एमाले आज

प्रतिगामी, सङ्कीर्ण र स्वतन्त्रता विरोधी कदम लामो समय टिक्दैनः अध्यक्ष ओली 

सेयर गर्नुहोस्

-वर्तमान सरकार लोकतन्त्र र मिडिया मार्ने ‘छापा–मार’ सरकारमा परिणत भयो 
-लोककल्याणकारी विज्ञापन निष्पक्ष र भेदभावरहित ढङ्गले उपलब्ध गराइनुपर्छ
-सञ्चारमाध्यममाथि गरिने कुनै पनि प्रकारको नियन्त्रण तथा विज्ञापन कटौती लोकतन्त्रका लागि गम्भीर चुनौती

२८ भदौ (२०८३), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले स्वतन्त्रता, लोकतन्त्र र नागरिक अधिकारका लागि निरन्तर सङ्घर्ष गर्दै आएको पार्टी भएकाले आगामी दिनमा पनि त्यसका लागि लडाइँ जारी राख्ने बताउनुभएको छ । 
आज नेपाल पत्रकार महासंघ, छापा माध्यम बचाउ सुधार कार्यदलको ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष ओलीले विगतमा विभिन्न समयमा लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप हुने गरेका र स्वतन्त्रताको सङ्घर्षमा बाधा व्यवधान हुने गरे पनि अन्त्यमा विजय प्राप्त गर्दै आएको प्रसङ्ग स्मरण गराउनुभयो । 
उहाँले प्रतिगामी, सङ्कीर्ण र स्वतन्त्रता विरोधी कदम लामो समय नटिक्ने बताउँदै पत्रकारहरुलाई धैर्यताका साथ आफ्नो आवाज उठाउन र सङ्घर्ष अगाडि बढाउन आग्रह गर्नुभयो । राणा शासन र राजतन्त्रकालीन शासन व्यवस्थाको उदाहरण दिँदै उहाँले स्वतन्त्रता विरोधी शक्ति अन्ततः पराजित हुने विश्वास व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले पत्रकारहरुका माग सही रहेको भन्दै सङ्घर्षमा पार्टीको समर्थन मात्र नभई साथ र सहयोग पनि हुने विश्वास दिलाउनुभयो । 
उहाँले लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न सबै सचेत नागरिक एकजुट हुनुपर्ने धारणा राख्नुभयो । अध्यक्ष ओलीले लोकतान्त्रिक अधिकार, प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रताको पक्षमा एमाले दृढतापूर्वक उभिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकार लोकतन्त्र र मिडिया मार्ने ‘छापा–मार’ सरकारमा परिणत भएको बताउनुभयो । 

विज्ञापन बन्द; अभिव्यक्ति स्वतन्त्रता खोस्ने प्रयासः नेता ज्ञवाली 

कार्यक्रममा नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले सञ्चारमाध्यममाथि गरिने कुनै पनि प्रकारको नियन्त्रण तथा विज्ञापन कटौती लोकतन्त्रका लागि गम्भीर चुनौती भएको बताउनुभयो ।
उहाँले सञ्चारमाध्यमले जस्तोसुकै परिस्थितिमा पनि स्वतन्त्र रूपमा बोल्न र लेख्न पाउनुपर्ने धारणा राख्नुभयो । 
नेता ज्ञवालीले राजनीतिक दलहरू प्रतिबन्धित रहेको समयमा पनि दलका गतिविधि र समाजमा भइरहेका परिवर्तन जनतासम्म पुर्याउन पत्रकारहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । पछिल्लो समय सञ्चार क्षेत्र उद्योगका रूपमा अघि बढे पनि साना सञ्चारमाध्यमको अस्तित्व र भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउँदै नेता ज्ञवालीले भन्नुभयो– सूचना लुक्न नदिन सञ्चारमाध्यममा विविधता आउनुपर्छ । साना–ठूला सबै सञ्चारमाध्यमले स्वतन्त्र ढङ्गले काम गर्न पाउनुपर्छ भन्ने एमालेको मान्यता हो ।
सरकारले पछिल्लो समय गरेका निर्णयबाट सञ्चार क्षेत्रमा परेको प्रभावबारे एमाले जानकार रहेको बताउँदै लोककल्याणकारी विज्ञापन निष्पक्ष र भेदभावरहित ढङ्गले उपलब्ध गराइनुपर्ने तथा विज्ञापन क्षेत्रमा रहेको एकाधिकार अन्त्य हुनुपर्ने पक्षमा एमाले रहेको उहाँको प्रष्ट पार्नुभयो । 
लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको बताउँदै नेता ज्ञवालीले भन्नुभयो– यो विज्ञापन बन्द गर्ने कुरा मात्र होइन, अभिव्यक्ति स्वतन्त्रता खोस्ने प्रयास हो ।
उहाँले जनताको स्वतन्त्र आवाज बन्द गरेर भयको राज्य निर्माण गर्न खोजिएको भन्दै राजनीतिक दल तथा पेसागत संगठनहरूलाई समेत निषेध गर्ने प्रयास भइरहेको बताउनुभयो । 
सामाजिक सञ्जालमार्फत महिलालाई बलात्कार गर्ने धम्की दिइनेजस्ता घटना बढिरहेको उल्लेख गर्दै उहाँले अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सञ्चारमाध्यमको भूमिका अझ महत्त्वपूर्ण हुने धारणा राख्नुभयो । नेता ज्ञवालीले भन्नुभयो– जस्तोसुकै अवस्थामा सञ्चारमाध्यमले बोल्न र लेख्न पाउनुपर्छ । त्यसो गर्दा मात्र लोकतन्त्र जीवन्त हुन्छ । नेपाल पत्रकार महासंघले उठाएका विषयहरुमा एमालेको साथ र समर्थन रहेको उहाँले स्पष्ट पार्नुभयो । 
नेता ज्ञवालीले मौनतामार्फत अधिनायकवादी शासनलाई वैधता दिने प्रयासस्वरूप सञ्चारमाध्यममाथि आक्रमण गरिएको बताउँदै त्यसलाई लोकतन्त्रमाथिकै सुनियोजित आक्रमणका रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा अध्यक्ष ओलीलाई छापा माध्यम बचाउ सुधार कार्यदलका संयोजक दामोदर दवाडीले आफूहरुको ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको थियो । उहाँले सरकारको विज्ञापन नीतिले छापा माध्यम सङ्कटको अवस्थामा पुगेको लगायत विषयहरु समेटिएको ध्यानाकर्षण पत्र पढेर सुनाउनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नीतु पण्डित, नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाका अध्यक्ष शोभा अर्यालले पनि आफूहरुले उठाएका मागका बारेमा थप स्पष्ट पार्दै छापा माध्यम बचाउन दलहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँहरुले यस विषयमा संसदमा समेत आवाज उठाइदिन आग्रह गर्नुभयो ।

 

हामीसँग जोडिनुहोस्