detail-img

अहिले एमालेको प्राथमिकताको विषय सरकार होइनः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिलेको अवस्थामा सत्ता समीकरण फेरबदल गरी सरकारमा जाने कुरा पार्टीको प्राथमिकताको विषय नभएको वताउनुभएको छ । 
मुलुकको भविष्य एमालेको प्राथमिकताको विषय भएको स्पष्ट गर्दै महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरताको दुष्चक्र तोडिनुपर्छ भन्ने मान्यताका साथ २०८४ को निर्वाचनमा स्पष्ट बहुमत ल्याउने लक्ष्यका साथ पार्टीले योजनाबद्ध ढङ्गले काम गरिरहेको स्पष्ट गर्नुभयो । 
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीकोे मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को समीक्षा बैठक तथा समापन कार्यक्रमलाई शुक्रबार (२०८० बैशाख २२ गते) सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान गठबन्धन सरकारले जनताका अपेक्षा पूरा गर्न नसक्ने वताउनुभयो । 
उहाँले मुुलुकको वर्तमान राजनीतिक अस्थिरता र त्यसले निम्त्याएका समस्या, विग्रँदो अर्थतन्त्रका मुख्य दोषी आफ्नै पार्टी नेकपाको करिब दुईतिहाई बहुमतसहितको सरकार ढाल्ने र पार्टी विभाजन गरी कांग्रेसलाई सत्ता सुम्पने पात्रहरू भएको वताउनुभयो । 
महासचिव पोखरेलले भन्नुभयो– देशको आजको हालतका मुख्यदोषी वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल हुन्, जसले आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई सत्ता बुझाउने काम गरे । 
तत्कालीन संसदले जनमत अनुसार काम नगरेपछि नयाँ जनमतमा जाने प्रधानमन्त्रीको कदमलाई रोकेर अर्को गल्ती अदालतले गरेको उहाँको भनाइ छ । 
महासचिव पोखरेलले मुलुकलाई अस्थिरतातिर लैजान गम्भीर षडयन्त्र भइरहेको र त्यसप्रति हामीसबै जति गम्भीर हुनुपर्ने हो, भइरहेका छैनौं भन्नुभयो । उहाँले अस्थिरताका लागि पुराना र ठूला दलमाथि लगाइने आरोप गलत भएको बताउँदै  एसियामा अस्थिरता पैदा गर्ने योजना अन्तर्गत विश्वशक्ति राष्ट्रहरूले नेपालमा अस्थिरता सिर्जना गर्न  ठूलो लगानी गरिरहेको स्पष्ट गर्नुभयो । 
राजनीतिक अस्थिरताले नेपाली समाजलाई पछाडि धकेल्ने उहाँको भनाइ छ । 
महासचिव पोखरेलले माओवादी केन्द्रसँग गरिएको पार्टी एकीकरण पार्टीका लागि दुर्भाग्य सावित भएको वताउँदै पार्टी एकता प्रक्रियाका क्रममा संगठनमा समस्या सिर्जना भएको र वैचारिक शून्यताको अवस्थामा पुगिएका कारण त्यसको पीडा अहिले भोगिरहेको स्पष्ट गर्नुभयो ।  
दुईमहिने मिसन ग्रासरुटले पार्टीलाई पुरानो लयमा फर्काउन केही हदसम्म काम गरेको वताउँदै महासचिव पोखरेलले नेता र कार्यकर्ताबीचको सम्बन्ध कायम गर्न यस अभियानले महत्वपूर्ण काम गरेको र यसैगरी कार्यकर्ता र जनताबीचको सम्बन्ध कायम गरिने छ भन्नुभयो ।


महासचिव पोखरेलले पार्टी सुदृढीकरण तथा विस्तारका लागि सञ्चालन गरिएको मिसन ग्रासरुटले निष्क्रिय रहेका कार्यकर्तालाई हिँडाउने काम गरेको र हिडिरहेकालाई दौडाएको वताउनुभयो । 
२०६२÷६३ को आन्दोलनबाट राजनीतिक व्यवस्थाको परिवर्तन भए पनि समाज परिवर्तनका काम बाँकी रहेको वताउँदै कम्युनिष्ट क्रान्तिकारीहरूले राजनीतिक परिवर्तनमा गरेको योगदान जस्तै समाज परिवर्तनमा पनि योगदान गर्नुपर्ने भनाइ  महासचिव पोखरेलको छ । 
उहाँले अब पार्टीपङ्तीमा विचारधारात्मक काम हुने वताउँदै कार्यकर्ताका लागि वैचारिक, राजनीतिक प्रशिक्षण सञ्चालन गरिने स्पष्ट गर्नुभयो । 
नेपाल राष्ट्रलाई कमजोर बनाउने तत्वहरूले नेपालीलाई यति चञ्चल र अस्थिर बनाए कि छ महिना नपुग्दै भएको निर्वाचनमा आफ्नो मत परिवर्तन गरेको भनाइ महासचिवले राख्नुभयो । 
