detail-img

काँग्रेसले दिएको विश्वासको मत ‘शिकारी बाघको सुनको बाला’ जस्तोः अध्यक्ष 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई नेपाली काँग्रेसले दिएको विश्वासको मतमा दुराशय रहेको वताउनुभएको छ । 
अध्यक्ष ओलीले तटस्थ र साझा चरित्रका पदहरू सभामुख र उपसभामुखमा पङ्गा लडाउन आउने काँग्रेसले प्रधानमन्त्रीमा हठात विश्वासको मत दिनु भनेको यो व्यवस्था, प्रणाली र राजनीतिक स्थिरतामा खिचलो ल्याउन खेलेको खेल हो भन्नुभयो । 
 प्रतिनिधि  सभाको २०७९ माघ २२ गतेको बैठकमा सम्वोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो– प्रधानमन्त्री, राष्ट्रपति लगायत मुख्य पदहरूमा आफू बाहेक अरूको नेतृत्वलाई स्वीकार गर्न नसकेर प्रतिपक्षमा पुगेको नेपाली काँग्रेसले सरकार गठन भइसकेपछि सरकारलाई हठात विश्वासको मत दियो । काँग्रेसको यो व्यवहारलाई उसले सरकारमाथि विश्वास गरेको मान्न सकिंदैन, बरु राष्ट्रपति र सभामुख लगायतका पदको निर्वाचनमा खिचलो खडा गर्ने उसको दुराशय प्रष्ट देखिन्छ । 
काँग्रेसका कतिपय नेताहरूले एउटा लोककथाको शिकारी बाघले झैं आफ्नो दुराशयलाई खुलेआम व्यक्त गर्दै आउनुभएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– लोककथामा एउटा बाघले एउटी महिलालाई झम्टेर मार्छ र खाइदिन्छ । ती महिलाले हातमा सुनको बाला लगाएकी हुन्छिन् । तिनलाई सिध्याएपछि बाघले गाउँका अरु महिलालाई त्यो सुनको बालाको लोभ देखाएर ‘अब मलाई यो सुनको बाला के काम, आएर लैजानू’ भन्छ । सुनको बालाको लोभमा जो नजिक पुग्यो उसैलाई बाघले शिकार बनाउँछ । अहिले नेपाली काँग्रेसले सरकारलाई दिएको विश्वासको मत त्यही शिकारी बाघले देखाएको सुनको बालाजस्तै हो । यो व्यवस्था, प्रणाली र राजनीतिक स्थिरतामा खिचलो ल्याउन काँग्रेसले खेलेको खेल हो, सुनको बालामा आकर्षित भएर सरकारमा रहेका दलहरूले आफ्नो असामयिक अन्त्य रोज्न सक्दैनन् । यसमा कुनै दुविधा छैन । 
प्रदेशहरूमा पनि दल हेरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने र सभामुख उपसभामुखमा पनि उम्मेदवारी दिने वा नदिने फोहोरी र अराजनीतिक चरित्र देखाएको वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– काँग्रेसले संसदीय प्रणालीसँग असङ्गत यी सबै कृत्यहरू खिचलोका लागि गरेको थियो । यसमा सहमति, सहकार्यको एकरत्ति पनि सदाशयता छैन ।