detail-img

ममाथि निरन्तर आक्रमण प्रयास हुँदा पनि सरकार मुकदर्शक बन्योः अध्यक्ष ओली 

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकार मुकदर्शक बनेको वताउनुभएको छ । 
यही बैशाख १३ देखि १६ गतेसम्म कोशी प्रदेशका झापा, इलाम, पाँचथर र तेह्रथुममा आयोजन गरिएका विभिन्न कार्यक्रममा सहभागी भई आज राजधानी फर्कनुभएका अध्यक्ष ओलीले आफूमाथि आक्रमण प्रयास भएको र घटनामा सत्तारुढ दलकै कार्यकर्ताको संलग्नता रहेको वताउनुभयो । 
अखिल नेपाल किसान महासंघको ७३औं स्थापना दिवसका अवसरमा आईतबार तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजित कार्यक्रम अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लामा सत्तारुढ दलकै कार्यकर्ताहरूले ढुङ्गामुढा गरेको बताउनुभयो ।
‘हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोजे, बाटो छेक्न खोजे, रुख ढालेर छेक्न खोजे, कहीँ ढुङ्गा हान्ने, कहीँ भिडन्त गर्न आउने गरेको वताउँदै अध्यक्ष ओलीले  सरकारले त्यस्ता उदण्ड र अराजनीतिक गतिविधिलाई नियन्त्रण नगरेको वताउनुभयो । 
जहाँ गयो हरेक ठाउँमा उही एउटै समूहले आफूमाथि आक्रमण प्रयास गरेको उहाँको भनाइ छ । प्रहरीलार्ई धक्का दिँदा र गालीगलौज गर्दा केही नहुने, केही नगर्ने भएपछि उनीहरूको मनोबल बढेको अध्यक्ष ओलीले वताउनुभयो ।



अध्यक्ष ओलीले महाकाली सन्धि नेकपा (एमाले) ले नेपालको हित हुने गरी सच्याएको स्प्ष्ट गर्नुभयो ।  नेपालको कम्युनिष्ट आन्दोलनमा केशरजङ्ग रायमाझीको प्रसङ्ग जोड्दै अध्यक्ष ओलीले राजतन्त्र फटाहा र बुद्धि नभएका, दलाल र स्वार्थीहरूले मान्ने वताउनुभयो । 
नेपालको किसान आन्दोलनमा मोहन विक्रम सिंह र निर्मल लामाले फाटो ल्याएको प्रसङ्ग जोड्दै अध्यक्ष ओलीले फाटोवादीहरूले अल्मल्याएका किसानलाई अलमलबाट मुक्त गरेर संगठित गर्न अखिल नेपाल किसान महासंघलाई निर्देशन दिनुभयो । 
उहाँले भन्नुभयो– किसानका बीचमा संगठन विस्तारसँगै सदस्यहरूलाई अनुशासित बनाउने काममा लाग्नुस् । किसानले कहिल्यै कामबाट फुर्सद नपाउने र उनीहरूले कहिल्यै विदा नपाउने चर्चा गर्दै किसानलाई संगठित गर्ने काम सजिलो नभएको धारणा उहाँले राख्नुभयो । 
कृषि क्षेत्रमा ६० प्रतिशत मानिस संलग्न रहेको हाम्रो मुलुकमा किसान संगठन किसानका घर घरमा पुग्नुपर्ने वताउँदै अध्यक्ष ओलीले किसान संगठनलाई महिलाका बीचमा विस्तार गर्दा दिगो हुने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले किसान नेताहरूलाई परिचयपत्र देखाएर होइन, कृषिकर्ममा नमूना बनेर किसान नेता बन्न सुझाउनुभयो ।

नेताहरू बोहोरा र वडाल सम्मानित
कार्यक्रममा पार्टी विभाजनसँगै किसान आन्दोलन पनि विभाजित भएको अवस्थामा महासंघको नेतृत्वमा रहेर किसान आन्दोलनमा विशिष्ट योगदान पुर्याउनुभएका नेताहरू अमृतकुमार बोहोरा र केशव वडाललाई सम्मान गरिएको थियो । 
महासंघका अध्यक्ष प्रेम दंगालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार कमिटीका अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोजका अध्यक्ष केशव वडाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो । 
२००८ सालमा तुल्सीलाल अमात्यको संयोजकत्वमा किसान संघको स्थापना भएको हो । महासंघको भर्खरै सम्पन्न सातौं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक पनि यससँगै सम्पन्न गरिएको छ । हिजो शनिवार र आज गरी सम्पन्न बैठकले कार्ययोजना निर्माण, कार्यविभाजन लगायतका निर्णय गरेको छ । बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयासको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेको महासंघका उपमहासचिव सरिता भुसालले वताउनुभयो ।