विगत केही समय जनताका सरोकारका विषयमा जनताका साथमा हुने कुरामा कमी रहेका कारण जनतासँगको सम्बन्ध टुटेको वताउँदै उहाँले भन्नुभयो– मिसन ग्रासरुटबाट जनताका मुद्दा के हुन् भन्ने बुझ्ने अवसर प्राप्त भएको छ, अब पार्टीपङ्ती ति मुद्दामा जनताका साथमा रहन्छ । राजधानीजस्तो राज्यको अधिकतम स्रोत लगानी भएको ठाउँमा पनि जनतामा परिवर्तनको हुटहुटी देखिएको तर त्यसको सही नेतृत्व कसले गर्छ भन्ने कुरामा भ्रम रहेको महासचिवको विष्लेषण छ । 
उहाँले भन्नुभयो– दुईचारवटा काम गर्नेहरू अहिले सेलिब्रेटी भएका छन्, हामीले सयौं काम गर्दा पनि ति कुरा प्रचार गर्न सकेका छैनौं । 
महासचिव पोखरेलले मिसन ग्रासरुट प्रतिवेदनमा अभियानका लागि बनाइएको कार्ययोजना र कार्यान्वयन भएको स्पष्ट चित्र आउनुपर्ने वताउँदै भूगोलभन्दा फरक क्षेत्रका रूपमा रहेको उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदनमा यस क्षेत्रलाई अगाडि बढाउन कुन कुरामा बढी ध्यान केन्द्रित गर्नुपर्छ भन्ने आउनुपर्छ भन्नुभयो । 
कार्यक्रममा पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुरूले पार्टीलाई जीवन्त बनाउन मिसन ग्रासरुट सञ्चालन गरिएको वताउनुभयो । 
उपमहासचिव गुरुङले गत निर्वाचनमा पार्टीले अपेक्षित परिणाम प्राप्त गर्न नसक्नुमा एमालेविरुद्ध भएको व्यापक घेराबन्दी एउटा कारण भए पनि पार्टीको आन्तरिक कमजोरीका कारण पनि धेरै ठाउँमा पराजित हुनुपरेको वताउनुभयो । पार्टीमा नवौं महाधिवेशनपछि संविधान जारी गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी, नाकाबन्दीको सामना, भूकम्प पुनर्निर्माण, कोरोना महामारी र माओवादीसँगको एकताका कारण वैचारिक काम हुन नपाएको चर्चा गर्दै उपमहासचिव गुरुङले  राजनीतिक परिवर्तनका लागि युगीन काम गरेको नेकपा (एमाले) लाई पार्टीको दशौं महाधिवेशनले निर्धारण गरेको नारा कार्यान्वयन गरेर पार्टी निर्माण र समाजवादको आधार तयार गरेर देश निर्माण गर्ने पार्टीका रूपमा स्थापित गरिने वताउनुभयो । 
पार्टीका कार्यकर्ताको कार्यशैलीमा परिवर्तन र सुधार आवश्यक रहेको वताउँदै उपमहासचिव गुरुङले संगठनात्मक अराजकता, सङ्किर्णता अन्त्य गर्नुपर्ने, पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध सुमधुर हुनुपर्ने भनाइ राख्नुभयो । 
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा भएको समीक्षा बैठकमा पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले मिसन ग्रासरुट अभियानले पार्टीका नेताकार्यकर्तालाई ऊर्जा दिएको बताउनुभयो । 
उहाँले महङ्गी जस्ता जनसरोकारका मुद्दामा आक्रामक योजना बनाएर पार्टीले दबाब सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । 
बैठकमा मिसन ग्रासरुटका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खट्नुभएका केन्द्रीय सदस्यहरू बीना श्रेष्ठ, रमेश वडाल, अजय क्रान्ति शाक्य, कल्पना थापा र जिल्ला कमिटीका अध्यक्षहरू उमेश ढकाल, जितेन्द्र श्रेष्ठ, गोविन्द घिमिरे र रामजी सापकोटाले आ– आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपत्यका विशेष प्रदेश कमिटीका उपाध्यक्ष विदुर कार्कीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन उपसचिव चन्द्र रिजालले सञ्चालन गर्नुभएको थियो । 
यस समीक्षा बैठकसँगै नेकपा (एमाले) को दुई महिने मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) पनि समापन भएको छ ।