detail-img

समृद्ध नेपाल बनाउन एमाले बलियो शक्ति बन्नुपर्नेः गुरूङ 

काठमाडौं । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत देशभर सबै जिल्ला, पालिका र वडाहरूमा समेत विभिन्न कार्यक्रम हुने क्रम तीब्र बनेको छ । 
यसैक्रममा शनिबार (२०७९ फागुन ४ गते) पनि विभिन्न कार्यक्रमहरू भएका छन् । 
काठमाडौंमा मिसन ग्रासरुट अन्तर्गत नेकपा (एमाले) लमजुङ–काठमाडौं सम्पर्क मञ्चले विस्तारित बैठक तथा प्रशिक्षणात्मक भेला आयोजना गर्यो । 
पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्य र मञ्चका अध्यक्ष दीपकबाबु बरालको अध्यक्षतामा भेला आयोजना गरिएको हो । 
भेलामा उपमहासचिव गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेकपा (एमाले) मुलुकमा बलियो शक्ति बन्नुपर्ने बताउनुभएको छ । संसदमा नेकपा (एमाले) लाई एक नम्बरको ठूलो पार्टी बनाएर समृद्ध नेपाल बनाउने अभिभारा पूरा गर्नुपर्ने बताउनुभयो । 
परम्परागत भन्दा सिर्जनशील शैली अपनाएर पार्टीलाई अघि बढाउनुपर्ने उहाँको विचार छ । 
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य लालबाबु पण्डितलगायत नेताहरूले प्रशिक्षण दिनुभएको थियो भने पार्टी केन्द्रीय सदस्य कल्पना थापा, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य गणेश पाण्डे, बेसीशहर नगर कमिटी अध्यक्ष राजकुमार विष्ट लगायतको उपस्थिति रहेको थियो ।