detail-img

नेकपा (एमाले) सरकार गिराउने खेलमा लाग्दैनः महासचिव पोखरेल

घोराही । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल १० दलीय गठबन्धनको सरकारको भविष्य स्पष्ट नरहेको बताउनुभएको छ । 
प्रेस चौतारी नेपाल दाङ शाखाले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि नभई निहित स्वार्थमा बनेको गठबन्धन जनताको हित विपरीत रहेको वताउनुभयो । 
जति धेरै दलहरुको गठबन्धन उति धेरै अस्थिरता हुने विगतको अभ्यासले पुष्टि गरेको हुँदा  सरकारमा सामेल दलहरु बीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले नेकपा (एमाले) बलियो प्रतिपक्षीका रुपमा रहेकाले यो समय पार्टी संगठन बलियो बनाउन र जनताका मुद्दा उठान गर्ने अवसरका रुपमा लिएको बताउनुभयो । देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार टिक्ने गरी अघि बढ्नसक्नुपर्ने सत्तारुढ दलहरुलाई उहाँको सुझाव छ । अस्थिरताले कोही कसैको भलो नगर्ने हुँदा गहिरिँदो आर्थिक सङ्कट समाधान गर्दै बलियो राष्ट्र बनाउनेतर्फ केन्द्रित हुनुपर्ने महासचिव पोखरेलको भनाई छ । 
महासचिव पोखरेलले फरक स्वार्थ र मुद्दा बोकेका दलहरु आफ्नो स्वार्थ भन्दा माथि उठेर देश बनाउन नलागे मध्यावधि निर्वाचन हुनसक्नेतर्फ सङ्केत गर्दै आफ्ना कमजोरी सुधार्दै पाँच वर्ष स्थिर सरकार चलाउन सचेत गराउनुभयो ।
पछिल्लो समय बढ्दो राजनीतिक अराजकता र स्थिरता, साँस्कृतिक, धार्मिक क्षेत्रमा बढ्दो हस्तक्षेप तथा विभिन्न वाह्य शक्तिको हस्तक्षेपले मुलुकको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्व कमजोर बनाउने खेल अहिलेको सत्ता साझेदार दलहरुबाट भइरहेकाले  आम नागरिकले बलियो खबरदारी गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 
प्रेस चौतारी दाङ शाखा अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेकपा (एमाले) सरकार गिराउने खेलमा नलाग्ने बताउँदै पार्टी संगठन थप बलियो बनाउन र बलियो राष्ट्रिय शक्तिका रुपमा उभ्याउन केन्द्रित हुने भनाई राख्नुभयो ।