एमाले आज

लुम्बिनी– काठमाडौं सम्पर्क कमिटी बैठकः बाढीपीडितको उद्धारका निम्ति पहल गर्ने निर्णय

सेयर गर्नुहोस्

१५ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले) लुम्बिनी–काठमाडौं सम्पर्क कमिटीले बाढीपीडितको उद्धार तथा राहतका लागि विशेष निर्णय गरेको छ ।
नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छविलाल बिश्वकर्माको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलसमेत उपस्थितिमा प्रदेश नेताहरू सहभागी भएको बैठकले तीन वटा निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार लुम्बिनी सम्पर्क कमिटी र भूगोलका नेताहरू सम्मिलित बैठकले बाढीमा परेका प्रदेशवासीलाई सघाउन पहलकदमी लिने योजनासहित अघि बढ्ने निर्णय बैठकले गरेको छ ।
बैठकले लुम्बिनी प्रदेशबाट बाढीमा परेका दाजुभाइ दिदीबहिनीको तथ्याङ्क सङ्कलन गर्ने र उद्धारको निम्ति पहल गर्ने पहिलो निर्णय गरेको छ । यस्तै घाइतेहरूको उपचारमा आवश्यक हुने रगतका लागि रक्तदान कार्यक्रमको आयोजना गर्ने र लुम्विनी प्रदेशका कमिटी र सम्पर्क कमिटीहरूको आन्तरिक पहलमा राहत सङ्कलन गरी पार्टी केन्द्रमार्फत सरकारको राहत कोषमा बुझाउने निर्णय गरेको छ ।
बैठकमा पार्टीका सचिव तथा प्रदेश इञ्चार्ज बिश्वकर्माले प्रदेशका नागरिकको पीडामा मल्हम लगाउनु एमालेका प्रत्येक नेता–कार्यकर्ताको दायित्व भएको भन्दै उद्धार र राहतमा नेतृत्व गर्न आग्रह गर्नुभएको थियो ।

 

हामीसँग जोडिनुहोस्