detail-img

केन्द्रीय कमिटीको पाँचौ बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको पाँचौ बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भयो । बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्नुभएको छ ।


तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा बसेको बैठकमा महासचिव शंकर पोखरेलले बैठकमा छलफल हुने विषयहरू (एजेण्डा) प्रस्तुत गर्नुभयो । 
बैशाख ३० गतेसम्म तीन दिन चल्ने बैठकमा आज अध्यक्ष ओलीका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने छ । त्यसपछि गत २०७९ भदौ १० र ११ गते बसेको केन्द्रीय कमिटीको बैठकयता सचिवालय बैठकले गरेका निर्णयको जानकारी गराउनुका साथै अनुमोदन गर्ने बैठकको कार्यतालिका रहेको छ । 
त्यसपछि केन्द्रीय निकायहरू सल्लाहकार परिषद्, लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्षहरूले आ–आफ्ना निकायका कामका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुहुने छ ।
पार्टीले सञ्चालन गरेको दुईमहिने मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को सन्दर्भका बारेमा आजै प्रदेश तहबाट प्रतिवेदन प्रस्तुत गरिने छ । भूगोलका सात र दुई गैरभौगोलिक प्रदेशका प्रतिवेदनका सारसंक्षेप प्रस्तुत गरिएपछि समूह छलफल गरिने छ । 
बैठकको दोस्रो दिन भोलि बैशाख २९ गते समूहमा भएको योजनामा आधारित छलफलको निष्कर्षका रूपमा प्रदेश अध्यक्षहरूले पार्टीले बनाउने कार्ययोजनाका लागि सुझाव प्रस्तुत गर्नुहुने छ । 
त्यसपछि पार्टीको स्थायी कमिटी बैठक बस्ने महासचिव पोखरेलले जानकारी गराउनुभयो । स्थायी कमिटी बैठकले पार्टीको कार्ययोजना प्रस्ताव तयार गर्ने छ भने त्यसलाई केन्द्रीय कमिटीको बैठकले पारित गर्ने छ । 
बैठकको तेस्रो दिन बैशाख ३० गते समसामयिक प्रस्तावहरू पारित गर्ने र अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्नुभएपछि बैठक समापन गरिने भएको छ । 
बैठकका एजेण्डा प्रस्तुत गर्दै महासचिव पोखरेलले यस बैठकले बनाउने कार्ययोजना पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउने लक्ष्यमा आधारित हुने वताउनुभयो । 
महासचिव पोखरेलले देश अहिले जटिल अवस्थाबाट गुज्रिरहेको र मुलुकको राष्ट्रिय राजनीतिलाई सही बाटोमा अगाडि बढाउने जिम्मेवारी नेकपा (एमाले) को भएको वताउनुभयो । उहाँले बैठकमा समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गरी निष्कर्ष निकालिने वताउनुभयो ।