detail-img

पोखराका तीनवटा वडाको कार्ययोजना तयार 

पोखरा । नेकपा (एमाले) को मिसन ग्रासरूट अभियानअन्तर्गन पोखरा महानगरपालिकाका तीन वटा वडाको बैठक सम्पन्न भएको छ । 
वडा नम्बर १०, २५ र २६ मा एमाले वडा कमिटी बैठक सम्पन्न भएको हो । केन्द्रीय सदस्य मायानाथ अधिकारीको उपस्थितिमा वडा नम्बर १० मा सूर्यबहादुर थापा, २५ मा ऋषिराम पौडेल र वडा नम्बर २६ मा आरसी तिमिल्सिनाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा केन्द्रीय सदस्य अधिकारी लगायतका नेताहरूले प्रशिक्षण दिनुभएको थियो । यस्तै, बैठकले अभियानअन्तर्गतका आगामी कार्ययोजनाहरू तय गरेको छ । 
नवलपुरमा अभियानलाई तिब्रता
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुरले ‘मिसन ग्रासरुट’ लाई तिब्रता दिएको छ । 
नवलपुर जिल्लामा हालसम्म छ वटा पालिकामा पालिकास्तरीय भेला सम्पन्न भएको छ । जिल्लाको देवचुली नगरपालिका, गैंडाकोट नगरपालिका, बौदिकाली गाउँपालिका, हुप्सेकोट गाउँपालिका र बुलिङटार गाउँपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ भने बिहीबारदेखि केही पालिकाहरूको वडाभेला समेत शुरु भएको छ ।


अभियानअन्तर्गत विहीबार नवलपुर जिल्लाको पहाडी बुलिङटार गाउँपालिकामा मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को थालनी गरिएको छ । पार्टी केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रतिनिधि जमिन्द्रमान घलेको उपस्थिति र पार्टीको बुलिङटार गाउँ कमिटीका अध्यक्ष मनवीर पुलामीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 
अभियानका लागि पालिका कमिटीले चैत पहिलो हप्तादेखि मिसन ग्रासरुट सञ्चालन गर्ने निर्णय गरेको अभियानका लागि गण्डकी प्रदेश कमिटीका प्रतिनिधि एवम् गण्डकी प्रदेश कमिटी सदस्य गोपेन्द्र केशरी न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेकाअनुसार मिसन ग्रासरुटलाई प्रभावकारी बनाउन गाउँ कमिटीका पदाधिकारी र कमिटी सदस्यहरूलाई वडाको जिम्मेवारी प्रदान गरिएको छ ।
केन्द्रीय प्रतिनिधि घलेले पार्टीलाई चलायमान बनाउन र तल्लो तहसम्म पुर्याउन अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले पार्टीलाई जीवन्त र क्रियाशील बनाउन सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्रदान, वडा तथा टोल कमिटी गठन, पुनर्गठन गर्दै पार्टीलाई चलायमान बनाउने बताउनुभयो । 
कार्यक्रममा प्रदेश कमिटी सदस्य टंकनाथ गिरी, नेकपा (एमाले) नवलपुर जिल्ला उपसचिव दोयमनाथ आचार्य र भीम कँडेल, जिल्ला सचिवालय सदस्य दिपकचन्द्र बस्ताकोटी र श्याम श्रेष्ठ, जिल्ला कमिटी सदस्यहरू विद्रोही गिरी, कृष्ण नेपाली, शालिकराम वाग्ले, छविलाल ओझा लगायतको उपस्थिति रहेको थियो ।