detail-img

स्थानीय तहका जनप्रतनिधिहरुलाई प्रशिक्षण

नेकपा (एमाले) ले गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट  निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण दिने भएको छ । सोमबार सम्पन्न पार्टीको सचिवालय बैठकले काठमाडौंको राष्ट्रिय सभागृहमा असार २ र ३ गते जनप्रतिनिधिहरुका निम्ति प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको हो ।
सो कार्यक्रममा जनप्रतिनिधिहरुलाई स्थानीय तहका अधिकार र कार्यक्षेत्रका बारेमा, नीति कार्यक्रम र बजेट बनाउँदा कसरी समाजवादका आधारहरु निर्माण गर्दै समृद्धिको आधारशिला निर्माण गर्ने भन्ने सम्वन्धमा, ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा कसरी योगदान पु¥याउने भन्ने बारेमा,  पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध, जनप्रतिनिधि र जनताबीचको सम्बन्धका साथै जनप्रतिनिधि र अरु विभिन्न निकायवीचको सम्बन्ध र कार्यशैलीका साथै अहिलेको राष्ट्रिय राजनीतिका बारेमा प्रशिक्षित गराइने पार्टीका उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
नेकपा (एमाले)ले जितेका २ सय ५ जना पालिका प्रमुख र २ सय ४० जना उपप्रमुख सहभागी हुने सो कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगयातका नेताले प्रशिक्षण दिनुहुनेछ ।