detail-img

देश बर्बाद बनाउने शक्ति अहिले पनि स्थिरता कायम हुन नदिने प्रयासमा छः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद बनाउने शक्ति अहिले पनि क्रियाशील रहेको बताउनुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औं राष्ट्रिय महाधिवेशनको मंगलबार काठमाडौंमा उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन भत्काइए पनि संसदको बनावट अस्थिरता निम्त्याउने खालको रहेको हुँदा स्थिरता र स्थायित्व कायम हुन नदिने प्रयास भइरहेको वताउनुभयो । 
राजनीति सोझो रेखामा मात्र नहिँड्ने र राजनीतिमा उतार चढाव आउनसक्ने वताउँदै अध्यक्ष ओलीले वर्तमान सरकार गठन भएबाट उत्साहित र प्रसन्न पार्टीका नेताकार्यकर्तालाई देशभित्र र बाहिरका अनेक शक्ति यो देश बर्बाद पार्न क्रियाशील रहेका र देशको रक्षाको लागि गेटपालेको भूमिकामा रहेको नेकपा (एमाले) माथि विगतमा जस्तै प्रहार हुनसक्नेतर्फ सचेत गराउनुभयो ।  
अध्यक्ष ओलीले नेकपा (एमाले) राष्ट्रियता, राष्ट्रिय हित, राष्ट्रिय  गौरव र स्वाभिमानको प्रतिनिधि भएको वताउँदै सत्तामा पुग्न र सत्ता टिकाउन यी कुनै पनि कुरा नछाड्ने र नलत्रिने दृढता व्यक्त गर्नुभयो । उहाँले नेकपा (एमाले) राष्ट्रियता र मातृभूमिको रक्षक हो भन्नुभयो ।


अनेरास्ववियुको गौरवपूर्ण इतिहासको चर्चा गर्दै अध्यक्ष ओलीले विचारमा स्पष्टता, अनुशासित, एकताबद्ध र सक्रिय संगठन भएको पार्टी निर्माण गर्ने आधारका रूपमा रहेको अनेरास्ववियुको महाधिवेशनमा उच्चस्तरीय समझदारीका बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।  
उहाँले लोकतान्त्रिक अभ्यासलाई बुझेर उन्नत स्तरको अभ्यास गर्न पनि आग्रह गर्नुभयो । 
अध्यक्ष ओलीले महाधिवेशनबाट निर्माण हुने अनेरास्ववियुको नेतृत्व र सन्देशले नै आसन्न स्वतन्त्र विद्यार्थी युुनियनको निर्वाचनमा विजय निर्धारण गर्ने हुँदा त्यसतर्फ पनि ध्यान पुर्याउन आग्रह गर्नुभयो । 
अध्यक्ष ओलीले अनेरास्ववियुको महाधिवेशनका साथै आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा  अनेरास्ववियुको विजयका लागि पनि शुभकामना दिनुभयो । 
उहाँले भन्नुभयो– अनेरास्ववियुले स्ववियु निर्वाचनमा छक्का हान्न सकोस् । 
अध्यक्ष ओलीले अनेरास्ववियु विद्यार्थी राजनीतिको, विद्यार्थी आन्दोलनको मात्र मूल धार नभई नेपाली राजनीतिको गौरवपूर्ण इतिहास भएको संगठन भएको चर्चा गर्दै अनेरास्ववियुले महत्वाकाङ्क्षा होइन, राष्ट्रिय आकाङ्क्षा बोक्नुपर्छ भन्नुभयो । 
करिव दुईतिहाई बहुमतमा पुगेको पार्टीलाई पार्टीभित्रैका विभिषणहरूले ध्वस्त पारेको अवस्थामा पार्टीलाई जोगाएर आजको अवस्थामा ल्याइपुर्याउन विद्यार्थीहरूले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिनुका साथै अध्यक्ष ओलीले  अखिलका नेताहरूलाई देश  र समाजको भलाई हुन्छ भने साना मसिना कुरामा नअल्झिई त्याग गर्न तयार हुनुपर्छ भन्नुभयो ।


मसानघाटमा पुगेको प्रेत व्युताउने कुरा किमार्थ स्वीकार्य  छैनः महासचिव पोखरेल  
सो अवसरमा पार्टीका महासचिव शंकर पोखरेलले मसानघाटमा पुगेको प्रेतलाई व्युताउने प्रयास भइरहेको र त्यो किमार्थ स्वीकार्य छैन भन्नुभयो । 
उहाँले वर्तमान चुनौतीहरूलाई परास्त गर्न वैचारिक तथा राजनीतिक रूपमा खडा हुन सक्ने अनेरास्ववियु अहिलेको आवश्यकता भएको भनाई राख्नुभयो । 
अनेरास्ववियुको २३औं महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहनुभएका महासचिव पोखरेलले वर्ग सङ्घर्षको केन्द्रीय थलो चुनावी सङ्घर्ष भएकाले अब निर्माण हुने संगठन त्यस हिसावले अब्बल र प्रभावकारी हुनुपर्ने वताउनुभयो । 
महासचिव पोखरेलले महाधिवेशनबाट नेतृत्व चयन गर्दा आफूलाई केन्द्रमा राखेर होइन, आन्दोलनको भविष्यलाई केन्द्रमा राखेर नेतृत्व चयन गर्न सुझाउनुभयो । 
उहाँले अनेरास्ववियुको यस महाधिवेशनबाट  बाहिरिने विद्यार्थी नेताहरूलाई पार्टी राजनीतिमा, देश बनाउने अभियानमा सक्रिय बनाइने वताउनुभयो ।

 
उद्घाटन सत्रमा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, केन्द्रीय सदस्य तथा अनेरास्ववियुका इन्चार्ज माधव ढुंगेल लगायत नेताहरूले शुभकामना दिनुभएको थियो । 
उद्घाटन सत्रको समापनका अवसरमा अध्यक्षता गरिरहनुभएकी अनेरास्ववियुकि अध्यक्ष सुुनिता बरालले नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालको अध्यक्षतामा नौ सदस्यीय अध्यक्ष मण्डल घोषणा गर्नुभएको थियो । 
अध्यक्षमण्डलमा विनोद ढकाल, खिमलाल भट्टराई, माधव ढुंगेल, रचना खडका, किशोरविक्रम मल्ल, नवीना लामा र ऐन महर र सुनिता बराल सदस्य हुनुहुन्छ । महाधिवेशन पर्सि फागुन ४ गतेसम्म चल्ने छ ।