detail-img

भोलि र पर्सि स्थानीय तहका जनप्रतिनिधिहरूका लागि अनुशिक्षण कार्यक्रम

काठमाडौं । स्थानीय तहमा बजेट निर्माण गर्ने समय भइरहँदा नेकपा (एमाले) ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि दुई दिने अनुशिक्षण कार्यक्रम आयोजना गरेको छ । 
अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भोलि जेठ १२ र १३ गते सञ्चालन हुने अनुशिक्षणमा पार्टीका नेताहरू र  विभिन्न विषयविज्ञबाट प्रशिक्षण दिइने भएको छ । 
पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा हुने अनुशिक्षणमा नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब चारसयजनाको सहभागिता रहने छ । अनुशिक्षणको उद्घाटन सत्रमा अध्यक्ष ओलीले सम्बोधन र दिशानिर्देश गर्नुहुने छ भने समापनमा महासचिव शंकर पोखरेलले समसामयिक राजनीतिक परिवेश र स्थानीय तहका जनप्रतिनिधिहरूबाट पार्टीको भूमिका विषयमा सम्बोधन गर्नुहुने छ । 
जनप्रतिनिधिहरूलाई स्थानीय तहको ठाडो र तेर्सो अन्तरसम्बन्ध, समन्वय र साझेदारी तथा पार्टीको भूमिका विषयमा उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षित गर्नुहुने भएको छ भने स्थानीय तहमा रोजगारी, श्रम र उत्पादनशीलता विषयमा स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र स्थानीय तह सञ्चालन सम्बन्धी निर्देशिका र अन्य कार्ययोजनाका विषयमा पोलिटव्युरो सदस्य देवेन्द्र दाहालले प्रशिक्षण दिनुहुने भएको छ ।  
त्यसैगरी, अनुशिक्षणमा स्थानीय तहको कार्यक्षेत्र, कार्यक्रमहरूको प्राथमिकीकरण र बजेट तर्जुमा विषयमा नेपाल सरकारका पूर्व सचिव शिशिरकुमार ढुङ्गाना, स्थानीय तहको स्रोत परिचालन, वैकल्पिक लगानी र विकास व्यवस्थापन विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ज्ञवाली र स्थानीय तहमा सुशासन, सेवा प्रवाह र जनशक्ति व्यवस्थापन विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका पूर्व कार्यकारी निर्देशक विमल पोखरेलले प्रशिक्षण दिनुहुने छ ।


त्यस्तै, स्थानीय तहमा सूचना प्रविधिको प्रयोग र प्रचार प्रसार विषयमा अस्गर अलि र उहाँको टिमको प्रस्तुति रहने छ भने अनुशिक्षण सबै प्रशिक्षक र विषयविज्ञसँग सहभागीहरूको अन्तर्क्रियात्मक हुने गरी कार्यक्रम बनाइएकोे छ । यसैबीच भोलि हुने भेलाको तयारीका लागि आज स्थानीय विकास विभागको बैठक पार्टीका उपमहासचिव तथा केन्द्रीय स्कुल विभागका प्रमुख प्रदीप ज्ञवालीको उपस्थितिमा बस्यो । बैठकमा भेलाको तयारीका बारेमा छलफल गर्नुका साथै विभागको बार्षिक कार्ययोजना पारित गरेको पोलिटव्युरो सदस्य तथा स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालले वताउनुभयो ।