detail-img

पाँच वर्ष हाइहाइ भएर काम गर्न जनप्रतिनिधिलाई अध्यक्ष ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पाँच वर्ष जनताकाबिचमा हाइहाइ भएर काम गर्न निर्देशन दिनुभएको छ ।


 स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिकालागि  आयोजना गरेको दुईदिने अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममको बिहीबार  समुद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेबाहेक कुनै पार्टीसँग भिजन नै नभएको भन्दै नमुनाको रुपमा आफूलाई प्रस्तुत गर्न सक्नुस भनी जनप्रतिनिधिलाई शुभकामना दिनुभयो ।


अध्यक्ष ओलीले एमालेले चूनावमात्रै नभएर अधिनायकवादी तानाशाही र दमनकारी शासकका विरुद्ध लडेको भन्दै जनप्रतिनिधिले महासंग्राम जितेर आएको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘जीवनमरणको लडाइँ लड्दै महासंग्राम जितेर आउनुभयो । अस्तित्व मेटाउन खोजेको एमाले प्रमुख राजनीतिक पार्टी भयो । ’


‘उहाँले एमालेलाई सिध्याउन अरु सबै शक्रि लागेपनि त्यो पूरा नभएको बताए उल्लेख गर्दै भन्नुभयो, ‘सबै एकातिर भएर लोकतान्त्रिक अभ्यासको नाममा तानाशाह ढंगले अनेक प्रोपोगाण्डा मच्चाइयो, यस्तो अवस्थामा चुनावको सामना गर्नुभयो चानचुने कुरा होइन ।’


अध्यक्ष ओलीले पार्टीको जिम्मेवारीमा रहेर पार्टी र नेतृत्वको विरोध, बदनाम र विस्थापन गर्न लाग्नेहरुलाई समयक्रममा हिसाबकिताब हुने चेतावनी समेत दिनुभयो ।


कार्यक्रममा एमालेबाट निर्वाचित २ सय ५ पालिका प्रमुख तथा अध्यक्ष र २ सय ४० जना उपप्रमुख तथा उपाध्यक्षको सहभागिता रहेको छ ।