detail-img

बार्षिक कार्ययोजना पारित गर्दै केन्द्रीय कमिटीको पाँचौँ बैठक सम्पन्न 

काठमाडौं ।  नेकपा (एमाले) केन्द्रीय कमिटीको पाँचौँ बैठक पार्टीको बार्षिक कार्ययोजना पारित गर्दै आज सम्पन्न भएको छ ।  
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा यही बैशाख २८ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्नुका साथै राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान ) का नौवटा प्रदेशका प्रतिवेदन प्रस्तुत भई छलफल गरियो । सोही छलफलको निष्कर्षका आधारमा पार्टीको आज बसेको स्थायी कमिटीको बैठकले तयार गरेको बार्षिक कार्ययोजना केन्द्रीय कमिटीले पारित गरेको छ ।


केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू यस प्रकार छन्ः 
१. पार्टीको मिसन ग्रासरुट सम्पन्न भएको र अब पार्टी सदस्यता शुद्धीकरण र विस्तार कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।  मिसन ग्रासरुटका क्रममा पार्टी सदस्यता नवीकरणको काम पूरा   हुन बाँकी रहेकाले यस कार्यलाई असार मसान्तभित्र सम्पन्न गरिसक्ने निर्णय गरिएको छ । 
२. पार्टीका कमिटीहरू भद्दा भएकाले अब प्रदेशदेखि वडा कमिटीसम्म अधिवेशन गर्ने निर्णय भएको छ । अधिवेशन गर्दा माथिबाट अर्थात पहिले प्रदेश कमिटी, त्यसपछि जिल्ला, पालिका हुँदै वडा र   टोल कमिटीका अधिवेशन सम्पन्न गरिने छ । 
३. वैचारिक–राजनीतिक प्रशिक्षणको कामलाई नियमित र योजनाबद्ध रुपमा अघि बढाइने छ । प्रशिक्षणको तह बर्गीकरण हुने छ । उच्च, माध्यमिक र आधारभूत तहका प्रशिक्षणका लागि केन्द्रीय पार्टी   स्कुल विभागले पाठ्यक्रम, पाठ्यसामग्री र प्रशिक्षक तयार गर्ने छ । 
४. जनसंंगठनहरूको सुदृढीकरण तथा विस्तार अभियान चलाइने छ । जनसंगठनले मूलतः आधारभूत तहमा गैरपार्टी सदस्यलाई संगठित गरी पार्टीको जनआधार विस्तार गर्नुपर्ने हुँदा जनसंगठनलाई  पार्टी कार्यकर्ता निर्माण गर्ने ‘इन्कुभेसन सेन्टर’को रुपमा रुपान्तरित गरिने छ ।  
५. राजनीतिक ध्रूवीकरणलाई प्रभावकारी बनाउनका लागि पार्टी प्रवेशलाई अभियानका रुपमा अघि बढाइने छ ।  
६. जनप्रतिनिधिहरू र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन मिसन डेलिभरिको रुपमा स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरूलाई प्रभावकारी रुपमा क्रियाशील बनाइने छ । साथै, ‘डेलिभरीमार्फत् सुशासन, सुशासनसँगै डेभलपमेन्ट’ को अवधारणामा अब सेवा प्रवाहको कार्यक्रम सञ्चालन गरिने छ । 
७. पार्टीको प्रभाव विस्तार गर्न संगठनका नयाँ क्षेत्रहरू पहिचान गरी सामाजिक र सामुदायिक क्षेत्रका संस्थाहरूले गर्ने कामप्रति पार्टीले बहन गर्नुपर्ने जिम्मेवारीबारे गम्भीरताका साथ अगाडि बढाइने छ ।
८.आर्थिक–सामाजिक रुपान्तरण र जनसरोकारका विषयहरूमा आधारित जनपरिचालन (अभियान रुपान्तरण) अभियान सञ्चालन गरिने छ । साथै, आगामी मङ्सिर महिनामा मध्यपहाडी लोकमार्गकेन्द्रित ‘जनतासँग पार्टी’ अभियान सञ्चालन गरिने छ । 
९. युवाहरूका बीचमा पार्टी कामको विस्तार (मिसन योङ्ग) अभियान सञ्चालन गरिने छ । मिसन ग्रासरुटको दुईमहिने अभियानले पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न जरूरी देखिएको हुँदा नयाँ अभियान सञ्चालन गरिने छ । साथै, “देशैभरि–छोराछोरी”को नारामा पार्टीका नेता कार्यकर्ताको घरघरबाटै युवा–कार्यक्रम सञ्चालन गरिने छ ।  
१०.  अबदेखि पार्टी कार्यालयमार्फत कामको समन्वय गरिने छ । सबै तहको पार्टी कामको महत्वपूर्ण अङ्गको रुपमा पार्टी कार्यालय सुदृढ र व्यवस्थित गरिने छ । 
११.  प्रचारात्मक काम र सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्ने योजना अनुरुप आगामी कामलाई व्यवस्थित रुपमा अगाडि बढाइने छ । 
१२. प्रवासीहरूका बीचको कामलाई प्रभावकारी बनाउन र थप व्यवस्थित गर्न सम्बन्धित फाँटलाई निर्देशित गरिने छ । 
१३. पार्टी स्थापनाको ७५औं वर्ष (हीरक महोत्सव) समारोह बर्षैभरि विविध कार्यक्रमसहित मनाइनेछ । 
१४. केन्द्रीय सदस्यहरुको नयाँ कार्यविभाजन गरिने छ ।  मिसन ग्रासरुटले दिएको शिक्षाका आधारमा एक बर्ष आफ्नो भूगोल बाहिरको कार्यक्षेत्रमा खट्ने गरी नयाँ कार्यविभाजन हुने छ ।