detail-img

‘संसदमा सामना गर्ने निर्णय सत्ता उन्माद र अहङ्कार’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनले सत्ता उन्माद र अहङ्कारको भाषा बोल्न थालेको वताउनुुभएको छ । 
प्रमुख विपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेर संसद बैठक अबरुद्ध गरिरहेको सन्दर्भमा वार्ता र छलफलबाट निकास खोज्ने कुरा नगरी गठबन्धन दलको बैठकले संसदमा सामना गर्ने निर्णय गर्नु सत्ता उन्माद भएको उहाँको भनाइ छ । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको सार्वजनिक अभिव्यक्ति दिनुभएपछि उक्त अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधीनताको विरुद्धमा रहेको ठहर गर्दै त्यसको विरोध र प्रधानमन्त्रीको राजीनामा माग गरी नेकपा (एमाले) ले संसद बैठक अवरुद्ध गरिरहेको छ ।   
अध्यक्ष ओलीले शुक्रबार कीर्तिपुरमा स्ववियु काउन्सिल नेपालको १०औं राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो– गठबन्धनले संसदमा सामना गर्ने निर्णय गरेछ, यो सत्ता उन्माद र अहङ्कारको भाषा हो, हामी जहाँ भन्छ, त्यहीँ तयार छौं । 
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले लोकतन्त्र, देश र सार्वभौम सत्तामाथि ठट्टा गरिएको र नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक गर्न नमिल्ने भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो– राष्ट्रियता र सार्वभौम सत्तामाथि मजाक गरिएपछि संसदको अपमान भयो, संविधानको बर्खिलाप भयो, लोकतन्त्रको उपहास भयो, यो अति भयो भनेर हामीले राजीनामा माग गर्यौं । 

भारतले नेपालमा सरकार बनाउँछु कहिल्यै नभनेको र भन्नु नेपालको सार्वभौमिकता विपरीत हो भन्ने भारतलाई थाहा छ भन्दै अध्यक्ष ओलीले नेपालका प्रधानमन्त्रीले नेपालको सार्वभौमसत्ता  नेपालको संसदमा छैन भन्नु आपत्तिजनक भएको वताउनुभयो । 
भ्रष्टाचार र अनियमितताका घटना छानविनका सन्दर्भमा अध्यक्ष ओलीले ललितानिवास प्रकरणमा जो–जो दोषी छन् सबैलाई कारवाही गर्नुपर्ने वताउनुभयो । 
उहाँले मुलुकमा लोकतन्त्रका नाममा अराजकता, हिंसात्मक क्रियाकलाप भइरहेको उल्लेख गर्दै नेकपा (एमाले) स्वच्छता, पारदर्शिता, कानुनी राज, लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले कोशी प्रदेशमा सरकार गठनको नाममा संविधान मिचिएको बताउनुभयो । उहाँले सभामुखसहितको हस्ताक्षर बुझाएर सरकार गठन गर्नेकुरा उचित नरहेको बताउनुभयो । 
नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा विद्यार्थीको भूमिका असाधारण रहेको अध्यक्ष ओलीको भनाइ छ । कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक वडालले मुलुकको राजनीतिक परिवर्तनमा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको भन्दै विद्यार्थीहरू शैक्षिक आन्दोलनमा मात्र नभएर मुलुकको परिवर्तनका लागि अघि बढ्ने बताउनुभयो ।