detail-img

एमाले बलियो राष्ट्रिय शक्ति बन्ने छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित हुने बताउनुभएको छ । 
नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको १२औं बैठकलाई आज भक्तपुरमा सम्बोधन गर्नुहुँदै उहाँले आफू प्रधानमन्त्री हुँदा पार्टीभित्रैबाट विभिन्न व्यवधान खडा हुँदा पनि देश र जनताको पक्षमा दृढतापूर्वक काम गरेकाले एमालेप्रति जनताको विश्वास बढिरहेको र पहिलो तथा सशक्त पार्र्टी बनेर आएको बताउनुभयो । 
राजनीतिको मौलिक राष्ट्रिय धारको प्रतिनिधि एमाले भएकाले देशको अस्तित्वका लागि पनि एमालेले हार्न नमिल्ने उहाँको भनाइ छ । 
उहाँले कांग्रेस संसदमा सङ्ख्याका हिसाबले पहिलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको, लोकतन्त्रको पक्ष र भ्रष्टाचारका विरुद्धमा बोल्न नसक्ने अवस्थामा पुगेको तथा माओवादीको ढाकर बोकेर लुरुलुरु हिँड्न बाध्य भएको बताउनुभएको छ ।


सोही बैठकमा महासचिव शंकर पोखरेलले मुलुकमा नयाँ र पुरानो पार्टी भनेर नयाँ भाष्य निर्माण गर्न खोजिनु पूर्णतः गलत भएको बताउनुभयो । 
उहाँले कुनै पनि राजनीतिक दलले अवलम्बन गर्ने नीति र नेतृत्वले दलको क्रियाशीलता र रूपान्तरणलाई निर्धारण गर्ने हुँदा नयाँ दल दर्ता हुँदैमा अरु पुरानो नहुने बताउनुभयो । 
अमेरिकामा समेत दुई वटा ठूला र पुराना दल रहेको र तिनलाई कहिल्यै पुरानो नभनिएको स्मरण गराउँदै उहाँले हरेक पाँच–पाँच वर्षमा नेतृत्व परिवर्तन र समयानुकूल नीति बनाइरहेका दलहरू कहिल्यै पुरानो नहुने विचार महासचिव पोखरेलले व्यक्त गर्नुभयो । वैकल्पिक शक्तिहरूलाई सही ढङ्गले बुझ्नुपर्ने उहाँको भनाइ छ । 
बैठकमा उहाँले अब जनसंगठनहरूले आफ्ना गतिविधिलाई व्यवस्थित रूपमा जनताको बीचमा लगेर जनताको मन जित्नुपर्ने बताउनुभयो । यस्तै, देश बनाउने अभिभारा जनताले मत दिएर पठाएका जनप्रतिनिधिका साथै सम्पूर्ण नेपालीको पनि भएको चर्चा उहाँले गर्नुभयो । 
नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा पोलिटव्युरो सदस्य महेश बस्नेतले स्वागत गर्नुभएको थियो भने केन्द्रीय सदस्य रचना खड्काले सहजीकरण गर्नुभएको थियो । 
बैठकमा स्थायी कमिटी सदस्यहरू काशीनाथ अधिकारी, राजेन्द्र गौतम, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, सीता पौडेल लगायतको उपस्थिति रहेको थियोे । 
बैठकमा सबै जनसंगठनका इञ्चार्ज, अध्यक्ष र पार्टीका तर्फबाट प्रदेशमा जनसंगठनको संयोजक तोकिनुभएका केन्द्रीय सदस्यहरूको सहभागिता थियो ।