काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनताविरूद्ध भएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।
बुधबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा नेकपा (एमाले)ले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विरोध जनाउँदै राजीनामा माग गरी बैठक अबरुद्ध गर्यो । नेकपा (एमाले)ले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद बैठक चल्न नसक्ने भन्दै अबरुद्ध गरेपछि दुवै सदनका बैठक स्थगित भए ।
बैठक स्थगितपछि प्रतिनिधि सभाबाट बाहिरिने क्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अशोभनीय रहेको बताउनुभयो । पत्रकारहरूको जिज्ञासामा उहाँले प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहिएको वताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले यही असार १८ गते पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक पटक दिल्ली गएको अभिव्यक्ति दिनुभएको थियो ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको अभिव्यक्तित्रबाट देशको शिर निहुरिएको भन्दै तत्काल राजीनामा दिन माग गर्नुभयो ।
सांसद पन्तले भन्नुभयो– आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति छ । उहाँ नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, राजीनामा दिनुपर्छ ।
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने उहाँले बताउनुभयो ।
यसैगरी, राष्ट्रियसभा बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको विषय उठाई तत्काल राजीनामा दिन माग गर्नुभयो । उहाँले आफूहरूको माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राख्नुभयो ।
नेता दाहालले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिबाट लज्जाबोध भएको वताउनुभयो ।
संसद बैठक शुरु हुनुअघि नेकपा (एमाले) संसदीय दलको बैठक बसेको थियो । बैठकले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विरोध गर्ने निर्णय गरेको थियो ।
दलको बैठकपछि प्रतिनिधि सभामा नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले देशको स्वाभिमान र सार्वभौम सत्ताविरुद्ध अभिव्यक्ति दिएकाले त्यसको विरोध गर्ने निर्णय भएको वताउनुभएको थियो ।