detail-img

नेकपा (एमाले) का नेताकार्यकर्ताले संगठनको शक्तिमा विश्वास गर्नुपर्छः गुरूङ

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नेपालमा लोकतन्त्र, सामाजिक न्याय र राजनीतिक अधिकारको पक्षमा बोल्ने र विचारलाई तरङ्गित पार्ने पहिलो कम्युनिष्ट पार्टी नेकपा (एमाले) भएको बताउनुभएको छ । 
‘मिसन ग्रासरुट’ अन्तर्गत शनिबार प्रेस चौतारी नेपाल बाग्मती प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसिएट प्रदेशले भक्तपुरमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले एमालेले बोकेको विचार र दृष्टिकोणबाट नेपालमा कम्युनिष्ट आन्दोलन फस्टाइरहेको बताउनुभयो । 
संसारभरिका कम्युनष्टिहरू सङ्कटमा परेर लखेटिइरहेको अवस्थामा नेपालमा कम्युनिष्टले नै सरकार बनाउनु ठूलो उपलब्धि भएको चर्चा गर्दै जनताको बहुदलीय जनवादलाई जनताको बीचमा लैजानुपर्ने र त्यसको मर्मबारे मसिनोगरी बुझाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । 
नेपालमा एमालेले माक्र्सको रुढीवादी विचार र सिद्धान्तलाई छोडेर सिर्जनात्मक कुरालाई अनुशरण गर्दा तत्कालीन समयमा कम्युनिष्टले निर्वाचन जित्नेमात्र नभई सरकार नै बनाउन सक्ने उपलब्धि हासिल भएको उपमहासचिव गुरुङको भनाइ छ ।
उहाँले भन्नुभयो– हामीले नेपालको परिस्थिति अनुसार माक्र्सको सिर्जनात्मक कुरालाई अनुशरण गरेर जनताको बहुदलीय जनवादी क्रान्ति गर्ने भन्यौँ । लोकतन्त्रको मूलभूत सिद्धान्तलाई स्वीकार गर्ने भन्यौँ । नागरिकको अधिकार ग्यारेन्टी गर्ने भन्यौँ । मौलिक अधिकार ग्यारेन्टी गर्ने भन्यौँ । यसरी बोल्ने पहिलो कम्युुनष्टि पार्टी नेकपा (एमाले) हो । यो कुराले विचारको क्षेत्रमा ठूलो कम्पन सिर्जना गर्यो र त्यतिबेलै वा भनौँ छोटै समयमा त्यो उपलब्धि हासिल गर्यौँ ।
त्यसकारण जनताको बहुदलीय जनवाद (जबज)लाई जनताको बीचमा लैजानुपर्ने र त्यसको मर्मबारे जनतालाई मसिनोगरी बुझाउनुपर्ने आवश्यकता अझै रहेको उहाँको भनाइ छ ।
उपमहासचिव गुरुङले संगठन बलियो भयो भने जहाँ–जहाँ प्रभाव पर्नुपर्ने हो त्यहाँ नेतृत्व लिन सकिने चर्चा गर्दै एमालेका नेता तथा कार्यकर्ताहरूले संगठनको शक्तिमा विश्वास गर्नुपर्नेमा जोड दिनुभयो । संगठनको शक्तिको मुख्य स्रोत भनेको विचार भएको बताउँदै कस्तो विचार र त्यसको उद्देश्य के हो भनेर आफू स्पष्ट हुँदै अरुलाई पनि स्पष्ट पार्नुपर्ने विचार व्यक्त गर्नुभयोे ।