एमाले आज

‘केन्द्रीय सल्लाहकार परिषद्का पूर्वसदस्य तामाङको निधनबाट पार्टीलाई अपूरणीय क्षति’

सेयर गर्नुहोस्

१५ कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का पूर्वसदस्य छोवाङ तेञ्जेन तामाङको असामयिक निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको जनाउनुभएको छ । 
अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गर्नुभई रसुवा जिल्लाका अग्रज नेता, संविधान सभाका सदस्य तामाङको निधनको खबरबाट पार्टीपङ्क्तिलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्नुुभएको छ । 
अध्यक्ष ओलीले दिवङ्गत तामाङप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा पार्टीपङ्क्तिमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । 
‘तामाङको अवसानबाट पार्टीले एक निष्ठावान्, अनुभवी र जुझारु नेता गुमाएको छ’ उल्लेख गर्दै अध्यक्ष ओलीले शोक वक्तव्यमा भन्नुभएको छ– तामाङले लोकतान्त्रिक आन्दोलन, पार्टी निर्माण र रसुवा जिल्लाको राजनीतिक, सामाजिक तथा समग्र विकासमा पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहने छ । 
विसं २०१७ साल जेठ ७ गते रसुवाको धुन्चेमा जन्मनु भएका तामाङ विसं २०४६ देखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । 
उहाँले विसं २०५२ मा नेकपा (एमाले)को सदस्यता प्राप्त गर्नुभएको थियो । नेकपा (एमाले) रसुवाका संस्थापक जिल्ला कमिटी सदस्य तामाङले २०६५ देखि २०७२ सम्म जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । 
विसं २०५४ मा सम्पन्न स्थानीय निर्वाचनमा धुन्चे गाविसको अध्यक्षमा निर्विरोध निर्वाचित भई उहाँले कुशलतापूर्वक नेतृत्व प्रदान गर्नुभएको थियो भने विसं २०७० मा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

हामीसँग जोडिनुहोस्