detail-img

जुम्लाको पातारासीमा अगुवा कार्यकर्ता भेला 

जुम्ला । नेकपा (एमाले) को मिसन ग्रासरूट अन्तर्गत जुम्लाको पातारासी गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलको प्रमुख आतिथ्य र पालिका कमिटी अध्यक्ष विष्णु बुढाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कँडेलेले प्रशिक्षण दिनु भएको थियो भने केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका पार्टी केन्द्रीय सदस्यद्वय विष्णु रिजाल र नगिन्द्र शाही (नेसनल), जिल्ला कमिटीका अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य जयबहादुर खत्री, हंसबहादुर बुढा, नन्दबहादुर खत्री लगायत नेताहरूले मन्तव्य राख्नुभएको थियो ।
यसैगरी, जुम्लाको चन्दननाथ नगरपालिका–१०, पिपलगाउँमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिनुभएका पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालको उपस्थिति र वडा कमिटी अध्यक्ष दिलबहादुर शाहीको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलाले वडामा भइरहेको सदस्यता नवीकरणको समीक्षा गर्दै बाँकी कामका लागि कार्यविभाजन गरेको छ । भेलालाई सम्बोधन गर्दै पार्टीको केन्द्रीय प्रचार विभाग उपप्रमुखसमेत रहनुभएका रिजालले अहिलेको सरकार जनविरोधी रहेको कुरा सरकारको एकपछि अर्को निर्णयले पुष्टि गरिरहेको बताउनुभयो ।
मुस्ताङमा बौद्ध विश्वविद्यालयका नाममा मुलुकलाई विदेशीको अखडा बनाउने, भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगर्ने, कृषि मलमा अनुदान घटाउने जस्ता जनविरोधी निर्णयहरू नेकपा (एमाले) कै दबाबका कारण रोकिएको उहाँले बताउनुभयो ।
यस्तै, मिसन ग्रासरूट अभियानअन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिकामा पार्टीका जनप्रतिनिधिहरूको बैठक सम्पन्न भएको छ ।
पार्टी स्कुल विभाग सदस्य गेहेन्द्र दाहालको उपस्थितिमा सम्पन्न बैठकले प्रेमबहादुर पछाईंलाई गाउँ सभादलको नेता र उप नेतामा विमला भण्डारीलाई निर्वाचित गरेको छ ।