detail-img

कास्कीको रूपा गाउँपालिकामा ज्येष्ठ नागरिकको सम्मान

पोखरा । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत नेकपा (एमाले) रूपा गाउँपालिका वडा नं ५ कमिटीको आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा लामो समयदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुभएका ज्येष्ठ नागरिक र सेल्टरदाताहरूलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ । कार्यक्रममा स्थायी कमिटी सदस्य अधिकारीले मिसन ग्रासरुट देशैभर चलिरहेको र यसले नेता र कार्यकर्ताबीचको सम्बन्धलाई कसिलो बनाउँदै पार्टीलाई सुदृढ र बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।


आगामी निर्वाचनमा एमालेको एकल बहुमतसहितको बलियो जितका लागि सबै नेता कार्यकर्ताहरू अहिलेबाटै खटिनुपर्ने अधिकारीको भनाइ थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै कम्युष्टिहरूलाई एक बनाएर बलियो कम्युनिष्ट शक्ति बनाउने प्रयत्न गरे पनि नामका मात्रै कम्युनिष्टहरूले कांग्रेस बोकेर हिँडेको उहाँको भनाइ थियो । 
कास्कीको पोखरा महानगरपालिकाको ३३ नम्बर वडा कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । गण्डकी प्रदेश कमिटीका उप–सचिव रश्मि आचार्यको उपस्थिति र वडा कमिटी अध्यक्ष दीपकराज लामिछानेको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकलाई सम्बोधन गर्दै आचार्यले सुदृढ पार्टी, सबल र सक्षम कार्यकर्ता निर्माण गरी विकासको अगुवाइ गर्ने अभियान मिसन ग्रासरूट भएको भन्दै जनताका गुनासा र समस्या समाधानमा एमालेलाई प्रमुख सहयात्री बनाउने उल्लेख गर्नुभयो । 
बैठकमा पार्टीका कास्की जिल्ला कमिटी सचिवालय सदस्य शिवप्रसाद आचार्य, जिल्ला कमिटी सदस्य किसान सुनार लगायतले अभियान र अबको कार्यभार सम्बन्धमा मन्तव्य व्यक्त गर्नुभएको थियो । 
बैठकले अभियानलाई वडाका टोल टोलमा समेत प्रभावकारी रूपले अगाडि बढाउने कार्ययोजना तयार पारेको वडा कमिटीका कार्यवाहक सचिव रमेशराज आचार्यले जानकारी दिनुभयो ।
म्याग्दी 
यसैगरी, मिसन ग्रासरूट अन्तर्गत म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ मा पोलिटब्युरो सदस्य मनकुमारी जिसीको उपस्थिति र टेकबहादुर थापाको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । बैठकले बस्ती र जनतासम्म जाने कार्यक्रम तय गरेको छ । यस्तै बैठकले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न जनताका पिरमर्कामा एकाकार भएर लाग्नुपर्नेमा जोड दिएको छ ।