detail-img

सचिव रायमाझी निलम्बित 

काठमाडौं । नेकपा (एमाले) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरिएका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ । 
महासचिव शंकर पोखरेलले आज प्रेस वक्तव्य जारी गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनी यस सम्बन्धी अनुसन्धान र कानुनी कारबाही प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराउनुभएको छ ।
नेकपा (एमाले) विधिको शासनमा विश्वास गर्ने उल्लेख गर्दै महासचिव पोखरेलले राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्ने र कसैका बारेमा कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने पार्टीको स्थापित मान्यता रहँदै आएको जनाउनुभएको छ । 
पक्राउ पूर्जी जारी हुनासाथ सचिव रायमाझीलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको र पार्टी नेतृत्वसँग यस विषयमा सहमति पनि जनाउनुभएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै सचिव  रायमाझीलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो । 
केन्द्रीय सचिवालयको उक्त निर्णयलाई समेत ध्यानमा राख्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुर्याउन पदबाट निलम्बन गरिएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ । 
प्रेस वक्तव्य यस प्रकार छः