detail-img

योग स्वस्थ जीवनका लागि मात्र नभई समाज सुधारका लागि पनि महत्वपूर्णः अध्यक्ष ओली 

काठमाडौं । नेकपा (एमाले) ले आज अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रवचन कार्यक्रमको आयोजना गर्यो । 
तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, योग गुरूहरू हरिप्रसाद पोखरेल, रमेश नेपाल, कन्चन घिमिरे र योगिनी सरिता नन्दिनीले योगको आरम्भ, विभिन्न विधा र स्वस्थ मानव जीवनका लागि योगको महत्व लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।


कार्यक्रममा अध्यक्ष ओलीले नवौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा स्वस्थ शरीरका लागि सबैमा योगाभ्यासको प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले आफू सरकारमा रहेको समयमा राष्ट्रिय र अन्तराष्ट्रिय दुबै योग दिवस भव्यरूपमा आयोजना गरिएको स्मरण गर्दै संयुक्त राष्ट्र संघबाट प्रस्ताव पारित भई अन्तराष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको नौ बर्ष भए पनि नेपालमा योग दिवस मनाउन लागिएको ३५/३६ बर्ष भएको वताउनुभयो । 
योगको उद्गमस्थल, योगको प्रारम्भ र विकास यही भूमिमा भएको वताउँदै उहाँले ज्ञानलाई व्यवहारमा उतार्ने माध्यम योग हो भन्नुभयो । 
योगको निकम्मा भाग्यवादमा नभई कर्ममा विश्वास रहेको वताउँदै अध्यक्ष ओलीले योगले गर्न खोजेको सम्मानित जीवन भनेकै समृद्ध नेपाल, सुखी नेपाली हो भन्नुभयो । 
योगले स्वस्थ जीवन मात्र होइन, समाज सुधारका लागि धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्ने वताउँदै अध्यक्ष ओलीले योगका आसन सिकाउनु अघि यम र नियम सिकाउन योग गुरुहरूसँग आग्रह गर्नुभयो । योग गुरुहरूले योग सिकाउँदा सत्य सार्वभौम सर्वकालिक भएकाले योग सिक्नेहरूलाई सत्यको मार्ग अवलम्बन गर्नुपर्ने कुरा सिकाउनुपर्ने भनाइ राख्नुभयो । 
ज्ञानको भूमि नेपाल अहिले पछाडि परेको र फेरि अगाडि ल्याउनुपर्ने वताउँदै अध्यक्ष ओलीले अगाडि ल्याउने माध्यम योग हुनसक्ने विचार व्यक्त गर्नुभयो । 
प्रवचन कार्यक्रममा योग गुरुहरूले नेकपा (एमाले) ले योगका विषयमा प्रवचन कार्यक्रम आयोजना गरेर नयाँ युगको थालनी गरेको वताउनुभयो । उहाँहरूले अहिले रोग लाग्न नदिन र रोगबाट मुक्त हुन योग अभ्यास गर्ने गरिएको वताउँदै योगले त्यतिमात्र नभई मानिसभित्रका सम्भावनालाई उजागर गर्ने वताउनुभयो । 
मानिसले आफूलाई रुपान्तरण गर्नका लागि जीवनशैली परिवर्तन गर्नुपर्ने र त्यसो हुँदा शारीरिक र मानसिक रूपमा स्वस्थ हुन सकिने उहाँहरूको भनाइ छ । उहाँहरूले बाल्यकालदेखि नै योग संस्कार बसाल्न सकियो भने यसले मानिसको असीमित क्षमता उजागर गर्ने वताउँदै योगलाई जीवनको अङ्ग बनाउनेतिर ध्यान दिनुपर्ने वताउनुभयो । योग अभ्यासले शरीरलाई मनसँग जोड्ने तथा स्वपरिवर्तन र संसार परिवर्तनका लागि योग महत्वपूर्ण रहेको वताउनुभयो । 
कार्यक्रम सञ्चालन गर्दै कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले योग हिमवत् खण्डको महत्वपूर्ण विरासत र निरोगी जीवनका लागि सवभन्दा प्रभावकारी माध्यमका रूपमा रहेको वताउनुभयो । कार्यक्रममा योग साधिका दुर्गा पन्तले योगाभ्यास प्रदर्शन गर्नुृभएको थियो । 
कार्यक्रममा चिन्तामणि योगी, पुष्पराज पुरुष, बालमुकुन्द सुवाल, नवराज काफ्ले लगायत योगगुरुहरू, पार्टीका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो । 
संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको हो ।