detail-img

मिसन ग्रासरुटले निर्वाचनमा एकल बहुमत ल्याउन आधार तयार गर्ने विश्वास 

पाल्पा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान दश दलीय गठबन्धन सरकार बाह्य शक्तिको इसारामा चलिरहेको हुँदा यसले देश र जनताको पक्षमा काम नगर्ने वताउनुभएको छ । 
नेकपा (एमाले) पाल्पा जिल्ला कमिटीद्वारा मंगलबार तानसेनको दमकडामा आयोजित जिल्लास्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दल दलीय गठबन्धन सत्ताको लुछाचुडिमा केन्द्रित रहेकाले यसलाई जनताको पक्षमा काम गर्नुपर्छ भन्ने कुरामा ध्यानै छैन भन्नुभयो । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाह्य शक्तिको इसारामा सत्ता गठबन्धन परिवर्तन गरेकाले नेपाल र नेपाली जनताको पक्षमा काम नगर्ने भनाई अध्यक्ष ओलीले राख्नुभयो । 
उहाँले देशको विकास, समृद्धि र जनताको हितमा काम गर्न नेकपा (एमाले) को एकल बहुमतको सरकार बनाउने अवस्था सिर्जना गर्नुपर्ने वताउँदै त्यस दिशामा केन्द्रित भई पार्टी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।


नेकपा (एमाले) लाई नेपालका पार्टीहरू मध्ये सिंहजस्तै र दश दलीय गठबन्धनलाई स्यालको वथानका रूपमा चित्रण गर्दै अध्यक्ष ओलीले भन्नुभयो– जङ्गलमा स्यालहरू कताबाट सिंहले आक्रमण गर्ने हो भन्ने डरले वथानमा हिड्ने गर्छन्, त्यसरी नै दश दलीय गठबन्धन पनि कताबाट आक्रमण हुने हो भनी डराई डराई बथानमा हिड्ने गर्छ । 
अध्यक्ष ओलीले पछिल्लो समय एमालेका विरूद्ध चौतर्फी आक्रमण र घेराबन्दी भइरहे पनि एमाले एक्लै लडिरहेको र एक्लै लड्न सक्ने सामर्थ्य भएको पार्टी हो भन्नुभयो ।  
अध्यक्ष ओलीले नेकपा (एमाले) को नेतृत्वमा बनेको सरकारले जनमुखी काम गरेको वताउँदै अहिले बामपन्थी हौं भन्नेहरू सत्तामा टिक्न र सत्ताको दोहनका लागि दक्षिणपन्थीसँग गला मिलाइरहेको भनाई राख्नुभयो ।

अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताउनुभएको छ । प्रधानमन्त्री भएर धेरै काम गरिसकेको चर्चा गर्दै उहाँले फेरि पनि प्रधानमन्त्री बन्ने चाहना नभएको बताउनुभएको हो । आफू प्रधानमन्त्री बने पनि नबने पनि देश जोगिनुपर्ने र देशको रक्षा हुनुपर्ने उहाँको भनाइ छ । यस्तै, उहाँले दश दलीय गठबन्धनले देशको भूमि मिचिने क्रम पुनः सुरू भए पनि देशका बारेमा केही बोल्न नसकेको बताउँदै गठबन्धनको सम्पूर्ण शक्ति एमालेविरुद्ध परिचालन भइरहेको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा कायम रहेको देशको सिमाना अहिले खुम्चिन थालेको उहाँको भनाइ छ । उहाँले पार्टी विघटन गरेर छिन्नभिन्न भएको अवस्थामा पनि एमाले लोकप्रिय मतका आधारमा पहिलो पार्टी बन्न सफल भएको वताउँदै पार्टीलाई यस अवस्थामा ल्याउन योगदान गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
अध्यक्ष ओलीले पार्टी कब्जा गर्न नसकेपछि माधव नेपाल र प्रचण्डले पार्टी फुटाए पनि एमालेलाई कमजोर बनाउन नसकेको बरु आफूहरू नै सिद्धिने अवस्थामा पुगेको वताउनुभयो । 
अध्यक्ष ओलीले पार्टी सुदृढीकरणका लागि सञ्चालन गरिएको मिसन ग्रासरुट कार्यक्रमले आगामी निर्वाचनमा एमालेले बहुमत पाउने आधार तयार गर्ने विश्वास व्यक्त गर्दै राष्ट्र, राष्ट्रियता र जनताका जनजीविकाका पक्षमा काम गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको वताउनुभयो ।  
भूमिगत कालमा पार्टी काममा रहँदा पाल्पामा सेल्टर लिनुभएका अध्यक्ष ओलीलाई आजको कार्यक्रममा  पाल्पाली ढाकाको कोट, ढाकाटोपी र पाल्पाली करुवा प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, पोलिटव्यूरो सदस्यहरू खिमलाल भट्टराई र ठाकुर गैरे लगायत नेताहरूले प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो । नेकपा (एमाले) पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मिसन ग्रासरुटका लागि लुम्विनी प्रदेशमा खटिनुभएका पार्टीका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको पनि  उपस्थिति रहेको थियो ।

 

पाल्पा दरबार सङ्ग्रहालय अवलोकन

यसैबीच, अध्यक्ष ओलीले पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । यस्तै दमकडा माध्यमिक विद्यालय र मदनपोखरा संगम सहकारी संस्थाको पनि अवलोकन गर्नुभएको छ । उहाँका साथमा पत्नी राधिका शाक्य, पार्टीका नेताहरू उपमहासचिव प्रदीप ज्ञवाली लगायत हुनुहुन्थ्यो । अध्यक्ष ओलीले पाल्पाको ऐतिहासिक रानीमहलको पनि अवलोकन गर्नुभयो ।