detail-img

नागार्जुनमा अभिमुखीकरण सम्पन्न 

काठमाडौं । नेकपा (एमाले) को मिसन ग्रासरुट अन्तर्गत नेकपा (एमाले) नागार्जुन नगर कमिटीद्वारा स्थानीय तहका जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरियो ।
कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्यद्वय रघुजी पन्त र काशी नाथ अधिकारीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि तुलसा दाहालको पनि उपस्थिति रहेको थियो ।
दोलखा
दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं. ३ वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी पोलिटव्युरो सदस्य कमल चौलागाईंको उपस्थिति र वडा कमिटीका अध्यक्ष राजन थापाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । 
बैठकले वडामा पार्टीे सुदृढीकरणका लागि सङ्गठित सदस्यता नवीकण तथा वितरणलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने तथा अभिमुखीकरण र प्रशिक्षणलगायत कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । 
बैठकमा बाग्मती प्रदेश कमिटी सचिवालय सदस्य एवम् जिल्ला इञ्चार्ज ईश्वरचन्द्र पोखरेल र प्रदेश कमिटी सदस्य टेक घतानीलगायत नेताहरूको सहभागिता थियो । 
चितवन 
चितवनको कालिका नगरपालिका वडा नं. ११ वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । केन्द्रीय कमिटी सदस्य जानुका सिम्खडाको उपस्थिति र वडा कमिटीका अध्यक्ष विष्णुलाल प्रजाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । 
बैठकले चैत १२ गतेदेखि २० गतेसम्म टोल–टोलमा टोल भेला गरी टोल कमिटी गठन गर्ने निर्णय गरेको छ । बैठकमा पुरुषोत्तम न्यौपाने, अच्युतराज पन्त, दिलीपचन्द्र घिमिरे शान्ति अधिकारी, टीकाराज रिजाल, भीष्मराज खनाल, ज्योति सुनुवार, दीपक परियार, केशव लामा र कृष्णबहादुर प्रजाको उपस्थिति रहेको थियो ।

धादिङ
यसैगरी, मिसन ग्रासरुट अन्तर्गत धादिङ जिल्लाका विभिन्न वडाहरूमा विस्तारित बैठक सञ्चालन भइरहेका छन् । यसैबीच, गंगाजमुना गाउँपालिका वडा नम्बर २ मा पार्टीको वडास्तरीय विस्तारित बैठक तथा भेला सम्पन्न भएको छ । 
केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठको उपस्थितिमा वडास्तरीय विस्तारित बैठक सम्पन्न भएको नेकपा (एमाले) गंगाजमुना गाउँपालिका कमिटीका अध्यक्ष भक्तबहादुर लामिछानेले जानकारी दिनुभयो । 
वडा स्तरको भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य श्रेष्ठले नेकपा (एमाले) गरिब, मजदुर, किसान, महिलाको पार्टी भएकाले यसप्रति सबैको भरोसा रहेको बताउनुभयो । एमालेले मात्रै राष्ट्रियता र अखण्डताको सुरक्षा गर्ने धारणा उहाँले  व्यक्त गर्नुभयो । 
बैठकमा पार्टीका प्रदेश कमिटी सदस्य ध्रुब विक, जिल्ला कमिटी सचिव अर्जुन श्रेष्ठ, जिल्ला कमिटी सदस्य बलबहादुर अधिकारी, बाबुराम न्यौपाने, गंगाजमुना गाउँपालिका कमिटीका अध्यक्ष भक्तबहादुर लामिछाने लगायत नेताहरूले सम्बोधन गर्दै वृहत अभियानमा सहभागी हुन पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । 
बैठकले टोलकमिटी गठन गर्ने, वडा स्तरमा किसान, विद्यार्थी, युवा लगायतको जनसंगठन निर्माण गर्ने, पार्टी सदस्यता नवीकरण तथा नयाँ वितरणका लागि विस्तारित कार्ययोजना पनि बनाएको छ ।
यसैबीच, धादिङकै नीलकण्ठ नगरपालिकामा वडा नम्बर ७ मा पनि वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । 
केन्द्रीय सदस्य कैलाश ढुङ्गेलको उपस्थितिमा बैठक सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै ढुङ्गेलले नेकपा (एमाले) मात्रै जनताको पार्टी भएकाले सम्पूर्ण जनतालाई नेकपा (एमाले) मा गोलबन्द गराउनुपर्ने बताउनुभयो ।
यो समय नेकपा (एमाले) को लागि बाली लगाउनु अगाडि माटो तयार गरे जस्तै समय भएकाले अबको निर्वाचनमा नेकपा (एमाले) लाई पहिलो पार्टी बनाउन आजदेखि नै कार्याकर्ताहरू जनताको घरघरमा जानुपर्ने र उनीहरूका समस्या समाधानका लागि पहल गर्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो । बैठकलाई प्रदेश कमिटी सदस्य नरेश खतिवडा, ईश्वरी अधिकारी, जिल्ला उपसचिव राधिका सापकोटा, जिल्ला सदस्य भरत ढुङ्गाना र नीलकण्ठ नगरकमिटी अध्यक्ष हरि श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । 

रामेछाप 
मिसन ग्रासरूट अभियानअन्तर्गत रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ को वडा भेला एवं प्रशिक्षण कार्यक्रम बेथानमा सम्पन्न भएको छ । केन्द्रीय सदस्य कपिल पोख्रेलको उपस्थितिमा  सम्पन्न भेलाले वडाका नौ वटै टोलमा टोल कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि बैठकले कार्य विभाजन समेत बनाएको छ । 
कार्यक्रममा पोखरेलले विश्व कम्युनिष्ट आन्दोलन, नेपालमा कम्युनिष्ट पार्टीको स्थापना, कम्युनिष्ट पार्टीको विगत, वर्तमान र भविष्य, जनताको बहुदलीय जनवादको मार्गदर्शन र समाजवादको यात्राको बारेमा प्रशिक्षण दिनुभएको थियो । 
बैठकमा बाग्मती प्रदेश कमिटी सदस्यहरू टंक चौलागाईं र श्यामकृष्ण श्रेष्ठले पनि प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । पार्टी शुद्धीकरण र सदस्यता नवीकरण तथा नयाँ सदस्यको आवेदन सङ्कलनको काम सुरु गरिएको नेकपा (एमाले) सुनापति गाउँ कमिटी संगठन विभाग प्रमुख राज मैनालीले जानकारी दिनुभएको छ ।