detail-img

अध्यक्षद्वारा तेह्रथुममा बहुप्राविधिक शिक्षालय भवन उद्घाटन 

तेह्रथुम । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासका काम रोकिएको बताउनुभएको छ ।
तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा निर्माण गरिएको तेह्रथुम बहुप्राविधिक शिक्षालय भवनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू सरकारबाट बाहिरिएपछि विकासका काम रोकिएको वताउनुभयो । 
मुलुकको अर्थतन्त्र डावाडोल भएको, शान्ति सुरक्षाको स्थिति विग्रेको र सरकार आफै समाप्त हुन लागिरहेको हुँदा आफूले वर्तमान गठबन्धन सरकारका बारेमा धेरै आलोचना नगर्ने वताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– आफै मर्न लागेको सरकारलाई विरोध गरेर किन अबगाल लिने ? मैले गर्दा पो हो कि भन्ने किन गराउने ? गठबन्धन सरकार आफैँ समाप्त हुँदैछ ।


उहाँले हेर्दा हेर्दै देश बर्बाद हुन दिनुभएको छैन, देश कसरी सम्हाल्ने भन्ने कुरामा एमाले गम्भीर छ भन्नुहुँदै देशलाई अघि बढाउन सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले देश विकासको लागि आफू दत्तचित्तका साथ लाग्ने वताउनुभयो ।  
उहाँले आठराईमा कृषि र पशुपालनको राम्रो सम्भावना रहेको र यहाँका राम्रो उत्पादन हुने जमीन बाँझो राखिएका र तिनको उपयोग गर्न सुझाउनुभयो ।
सो शिक्षालय भवन निर्माणका लागि अध्यक्ष  ओलीको नाममा स्थापना भएको ट्रष्टले जग्गा दान गरेको थियो । ट्रष्टको अध्यक्ष ओली पत्नी राधिका शाक्य हुनुहुन्छ । 
प्राविधिक शिक्षालयमा तीन वर्षदेखि कृषि र पशु स्वास्थ्यतर्फ डिप्लोमा कक्षा सञ्चालन हुँदै आएको छ । 
कार्यक्रममा पार्टीका उपाध्यक्ष सुवास नेम्वाङ, अध्यक्ष ओली पत्नी राधिका शाक्य लगायत नेताहरूको उपस्थिति रहेको थियो ।  कार्यक्रममा उपाध्यक्ष नेम्वाङले पनि सम्वोधन गर्नुभएको थियो । 
अध्यक्ष ओलीले शुक्रबार नै आठराईमा खानेपानी योजनाको पनि शिलान्यास गर्नुभएको छ । सो योजना बनेपछि गाउँमा खानेपानीको समस्या समाधान हुने उहाँले बताउनुभयो ।