उद्देश्यमा रहेको पार्टीका नेताकार्यकर्ताको व्यवहार, आचरण र कार्यशैली शालीन हुनुपर्छ । एमालेका नेताकार्यकर्ता समाजका आदर्श बन्नुपर्छ । हाम्रा सबै क्रियाकलाप समाज स्वीकार्य हुनुपर्छ । 
अध्यक्ष ओलीले उत्कृष्ट विचार अपनाउँदै, संगठन शुद्धीकरण र सुदृढीकरण गर्दै अगाडि बढ्दा जनताका मुद्धालाई उठाउने, जनताका समस्या समाधान गर्ने काममा पार्टीलाई केन्द्रित गर्न सक्छौं भन्नुभयो ।

 
 ‘एमालेलाई बचाउन काँध थाप्नुहुने कमरेडहरू भरपर्दा योद्धा’

विशेष अनुशिक्षणका बारेमा प्रकाश पार्दै पार्टीका उपमहासचिव तथा केन्द्रीय स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले नेकपा (एमाले) सरकारमा रहेको समयमा नभई एमालेलाई सिध्याउने उद्देश्यका साथ चौतर्फी घेराबन्दी गरिरहेको समयमा एमालेलाई बचाउनुपर्छ भनेर पार्टी प्रवेश गर्नेहरूप्रति आभार प्रकट गर्नुभयोे । 
एमालेलाई आजको अवस्थामा ल्याइपुर्याउन काँध थाप्नुभएका नवप्रवेशी कमरेडहरूको व्यवस्थापनमा निर्वाचनको व्यस्तताका कारण केही ढिलाई भए पनि अब पार्टीले भरपर्दो योद्धाका रूपमा अगाडि बढाउने वताउनुभयो । 
उपमहासचिव ज्ञवालीले भन्नुभयो– ठूलो चक्रव्यूह खडा गरी एमालेरूपी आगोलाई निर्वाचनको माध्यमबाट निभाउने दुस्प्रयास भएको थियो । यसलाई तेजिलो र रापिलो बनाउने काममा नवप्रवेशीहरुले गर्नुभएको योगदानका लागि पार्टी आभार प्रकट गर्दछ ।  
दुई दिने प्रशिक्षण कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, पोलिटव्यूरो सदस्य इश्वरी रिजाल लगायत नेताहरूले प्रशिक्षण दिनुहुने छ । 
प्रशिक्षणमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना र एमालेको इतिहास, पार्टीको दशौं महाधिवेशनको कार्यदिशा, विभिन्न राजनीतिक दल र एमालेबीचको अन्तर, भू राजनीति, छिमेकी देशको उन्नति र प्रतिस्पर्धाबाट नेपालमा परेको प्रभाव, राष्ट्रिय हित लगायत विषयमा प्रशिक्षण दिइने छ । 
यस विशेष अनुशिक्षणपछि विगतमा फरक, फरक संस्कार, संस्कृति, विचार, कार्यशैली अपनाउनुभएका र अहिले एमालेमा प्रवेश गर्नुभएका नेताकार्यकर्ता एउटै लयमा हिड्न मद्दत पुग्ने विश्वास गरिएको छ । 
अनुशिक्षणमा अन्य पार्टीबाट प्रवेश गर्नुभएका केन्द्रीय सदस्य, वर्तमान सांसद, पूर्व सांसद, प्रदेश कमिटी, जिल्ला कमिटी सदस्यका साथै स्थानीय तहमा निर्वाचित हुनुभएका कमरेडहरूको सहभागिता रहेको छ ।