detail-img

अध्यक्षमाथि आक्रमण प्रयासको प्रधानमन्त्रीले जवाफ दिनुपर्छः नेकपा (एमाले)

काठमाडौं । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीमाथि कोशी प्रदेशका विभिन्न जिल्ला भ्रमणका क्रममा  अबाञ्छित तत्वबाट भएको आक्रमणको दुष्प्रयास र ठाउँ ठाउँमा अवरोध खडा गरी आतङ्क सिर्जना गर्न भइरहेका गतिविधिलाई गम्भीर रूपमा लिन सरकारलाई चेतावनीयुक्त ध्यानाकर्षण गराएको छ । 
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पार्टी कार्यालय, च्यासल, ललितपुरमा आकस्मिक रूपमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी अध्यक्ष ओली झापामा कार्यकर्ता भेटघाटमा जाने कुराको जानकारी स्थानीय प्रशासनलाई भएर  पनि सुरक्षा सतर्कतामा ध्यान नदिएको जनाएको छ । 
पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव विष्णु रिमालले झापा घटनामा प्रशासन मुकदर्शक भएको वताउनुभयो । 
उपमहासचिव रिमालले भन्नुभयो– अध्यक्ष ओलीमाथि आक्रमणको दुष्प्रयास गर्ने उच्छृङ्खल र अराजक समूहलाई प्रशासनले न त घटना अघि नियन्त्रणमा लियो, न त घटनापछि पक्राउ गरी कारवाही अगाडि बढायो, प्रशासन मुकदर्शक बन्यो । 
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका कार्यकर्ता घटनामा संलग्न छन् भन्ने जानकारी प्राप्त भएबाट आफूहरूलाई अझ गम्भीर बनाएको वताउँदै उपमहासचिव रिमालले अध्यक्ष ओलीमाथि भएको आक्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनुपर्ने बताउनुभयो ।  
कुनै पनि विषयमा असहमति राख्ने, विरोध जनाउने जस्ता कुराहरू लोकतन्त्रमा स्वाभाविक भए पनि शीर्ष नेतालाई आक्रमण प्रयास तथा सडकमा अनावश्यक अवरोध सिर्जना गरेर आतङ्कित बनाउने कुराले  पार्टीलाई गम्भीर बनाएको वताउँदै उपमहासचिव रिमालले मुलुकलाई अराजकतातर्फ लैजान गरिएका यसखालका गतिविधि तत्काल नियन्त्रण गरी  सर्वसाधारण नागरिकलाई समेत सुरक्षाको प्रत्याभूति दिलाउनेतर्फ गम्भीर बन्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो । 
उहाँले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न राज्य असफल भयो भन्ने निष्कर्षका साथ पार्टीले आफ्ना नेताको सुरक्षा आफै गर्नुपर्छ भन्ने निर्णयमा पुग्नु नपरोस् भनी चेतावनी समेत दिनुभयो । 
देशको शान्ति सुरक्षाको स्थिति विग्रिएको, राजधानीमा दिनदहाडै महिलाको हत्या भएको, सङ्कटउन्मुख अर्थतन्त्रको डरलाग्दो चित्र देखिँदै गएको तर वर्तमान गठबन्धन सरकार यि सबै विषयमा सुधार गर्ने भन्दा उल्टो बाटो हिडिरहेको उहाँको भनाइ छ । 
उपमहासचिव रिमालले नेकपा (एमाले) लार्ई सरकारको समीकरण बदल्ने कुरामा कुनै चासो नरहेको तर सरकारले बेठीक गर्दा चुप लागेर नबस्ने स्पष्ट गर्दै नेकपा (एमाले) ले मुलुक जोगाउन संसदमा सशक्त भूमिका निर्वाह गर्ने वताउनुभयो । उहाँले नेकपा (एमाले) विकासका लागि मुलुकमा राजनीतिक स्थिरता कायम होस् भन्ने चाहन्छ तर वर्तमान गठबन्धन सरकारबाट देशको अर्थतन्त्रलाई अझ ओरालोतर्फ लैजाने हरकत भइरहेको भन्दै राज्यमाथि बढ्दै गएको आर्थिक दायित्वको तथ्याङ्क सुनाउनुभयो ।  
उपमहासचिव रिमालले भन्नुभयो– काम सम्पन्न भइसकेका परियोजनाको भुक्तानी, शिक्षकको पेन्सन भुक्तानी, निजामती कर्मचारीको पेन्सन भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण, राज्यले तिर्नुपर्ने ऋणको साँवा व्याज गरी एक खर्ब २० अर्ब रुपियाँ अनिवार्य दायित्व भुक्तानीमा ध्यान दिने भन्दा सरकार अयोग्य लडाकूलाई भत्ता वितरण गर्न लाग्दैछ । अयोग्य लडाकूलाई पैसा बाँड्ने काम राजनीतिको रोटी सेकाउने काम हो ।
उपमहासचिव रिमालले स्थानीय तहमा पठाउनुपर्ने समानिकरण बजेट ४४ अर्बमध्ये सरकारले आधा कटौती गर्न लागेको वताउँदै यसको असरका रुपमा अर्को महिना स्थानीय तहका कर्मचारीलाई तलब ख्वाउन सकिएन भन्ने समाचार सुन्नुपर्यो भने आश्चर्य मान्नु पर्दैन भन्नुभयो । पत्रकार सम्मेलनमा पार्टीका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमण के को सङ्केत हो, प्रधानमन्त्रीले संसदमार्फत जवाफ दिनुपर्ने वताउनुभयो । 
सचिव भट्टराईले कोशी प्रदेश नामाकरणको निर्णय प्रदेश सभाले गरेको र त्यसमा मुख्यमन्त्रीले नेपाली कांग्रेसका सभापति र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रीसँग समन्वय गरेर निर्णयमा पुगेको स्पष्ट गर्दै विरोध जुन शैलीमा भइरहेको छ, त्यसको निन्दा गर्छौं भन्नुभयो । उहाँले कोशी प्रदेश नामाकरणको विरोधमा भइरहेका गतिविधिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले आगोमा ध्यू थपिरहेको आशङ्का व्यक्त गर्नुभयो । 
सचिव भट्टराईले मुलुकमा अराजकता मच्चाएर राज्य असफल पार्ने र आफ्नो दलीय स्वार्थ पूरा गर्न सकिन्छ कि भन्ने दुष्प्रयास स्वरुप यि घटना भइरहेका त होइनन् ? प्रश्न गर्दै नेकपा (एमाले) ले प्रतिवाद गर्नुपर्यो भने चर्को गर्नसक्छ भन्दै एमाले र यसका नेतामाथि आक्रमण, अवरोध नगर्न चेतावनी दिनुभयो ।