detail-img

वैचारिक क्षेत्रको कामलाई विशेष ध्यान दिन आग्रह

पोखरा । नेकपा (एमाले) की सचिव पद्माकुमारी अर्यालले बुद्धिजीवीहरूले वैचारिक क्षेत्रको काममा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । 
मिसन ग्रासरुट अन्तर्गत पेशागत महासंघ र बुद्धिजीवी परिषदले पोखरामा आयोजना गरेको पेसाकर्मी बुद्धिजीवी भेला तथा नयाँ वर्ष २०८० को शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले समाजमा अराजकता र अनुशासनहीनता बढ्दै गएकाले बुद्धिजीवीहरूले विचारको क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको हो । 
लोकतन्त्र प्राप्तिको आन्दोलनमा बुद्धिजीवी वर्गको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उहाँले समाजमा अराजकता र अनुशासनहीनता बढेको तथा संस्कार हराउँदै गएको सन्दर्भमा बुद्धिजीवीहरूले मूल्यमान्यता स्थापित गर्न समाजमा सकारात्मक सोचको विकास गर्न लगातार लाग्नुपर्ने धारणा राख्नुभयो । 
कार्यक्रममा स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पनि अभिमुखीकरण गर्नुभएको थियो ।
पोखरामा ३४ जना ज्येष्ठ कम्युनिष्टको सम्मान 
यसैगरी, पोखरा महानगरपालिका वडा नम्बर १२, २० र २६ मा सपथ ग्रहण, ज्येष्ठ कम्युनिष्ट सम्मान र नयाँ  बर्षको शुभकामना कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य मायानाथ अधिकारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा वडा नम्बर १२ का ४६ जना, २० का ९५ जना र वडा नम्बर २६ का ३४ जना जेष्ठ कम्युनिस्टलाई सम्मान गरिएको केन्द्रीय सदस्य अधिकारीले जानकारी दिनुभयो । 
मुक्तिक्षेत्र गाउँपालिकामा विस्तारित बैठक 
यस्तै, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य श्रीमाया थकालीको उपस्थिति र कमिटीका अध्यक्ष रिङजीन नामगेल गुरुङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।


बैठकमा केन्द्रीय सदस्य थकाली, गोविन्दबहादुर नेपाली र जिल्ला अध्यक्ष आश बहादुर थकालीले मिसन ग्रासरुटको आवश्यकता र महत्वका बारेमा दिशानिर्देश गर्नुभएको थियो । 
बैठकबाट वैशाख २३ गतेबाट सुरु हुने गरी वडास्तरको विस्तारित बैठक आयोजना गर्ने, सदस्यता नवीकरण तथा विस्तारको  काम अगाडि बढाउने, जनसंगठनको पालिकास्तरको बैठक राख्ने र वैशाख २५ गते पालिकास्तरको समीक्षा बैठक आयोजना गर्ने कार्ययोजना निर्माण गरिएको छ । बैठकले पार्टीको तर्फबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ र उपाध्यक्ष ढिकी गुरुङ उपनेता रहनुभएको २० सदस्यीय सभादल गठन गरेको छ ।